कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीडीओ र एसपी दुर्घटनाका चालक थुनामा

लक्ष्मी साह

बारा — जिल्ला अदालत बाराले लापरबाहीपूर्वक गाडी चलाउँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको अभियोग लागेका चालक जगतनारायण कुर्मीलाई थुनामा पठाउने आदेश दिएको छ ।

पीडित र पीडकको तर्फबाट भएको दुईतर्फी बहसपछि थुनछेक आदेशको क्रममा कुर्मीलाई मुद्दाको पुर्पक्षका लागि सोमबार थुनामा पठाउने आदेश भएको हो ।


न्यायाधीश प्रकाशचन्द्र अधिकारीको इजलासबाट यस्तो आदेश भएको हो । वादीको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिङथेल र प्रतेवादीका तर्फबाट अधिवक्ताद्वय ओमप्रकाश केशरी र प्रभात दाहालले पहिलो सुनुवाइमा बहस गरेका थिए । चालकले लापरबाहीपूर्ण तरिकाले गाडी चलाउँदा महिनाअघि सवारी दुर्घटनामा दुवैको मृत्यु भएको भन्दै सरकारी वकिलको कार्यालयले चालक कुर्मीविरुद्ध आइतबार अदालतमा अभियोजन दर्ता (मुद्दा दायर) गरेको थियो ।


सवारी ज्यान कसूरसम्बन्धी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा २ अनुसार (नयाँ संशोधन) दण्ड सजाय हुनुपर्ने माग दाबी गर्दै सरकारी वकिलको कार्यालयले चालकमाथि मुद्दा दायर गरेको थियो । कसूर ठहर भएको खण्डमा ३० हजारदेखि १ लाखसम्म जरिवाना र ३ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने उक्त दफामा व्यवस्था छ ।


वादी तर्फका सरकारी वकिल लिङथेलले थुनामा राखी मुद्दाको पुर्पक्ष हुनुपर्ने र प्रतिवादी तर्फका कानुन व्यवसायीद्वयले अभियुक्त चालकलाई धरौटीमा छाडेर मुद्दाको अनुसन्धान हुनुपर्ने तर्क गरेका थिए । प्रहरीले चालक कुर्मीमाथि तीन साताभन्दा बढी अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सरकारी वकिलको कार्यालयले उक्त मुद्दाका अभियुक्त कुर्मी (चालक) सित आइतबार बयान लिएर मुद्दा दायर गरेको थियो ।


थुनछेक आदेशमा मुद्दाको थप पुस्ट्याइँका लागि अभियुक्तलाई पुर्पक्ष (थुनामा राखी मुद्दाको अनुसन्धान) मा राखेर कि धरौटी वा साधारण तारेखमा राखेर मुद्दा अनुसन्धान गर्ने भन्ने आदेश हुन्छ । कसूर गरेको दसीप्रमाण तत्काल उपलब्ध भएमा समेत पुर्पक्षमा पठाउने कानुनी व्यवस्था छ । ३ वर्षभन्दा बढी सजाय हुन सक्ने कसूरको मुद्दामा पुर्पक्षमा पठाइने कानुनी व्यवस्था छ ।


‘अभियुक्तको बयान, मौकाको कागजलगायत दसीप्रमाणको आधारमा तत्कालको लागि थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश भएको छ,’ जिल्ला अदालतका रजिस्ट्रार कौशलेश्वर ज्ञवालीले भने । कर्मचारी मिलन केन्द्रले निजगढमा आयोजना गरेको भोजमा सहभागी भएर फर्किंदै गर्दा गत माघ १२ मा पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ–पथलैया खण्डबीचको पसाहा खोला नजिक दुर्घटना भएको थियो ।


प्रहरी उपरीक्षक पोखरेलको घटनास्थलमै र प्रजिअ भट्टराईको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनामा चालक कुर्मीसहित प्रजिअका अंगरक्षक प्रहरी हवल्दार शम्भु गुरुङ र प्रहरी उपरीक्षक पोखरेलका अंगरक्षक सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादवसमेत घाइते थिए । बा१झ १६३३ नम्बरको स्कोर्पियो उक्त सडकखण्डमा रोकी राखेको ढुंगा लोडेड ट्याक्टरको ट्रली (डब्बा) मा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?