कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुँदैन दण्ड–सजाय 

लक्ष्मी साह

बारा — विवाह भएको तीन महिना बित्न नपाउँदै दाइजोको कलहले १८ वर्षीया ममताकुमारी पण्डितको जीवनलीला समाप्त भयो । मागेअनुसारको दाइजो नदिँदा ममताले तीन महिनाभरि शारीरिक/मानसिक पीडा झेलिन् र अन्त्यमा संसारबाटै बिदा भइन् । 

हुँदैन दण्ड–सजाय 

दाम्पत्य जीवन बिताउने उनको सपना मात्रै भयो । देवताल गाउँपालिका–६, रौवाहीका २० वर्षीय अनिल प्रजापतीसित वैशाख २८ मा ममताको मागी विवाह भएको थियो । साउन २७ को राति अनिलले घाँटी थिचेर ममतालाई हत्या गरे ।


अनिल अहिले कारागार जीवन बिताउँदै छन् । घटनापछि ममताका माइती पक्षबाट प्रहरीमा उजुरी पर्‍यो । उजुरीपछि प्रहरीले हत्या मुद्दा चलायो । हत्याको कारण दाइजो नै पुष्टि भए पनि त्यससम्बन्धी कतै मुद्दा चलेन । ‘हिंसाले दाइजो सधैं लुक्छ,’ अपराधसम्बन्धी घटनालाई अनुसन्धान गर्ने एक प्रहरी अधिकारीले भने, ‘दाइजो फौजदारी अपराध भए पनि त्यसविरुद्ध कोही न उजुरी गर्न आउँछ, न त त्यसबारे अनुसन्धान नै हुन्छ ।’ दाइजोसम्बन्धी मुद्दा अनुसन्धानको अभ्यासमै नभएको उनको भनाइ छ ।


प्रहरी अभिलेखमा दाइजोले थुप्रै हिंसाको घटना दर्ता भएको पाइन्छ । तर सुरुमा दाइजोविरुद्ध कतैबाट उजुरी वा अनुसन्धान भएको पाइँदैन । तराई मधेसमा केही वर्षअघिसम्म सामाजिक र कानुनी अपराध बलात्कार तथा यौनहिंसा जस्ता घटनाबारे मुख खोलिँदैनथ्यो, दोषीलाई कारबाही वा अनुसन्धानको दायरामा ल्याइँदैनथ्यो । तर अहिले भने त्यसको उल्टो छ । त्यसैगरी अहिले दाइजोविरुद्ध कसैले मुख खोल्दैनन् । खोले पनि हिंसा भएमा मात्र खोल्छन् । सरकारले दाइजो लेनदेनलाई समेत कसूरको दायरामा ल्याइसकेको छ ।


दाइजोविरुद्ध प्रहरीले अनुसन्धान गर्न सक्ने व्यवस्था छ । फौजदारी अपराधसंहिताअन्तर्गत दाइजो लेनदेन पर्छ । ३ वर्ष कैद वा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सरकारी वकिल कार्यालयकी जिल्ला सहायक न्यायाधिवक्ता शिलुका लिङथेलका अनुसार समाजमा चेतना अभावले दाइजोसम्बन्धी मुद्दा प्रहरीमा नआउने गरेको हो ।


‘दाइजोलाई कसूरको दायरामा ल्याइएको छ । ‘समाजमा दाइजोले जरो गाडेको भए पनि मुख खोल्दैनन्, दाइजोले हिंसा हुन्छ, तर हिंसाअघि दाइजोविरुद्धमा मुद्दा आउँदैनन् ।’ महिला अधिकारकर्मी निभा सिंह दाइजोले हिंसा बढेको बताउँछिन् । ‘दाइजोविरुद्ध सामाजिक चेतना होइन, अब दाइजो प्रथालाई निरुत्साहित गर्न दण्डात्मक कारबाहीको आवश्यकता छ,’ उनले औंल्याइन्, ‘दाइजोका कारणले हुने हिंसामा खोजीनिती हुन्छ, दाइजोविरुद्ध खोजीनिती हुँदैन ।’ दाइजोविरुद्ध मुख नखालेकाले यो प्रथाले प्रश्रय पाइएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?