कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० रुपैयाँमा अस्पतालको जागिर

पवन यादव

सिमरा — बिहान उठेदेखि राति नसुतुन्जेल अस्पतालको काम गर्नुपर्छ । सुतेकै बेला अस्पतालमा प्रहरीले शव ल्याउँदा त्यसलाई बोक्नुपर्छ । शव परीक्षणका क्रममा चिकित्सकसँग चिरफार गर्न पनि खटिनुपर्छ । यो दैनिकी हो कलैया अस्पतालका कार्यालय सहयोगी मोहन पासवानको ।

विगत १५ वर्षदेखि यस अस्पतालमा कार्यरत उनी अहिले ४५ वर्ष पुगे । २ सन्तानका बाबु मोहन अस्पतालमा जागिर सुरु गर्दा महिनाको ५० रुपैयाँ तलब पाउँथे । अस्पतालकै पूर्वपट्टिको कुनामा रहेको लक्ष्मीनिया घर (शव राख्ने घर) छेउकै पुरानो क्वार्टरमा उनी परिवारसहित बस्छन् ।


अहिले उनी साढे १० हजार रुपैयाँ महिनावारी तलब पाउँछन् । बजार भाउले आकाश छोएका बेला प्राप्त तलबबाट परिवार धान्न मुस्किल परेको उनले बताए । ‘हामीभन्दा कम मिहिनेत गर्ने कार्यालय सहयोगीले १६ हजारभन्दा बढी तलब सुविधा पाउँछन्,’ उनले भने, ‘अन्य कार्यालयमा तलब वृद्धि भए पनि हाम्रो २ वर्षदेखि जस्ताको त्यस्तै रहेको छ ।’


परिवारलाई पाल्न सक्ने गरी सरकारले तोकेको नम्स अनुसार तलब सुविधा बढाउन र स्थायी प्रक्रिया अगाडि बढाउन उनले अस्पताल प्रशासनसँग माग गरेका छन् ।


उनको मात्र होइन । सोही अस्पतालमा कार्यालय सहयोगी पदमै कार्यरत सविना खातुनको पनि उस्तै समस्या छ । ‘बिहानदेखि बेलुकीसम्म अस्पतालमा मरेर काम गर्छौं,’ उनले भनिन्, ‘मिहिनेत अनुसारको तलबै पाइँदैन ।’ पाएको तलबबाट बच्चाहरूको पढाइ खर्च नै पुर्‍याउन धौधौ पर्छ । जेनतेन गरेर परिवार चलाएको उनले दुखेसो पोखिन् ।


कलैया अस्पतालमा ५ जना कार्यालय सहयोगी छन् । अस्थायी कर्मचारीलाई स्थायी गर्नुको साटो अस्पतालले उल्टै करार सेवामा धकेलेको अस्पतालका कर्मचारी दिनेश यादवले बताए । ‘समय बित्दै जाँदा अन्य निकायमा कर्मचारीको स्थायित्वको सुनिश्चित हुन्छ,’ उनले भने, ‘यहाँ त अस्थायीलाई करारमा झारिन्छ ।’


अब पनि अस्पताल प्रशासनको यस्तो अन्यायलाई चुप लागेर सहन नसक्ने उनले जिकिर गरे । अस्पतालले कर्मचारीले उठाएको माग पूरा गर्नै पर्ने अडान उनले दोहोर्‍याए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि अस्पतालले सुनुवाइ नगरेको उनले गुनासो गरे ।


सोही अस्पतालमा अहेब पदमा कार्यरत कर्मचारी नवलकिशोर पण्डितले पटकपटक ज्ञापनपत्र बुझने क्रममा अस्पताल प्रमुखले माग पूरा गर्ने प्रतिबद्धता जनाएको दाबी गरे । ‘आश्वासन दिन्छन्, वाचा पूरा गर्दैनन्,’ उनले भने, ‘कहिलेसम्म आश्वासनका भरमा काम गर्ने ?’ अब आश्वासन होइन । हाम्रो माग पूरा हुनुपर्‍यो । अस्पताल प्रशासनले आफूहरूका माग बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत उनले दिए ।


कलैया अस्पतालका कर्मचारी आन्दोलनमा

बारा सदरमुकामको कलैया अस्पताल विकास समितिका कर्मचारी विभिन्न ६ सूत्रीय माग राखी आन्दोलनमा उत्रेका छन् । बजार भाउअनुसार वर्तमान तलब सुविधाले परिवार चलाउन मुस्किल परिरहेको भन्दै समस्या समाधान गर्न पटकपटक मागलाई अस्पताल प्रमुख र प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य हुनु परेको कर्मचारीले बताएका छन् ।


स्थायी प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने, पद तथा तहअनुसारको तलब भत्ता उपलब्ध गराउनुपर्ने, सार्वजनिक बिदाको दिनमा काम गर्ने कर्मचारीलाई थप प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, ल्याब, एक्सरे तथा फार्मेसीलाई व्यवस्थित बनाउनुपर्ने, कर्मचारीको स्तर वृद्धि गर्नुपर्ने लगायतका ६ सूत्रीय माग राखी कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।


माग पूरा गराउन उनीहरूले अस्पताल प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन । शनिबारसम्म माग सुनुवाइ नभए कामकाज ठप्प पार्ने चेतावनी आन्दोलनरत कर्मचारीले दिएका छन् ।


अस्पतालमा कार्यरत अहेव, फार्मेसी सहायक, ल्याब टेक्निसियन, डार्करुम असिस्टेन्ट, अनमी, कैसियर, सुरक्षा गार्ड, चालक, कार्यालय सहयोगी, स्वीपर, भान्से, इलेक्ट्रीसियन पदका गरी ३१ जना कर्मचारी आन्दोलनमा उत्रिएको कलैया अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।


कर्मचारीको मागलाई सम्बोधन गर्न ७ पटक माग उल्लेखित ज्ञापनपत्र अस्पताल प्रमुखलाई दिइएको उनले जानकारी दिए ।

‘ज्ञापनपत्र लिँदै अस्पताल प्रमुखले माग पूरा गर्ने आश्वासन दिन्छन्,’ उनले भने, ‘तर माग पूरा गर्दैनन् ।’ अस्पताल प्रमुखको झूटो आश्वासनबाट आजित भएर आन्दोलनमा उत्रीन बाध्य हुनु परेको उनले स्पस्ट पारे ।


कर्मचारी आन्दोलनमा उत्रिए पनि अस्पतालका प्रमुख मेसु डा. त्रिभुवनचन्द्र झा तालिमका लागि काठमाडौं गएको कर्मचारीले बताए । कर्मचारीले गरेको तालाबन्दी र आन्दोलन आफूले थाहा नपाएको अस्पतालका मेसु झाले बताए । ‘कलैया फर्केर छलफल गर्छु,’ उनले भने, ‘छलफलपछि समस्या समाधान हुन्छ ।’ निर्णय गरेरै कर्मचारीको समस्या समाधान गरिने दाबी उनले गरे ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?