कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रंगशाला बनाउन मुसहरको सहयोग

अजित तिवारी

बर्दिबास — महोत्तरी, बर्दिबासस्थित नमुना मुसहर बस्तीको घर नम्बर १४ मा बस्छन् बिल्टु सदा । श्रीमती, ३ छोरी र २ छोरा त्यहीं अटाएका छन् । ५०  परिवार बस्ने नमुना बस्ती बनाएर कलाकार सीताराम कट्टेल (धुर्मुस) ले २०७४ बैशाख १ गते मुसहर समुदायलाई नयाँ वर्षको उपहार दिए । त्यहिमध्येको एउटा घरमा सदा बस्छन् ।

चितवनको रामपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको अन्तर्राष्ट्रिय रंगशालाका लागि सदाले ५ हजार सहयोग दिँदा कट्टेल भावुक बने । नमुना मुसहर बस्तीको घर नम्बर ४२ मा बस्ने मन्दिप सदाले पनि ५ हजार दिए । दुबैले आफ्नो कमाइबाट जोगाएको पैसा सहयोग गरेको बताए । ‘अरुले सहयोग नगरेको भए हामी नमुना घरमा बस्न पाउने थिएनौं,’ मन्दिपले कान्तिपुरसँग भने, ‘त्यही बस्तीका कारण थोरबहुत कमाइरहेको छु । त्यही पैसाबाट सहयोग गरेका हौं ।’


प्रदेश २ का होटल तथा पर्यटन व्यवसायीले गौतमबुद्ध रंगशाला निर्माणका लागि गरेको सहयोग रकम बुझ्न शनिबार कट्टेल बर्दिवास आएका थिए । त्यहि भीडमा बिल्टु र मन्दिप पनि मिसिए । ५ लाखदेखि सुरु भएको सहयोग रकम घोषणामा बिल्टु र मन्दिपको ५–५ हजारको सहयोगले सबैलाई आश्चर्यमा पारिदियो । ‘उनीहरूको सहयोगले भावुक बनायो,’ कट्टेलले भने, ‘मुसहरको अभाव, पीडा हेरेर नमुना बस्ती बनाएर मलहमपट्टि लगाए । उनीहरूको जिवनमा सुधार आयो । अहिले सहयोग गर्ने हैसियतमा पुगेको हेर्दा खुसी लागेको छ ।’


बर्दिवासको नमुना मुसहर बस्तीमा बस्ने बिल्टु १ बिगाहा जग्गा लिजमा लिएर खेती गर्छन् । यसपाली खेतमा ७० मन धान फल्यो । खेतमा छरेको गहुँ फस्टाएको छ । थोरथोरै उत्पादन हुने च्याउले पनि उनको परिवारको भरथेग छ । ‘दिनभर कमायो । साँझ भट्टीमा सबै सक्यो,’ बिल्टुले विगत सम्झँदै भने, ‘हाम्रो मुसहरको जिन्दगी यस्तै थियो । नमुना बस्ती बनेपछि कमाउने र बचत गर्न धुर्मुसजीले नै सिकाए । त्यहीं बचेको पैसाबाट सहयोग गरेका हौं ।’ बर्दिवासको जनता मल्टिपल कलेजमा बीबीएसमा पढ्ने मन्दिप विहान–साँझ निजी स्कुल र ट्युसन पढाउँछन् । गणितका तेजिलो विद्यार्थी मन्दिपले स्कुल–ट्युसन पढाएको पैसाबाट रंगशाला निर्माणका लागि ५ हजार सहयोग गरेका हुन् ।


‘नमुना बस्तीले नै हाम्रो जीवन फेरिएको छ,’ मन्दिपले भने, ‘त्यसैले रंगशाला बनाउन क्षमताअनुसार सहयोग गरेको हुँ । अरूको सहयोगले हाम्रो बस्ती बन्यो । रंगशाला बनाउन हाम्रो सानो सहयोग हो ।’ फाउन्डेसनका संस्थापक कट्टेलले मुसहर समुदायको सहयोगले आफ्नो हिम्मत र आँट झन् बढेको बताए ।


चितवनको रामपुरमा सरकारले उपलब्ध गराएको २० बिगाहा ६ कठ्ठा जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनले ३ अर्वको लागतमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका छन् । रंगशाला निर्माणका लागि साढे ५ करोड संकलन भइसकेको कट्टेलले जानकारी दिए । प्रदेश २ को होटल तथा पर्यटन व्यवसायीले शनिबार २२ लाख ४० हजार ५ सयको सहयोग घोषणा गरेको छ । त्यो रकममा मुसहर बस्तीका बिल्टु र मन्दिपको सहयोग रकम पनि जोडिएको छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?