कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

‘महिलालाई हेर्ने दृष्टिमा दोष’

अजित तिवारी

जनकपुर — जनकपुर कला–साहित्य उत्सवमा मंगलबार मिथिलाकी महिलाको अधिकार र दायित्वमा छलफल थालियो  । मैथिली विकास कोषले आयोजना गरेको उत्सवमा महिला अधिकारका लागि सहभागीहरूले जोडबल गरे  ।

कलाकर्मी रूपा झाले सञ्चालन गरेको कार्यक्रममा प्रदेशसभाकी सांसद मञ्जु यादवले पुरुषले महिलालाई हेर्ने हरेक दृष्टिकोणमा दोष रहेको आरोप लगाइन् । उनले उपभोगको वस्तु मात्र ठानिंदा महिला हरेक क्षेत्रमा पछि परेको बताइन् । उद्यमी बिभा झाले महिलाले नै महिलाको खुट्टा तान्ने प्रवृत्ति रहेको सुनाइन् । अधिकारकर्मी रीता शाहले मिथिलाको महिला शिक्षा, स्वास्थ्यलगायतका मानव सूचाचंकमा अरू समुदायभन्दा निकै पछाडि रहेको बताइन् ।


‘शिक्षामा मिथिलाको महिलाको ५० प्रतिशत पनि पहुँच छैन,’ शाहले भनिन,‘निजामती सेवा त झन् कमजोर उपस्थिति छ । २३ प्रतिशत महिला निजामती सेवामा रहे पनि मधेसको महिला २.८ प्रतिशत मात्रै सरकारी जागिरमा छिन् ।’ साहका अनुसार मधेसको दलित र मुस्लिम महिलाको अवस्था झन् नाजुक छ । कवियत्री पूनम झाले पुरुषको दबदबा रहेको समाजमा महिलालाई दबाएर राखिएको बताइन् । ‘धर्मग्रन्थदेखि नै महिलालाई हेर्ने दृष्टिकोणमा तुस छ,’ झाले भनिन्, ‘हरेक कामको ७५ प्रतिशतभन्दा बढी हिस्सा महिलाले गरे पनि केही नगरेको देख्ने पुरुष महिला अधिकारको बाधक हो ।’ अधिकारकर्मी साहले शिक्षा, स्वास्थ्य र अन्य मामिलामा महिला आफैं अगाडि नआए अधिकार नपाइने तर्क गरिन् । ‘जुन समाजमा महिला सुरक्षित महसुस गर्छिन्, त्यहाँ उनको विकास र अधिकार दुवै पाइन्छ,’ उद्यमी बिभाले भनिन्, ‘समाज सुहाउँदो पहिरन, रहनसहन र रीतिरिवाज नअँगाले गवार बनिन्छ ।’


सञ्चारकर्मी बिजेता चौधरीले उच्च, मध्यम र न्यून आयशक्ति, शिक्षा र अधिकार पाएकी तीनै तहको महिला मधेस–मिथिलामा रहेकाले यी तीनै तहको फरक–फरक समस्या र अधिकार रहेको बताइन् । ‘उच्च तहकी महिला शिक्षित र सहरिया छिन् । यो वर्गमा खासै समस्या देखिन्न,’ चौधरीले भने, ‘न्यून तहको महिला न शिक्षित छिन । न त अधिकारसम्पन्न । उनीहरूको दैनिकी त्यसै चलेको छ । तर, मध्यम वर्गको महिलामा अलि बढी समस्या देखिन्छ । थोरै पढेकी र सहरिया जीवनयापन गर ेपनि उनीहरू श्रीमान्मै निर्भर हुन्छ ।’


प्रदेशसभा सांसद यादवले सम्पत्तिमा महिलाको आधाको अधिकार नभएसम्म पुरुषको दबदबा कायमै रहने बताइन् । उनले धर्म, संस्कृति र रीतिरिवाजमा बाँधिएकी मधेसी महिलालाई घरबाहिर ल्याउन आवश्यक रहेको बताइन् । ‘महिला घरबाहिर ननिस्केसम्म संसार थाहा पाउँदिनन्,’ उद्यमी बिभाले भनिन, ‘अनि मात्र संसार बुझ्नेछिन । र, बाहिर काम गर्ने पति–छोराको हैरानी र बाध्यता ।’ उनका अनुसार एकअर्कामा निर्भर हुनुभन्दा महिला–पुरुष एकअर्काको सहयोगी हुनुपर्छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?