कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

बालिकामाथि सामूहिक बलात्कार

शिव पुरी

रौतहट — रौैतहटको जुगरा नगरपालिका-२ स्थित जंगलसैया साझेदारी वन क्षेत्रमा १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न तीनजना फरार छन् । प्रहरीले घटनास्थलबाट संलग्नहरुको मोटरसाइकल बरामद गरेको छ । रौतहटमा तीनदिनयता भएको बलात्कारको यो दोस्रो घटना हो ।   

गरुडाबाट बिहीबार दिउँसो ललाइफकाई ती बालिकालाई जंगलसैयास्थित साझेदारी वनक्षेत्रको खाडलमा लगेर तीनैजनाले पालैपालो बलात्कार गरेका थिए । बालिका कराए पछि गस्तीमा रहेका वनका कर्मचारीले देखेका थिए ।


बन कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न तीनैजना फरार भएका छन् । घटनाको खबर पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका प्रहरी निरीक्षक सन्तोष पाठक र प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक गोविन्द यादवसहितको टोली पुगेर किशोरीलाई उद्धार गरेको थियो ।


घटनास्थलबाट प्रहरीले ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ । घटनास्थलबाट प्रहरीले बलात्कारमा संलग्न भएकाहरुको पाइन्ट, सर्ट, गन्जी, कट्टु, टाउजर र चप्पल बरामद गरेको छ । त्यस्तै प्रयोग भएका र नभएका कण्डम समेत बरामद भएको प्रहरीले जनायो ।


उद्धार गरिएकी किशोरीले होलीका लागि सामान किनिदिन्छु भनी फकाएर जंगलमा लगेर पालैपालो तीनैजनाले बलात्कार गरेको प्रहरी समक्ष बताएकी छिन् । बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । उनको अवस्था समान्य छ ।


जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले घटनामा सलंग्नको खोजी भइरहेको जनाए । 'शंकास्पद ठाउँहरुमा व्यापक प्रहरी परिचालन गरिएको छ,' उनले भने, 'घट्नामा संलग्नहरुको पहिचान भइसकेकोले चाडै पक्राउ पर्छन् ।'


यसैगरी, चन्द्रपुर नगरपालिका-१ स्थित पौराई ब्रम्हस्थान मन्दिर परिसर भित्र ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिरुद्ध प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।


मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पौराई गाउँकै ४५ वर्षीय तेजबहादुर खड्कालाई जबरजस्ती करणीको मुद्दा चलाइएको हो । उनले मन्दिर परिसर भित्र जबरजस्ती करणी गरेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?