कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा पानी हाल्न चक्काजाम

पवन यादव

सिमरा — निर्माण कम्पनीले धूलो उड्न नदिन सडकमा पानी नहाल्दा आक्रोशित गाउँलेले कलैया–मानमथ सडक खण्डअन्तर्गत बाराको उत्तरझिटकैयामा करिब ३ घण्टा सडक अवरुद्ध गरे । उनीहरूले सडक निर्माणमा खटिएको ठेकेदार कम्पनीको टिपरलाई नियन्त्रणमा लिएर ठेकेदारलाई दबाब दिन सडकमै तेर्स्याउन लगाएका थिए । 

सडकमा पानी हाल्न चक्काजाम

सडकमा पानी हाल्ने व्यवस्था ठेकेदार कम्पनीले नमिलाएसम्म सडकको जाम नहटाउने जिकिर गर्दै गा उँलेले बिहान साढे ७ बजेदेखि सडकमा आवागमन ठप्प पारेका थिए ।


निर्माणाधीन अवस्थामा रहेको मटिअर्वा–कलैया–मानमथ सडकमा गुडेको टिपर, ट्रक, बस, अटो लगायतका सवारी उडाएको धूलोले दिउँसै बाटो देखिँदैन । धूलोका कारण सडक छेउका बासिन्दा, पैदल, साइकलयात्री, मोटरसाइकल यात्रीले सबभन्दा बढी सास्ती खेप्नु परेको छ । सडकमा पानी हालेर धूलो कम गर्न ठेकेदार पक्षलाई पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले बाध्य भई सडक जाम गर्नु परेको स्थानीय शिवनाथ पटेलले बताए ।


‘फोन गरेर, भेटेर जति आग्रह गर्दा पनि ठेकेदार कर्मचारी मानेनन्,’ उनले भने, ‘सडकमा पानी हाल्ने अर्को उपाय नलागेपछि सडक जाम गरेका हौं ।’ सडकमा पानी हाल्ने प्रतिबद्धता ठेकेदारले गरेपछि मात्र सडकबाट अवरुद्ध हटाउने उनले बताए । सडक निर्माण कार्यलाई पनि ढिलो गर्ने र सडकमा जथाभावी माटो थुपारेर जस्ताको त्यस्तै ठेकेदारले छाडिदिने गरेको उनले बताए ।


सडकमा ठेकेदारले पानी हाल्ने व्यवस्था नमिलाएसम्म सडक अवरुद्ध गरिरहने अर्का स्थानीय एवम बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ती पार्टीका जिल्ला संयोजक सुशील यादवले बताए ।


‘नरम भएर ठेकेदारलाई जति भन्दा पनि सुन्दैन,’ उनले भने, ‘ठेकेदारले अटेरी गरेपछि चक्का जामको बाटो अपनाउन बाध्य भएका हौं ।’ धूलोलाई कम गर्न स्थानीय प्रशासनले समेत चासो नदेखाएको उनले आरोप लगाए ।


धूलोले स्थानीयको श्वास प्रश्वासमा प्रतिकूल असर पार्न थालेपछि ठेकेदारलाई सडकमा पानी हालेर धूलोलाई कम गर्न सचेत गराइएको स्थानीय समाज सेवी हृदयनारायण यादवले बताए ।


‘गाउँका युवाहरू धेरै आक्रोशित थिए,’ उनले भने, ‘उनीहरूको आक्रोशलाई साम्य पार्दै स्थानीय प्रहरीको उपस्थितिमा ठेकेदारसँग छलफल गरायौं ।’ छलफलमा ठेकेदार कर्मचारीले प्रहरी र गाउँले समक्ष सडकमा पानी हाल्ने प्रतिबद्धता जनाएपछि सडक सुचारु गराइएको उनले जानकारी दिए ।


ठेकेदार कर्मचारी उमेश कार्कीले औधापुरदेखि चिनी मिलसम्म सधैं सडकमा पानी हालिदिने व्यवस्था तत्कालै मिलाउन प्रतिबद्धता जनाए । चाँडै नै यस क्षेत्रको सडकको माटो फिलिङ गरी धूलो कम गर्न ग्राभेल हाल्ने दाबी गरे । ‘२/३ दिनमा यस क्षेत्रको माटो फिलिङ गर्ने काम सकिन्छ,’ उनले भने, ‘सडक निर्माण भएपछि धूलो त उडिहाल्छ ।’ त्यसलाई कम गर्न आफूहरूले सडकमा पानी हाल्ने उनले जानकारी दिए । ठेकदारको प्रतिबद्धतापछि बिहान करिब साढे १० बजे अवरुद्ध हटाउँदै सडक प्रहरीको सहयोगमा सुचारु गरिएको थियो ।


धूलोले पूरै सेतो बन्नु परेको गुनासो सडक छेउमै घर रहेका स्थानीय धमेन्द्र साहले गरे । ‘सडकमा निस्कने बित्तिकै गाडीले उडाएको धूलोले सास फेर्न पनि मुस्किल पर्छ,’ उनले भने, ‘धूलो उडेको समयमा आँखा पनि देख्दैन ।’ धूलोले धेरै सास्ती खेप्नु परेको छ । सडक बन्नु राम्रो कुरा हो । तर सडक निर्माणको नाममा मान्छे मार्ने, मानिसलाई बिरामी पार्ने गरी काम गर्नु हुँदैन । निर्माण कम्पनीले जनता मार्ने काम गरिरहेको उनले आरोप लगाए ।


निर्माण कम्पनीले समयमै सडकको निर्माण कार्य सम्पन्न गर्न सकेको छैन । धूलोले सडक छेउमा पर्ने कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिका डेढ दर्जन बढी गाउँका बासिन्दाहरू सबभन्दा बढी मारमा परेका छन् । वर्षायाममा हिलैहिलो र सुखा याममा धुलैधुलोबाट आजित बनिरहदा समेत समस्यलाई समाधान गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन् ।


उक्त सडकको निर्माण हुन्छ भन्दा भन्दै बाराबासी वर्षौंदेखि आश लगाएर सुन्दै हेर्दै आएका छन् । एक वर्ष होइन, दुई वर्ष होइन एक दशकभन्दा बढी नै वितिसक्यो निर्माण कार्य सुरु भएको तर अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त सडक केही वर्ष पहिला भारतकै भिस्वा वीभीयसआर (जेभी) हैदराबाद कम्पनीले सडकको नाप नक्सासँगै निर्माण कार्य सुरु गरेको थियो ।


निर्माण सुरु भएको केही दिनमै उक्त कम्पनी एक्कासी निर्माण कार्य छाडी बेपत्ता भएपछि झन विजोग भएको थियो । अहिले नेपाली निर्माण कम्पनीले नै सडक निर्माणको ठेक्का लिई पेटी कन्टेक्ट निर्माण काम सुरु गरे पनि निर्माणको गति सुस्त रहेको स्थानीयले आरोप लगाएका छन् ।


निर्माण कहिले सम्पन्न हुन्छ र धूलो रहित सडकमा हिँड्न पाउने कहिले हो कलैया उपमहानगरपालिका २ औधापुरका किशोरी भगतले बताए । ‘हामीले कहिलेसम्म यसरी धूलो खाने ?,’ उनले भने, ‘धूलोले मर्न लागिसकेका छौं ।’ धूलोका कारण रुघाखोकी, खोक्दा खकार कालो निस्कने, आँखामा चिलाउने, रातो हुने लगायतका समस्या भएको स्थानीयले बताए ।


सडकको दुबै छेउमा बसोबास गर्ने बासिन्दालाई २४ सै घण्टा आवतजावत गर्ने साना तथा ठूला सवारीका साधनहरूले उडाएको बाक्लो धूलोले समस्या परेको स्थानीयले जानकारी दिए । खानाका लागि सुकाउने धान लगायत अनाजहरूमा समेत धूलो जमेर समस्या खेप्नु परेको स्थानीयले बताए । त्यति मात्र नभई धूलोले त घरको छत, झयाल, ढोका, ओछ्यान लगायतको ठाउँमा समेत धुलैधुलोले भरिएको हुन्छ । घरमा बस्न समेत निकै कठिनाइ भइरहेको स्थानीयको भनाइ छ ।


उक्त सडक खण्ड भएर दैनिक सयौंको संख्यामा सवारीका साधनहरू आवतजावत गर्ने गर्दछन् । ती ‘सवारीका साधनहरूले गर्दा वर्षायाममा ठाउँठाउँमा एक फिटभन्दा बढी गहिरो खाल्डाखुल्डीमा जमेको पानी तथा हिलोको कारण झन समस्या भोग्यौं,’ बारा छोटकी फुलवरियाका प्रभु यादवले भने, ‘सुख्खा मौसममा धूलोको कहर खेप्नु परेको छ ।’ कम्तीमा बस्ती र विद्यालय रहेको स्थानमा सडकमा पानी हाली दिनुपर्‍यो । सडकमा पानी हालेर धूलोलाई कम गर्न सम्बन्धित निकाय वा निर्माण कम्पनीले चासो नदिएको उनले आरोप लगाए ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?