कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमा अवरोध 

विद्यालय प्राङ्गणमा स्टल, स्वागतद्वार, कथा वाचन मञ्च, पन्डाल र यज्ञ हवन
लक्ष्मी साह

बारा — शैक्षिक स्तर खस्केको यस जिल्लाका विद्यालयलाई पछिल्लो समययता धार्मिक कार्यक्रम बढेका छन् । विद्यालयमै महायज्ञ लगाउन थालिएपछि पढाइ प्रभावित भएको छ । अचेल विवाह तथा धार्मिक अनुष्ठानहरूको बढ्दो मौसमले विद्यालयहरूमा यस्तो मेला, यज्ञ, विवाहको जन्ती जताततै देख्न पाइन्छ । 

विद्यालयमा अवरोध 

यो प्रवृत्तिलाई प्रोत्साहन गर्न शिक्षक, जनप्रतिनिधिहरू नै अग्रसर देखिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रअ र गाउँलेको सहमतिमा कलैया उपमहानगरपालिका–१८, को पतौरास्थित गढीमाई नेराप्राविमा ११ दिने महायज्ञ र मेला सकिएको पाँच दिनपछि महागढीमाई नगरपालिका–७, नेरामावि बेनौलीमा ९ दिने लक्ष्मीनारायण महायज्ञको थालनी गरिएको छ । गढीमाई नेराप्राविमा ११ दिन विद्यालय छुट्टी गरेर लगाइएको महायज्ञ र मेलाबारे समाचार प्रकाशनमा आएपछि उपमहानगरको शिक्षा शाखाले विद्यालयलाई स्पस्टीकरण काटेको थियो ।


यो विद्यालयमा आयोजना गरिएको यज्ञ सकिनलगतै फेरि गत बुधबारदेखि बेनौली माविमा लक्ष्मी नारायणको ९ दिने महायज्ञ आरम्भ भएको छ । महायज्ञमा शिक्षा समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिंह स्वयं सक्रिय छन् । यसैगरी महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव, देवताल गाउँपालिकाका अध्यक्ष चन्दनसिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव साह, विद्यालयका प्रअ जितेन्द्र यादवलगायत यज्ञ आयोजना गर्न स्वयं खटिएका छन् ।


विद्यालय प्राङ्गणमा स्टल, स्वागतद्वार, कथा वाचन मञ्च, पंडाल र यज्ञ हवन बनाइएको छ । ‘बेनौली र पिप्राढी गाउँमा वर्षौदेखि द्वन्द्व चल्दै आएकाले यसलाई सामान्य बनाउन र दुबै गाउँका अगुवा, नेताहरूको यज्ञमार्फत आपसी मेलमिलाप बढाउन यज्ञको आयोजना गरिएको छ,’ विद्यालयका प्रअ जितेन्द्र यादवले भने, ‘विद्यालयको स्थानीय विदा मिलान गरेर यज्ञ लगाइएको छ ।’ २ सय २० दिन अनिवार्य रूपमा विद्यालय सञ्चालन गर्नुपर्नेमा २ सय ९ दिन सञ्चालन गरेर यज्ञ लगाइएको उनले बताए ।


‘विद्यार्थीको पठनपाठनप्रति सजग छौ, समाजको कथन पनि मान्दिनुपर्ने हुन्छ,’ उनले भने, ‘नजिकिदो एसइई र वार्षिक परीक्षाको पूरै ख्याल छ ।’ यज्ञका लागि विद्यालय बेहुलीझैं सिंगारिएको छ । यज्ञमा रामलीला र रसलीलाको आयोजना गरिएको छ । पाँच वर्षमाथिको ५२ प्रतिशत साक्षरता रहेको यस जिल्लाको सामुदायिक विद्यालयहरूमा जन्ती राख्ने, नाच नचाउने, विहेवारी र धार्मिक अनुष्ठानहरूमा भोजभतेर गर्ने, यज्ञको आयोजना गर्ने यहाँ प्रवृत्ति नै भइसकेको छ ।


‘गुणस्तरीय शिक्षालगायत शैक्षिक गतिविधि बढाउनेप्रति स्थानीय समुदाय र जिम्मेवारहरू जति उत्तरदायी छैनन्, त्योभन्दा बढी विद्यालयको पठनपाठन अवरुद्ध गर्न प्रेरित छन्,’ महागढीमाई नगरपालिकाका अभिभावक विजय स्वर्णकारले भने, ‘शिक्षाको गुणस्तर बढाउन यस्तो तामझाम र तडकभडक बन्द गर्नुपर्छ ।’ विद्यालयबाट राजनीतिक भाषण, भोजभतेर, विवाह, जन्ती, यज्ञलाई निरुत्साहित गरेर शैक्षिक गतिविधि बढाउनुपर्ने उनको भनाइ छ ।


बेनौली मावि अहिले मेला र यज्ञमय भएको छ । चौबिसै घण्टा ठूलो आवाजको माइक र साउन्ड बक्सले विद्यालय घन्किरहेको छ । भारतबाट आएका पण्डितहरूले कथावाचन गरिरहेका छन् । भारतबाट रामलीला र रसलीलाका पात्रहरू बोलाइएको छ । गाउँ सार्वजनिक जग्गा अतिक्रमणमा परेपछि यस्ता मेला, जन्ती विद्यालयमा राख्न थालिएको हो । बेनौली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव साहले विद्यार्थीको पढाइमा नोक्सान नपुग्ने गरी यज्ञको आयोजना गरिएको बताए ।

प्रकाशित : फाल्गुन २६, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?