जनकपुर — भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शुक्रबार धनुषामा तीनवटा पुलको शिलान्यास गरेका छन् । तीनवटै पुल धनुषाको क्षेत्र नम्बर ३ अन्तरगत दूधमती, जमुनी र जल्लाद नदीमा निर्माण हुन लागेको हो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले मन्त्रीमण्डल हेरफेरको विषय हल्लामात्र रहेको बताएका छन् । 'मन्त्रीमण्डल फेरबदल हुनु अनौठो कुरा होइन तर अहिले यो हल्लामात्र हो । यस किसिमको जानकारी मलाई छैन ।'
सरकारले विकास निर्माणलाई अर्जुन दृष्टि बनाएको भन्दै उनले चार वर्षभित्र नेपालको मुहार फेरिने दाबी गरे । मन्त्री महासेठले अगामि चार वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेल मार्ग, जलमार्ग तथा स्थलमार्गको सञ्जाल निर्माण हुने बताए । 'चार वर्षभित्र ६ देखि ८ हजार किलोमिटर सडक र १ हजार २ सय पुल निर्माण गर्ने सरकारको लक्ष्य छ । हेर्दै जानुहोला नेपालमा सडकको सञ्जाल बन्दैछ,' उनले भने ।
स्वतन्त्र मधेशको माग गर्दै आएका सीके राउतलाई मूलप्रवाहमा ल्याउनु सरकारको उपलब्धि भएको बताए । 'राउतजीलाई विखण्डनकारी कित्ताबाट लोकतान्त्रिक कित्तामा ल्याउनु सरकारको ठूलो उपलब्धि हो,' उनले भने, 'राउतजी लोकतान्त्रिक पद्धति अनुसार आफ्नो गतिविधि अघि बढाउनु हुन्छ भने हामी आशावादी छौं । अराजक गतिविधि गर्ने विप्लव होस् कि राउत यस्तासँग सरकार कडा रुपमा प्रस्तुत हुन्छ ।'
सिमावर्ती जटही-जनकपुर जोड्ने ६ लेन सडकमा पर्ने दूधमति नदीमा १२ करोड ४५ लाखमा २२ मिटर लामो पुल, जमुनी नदीमा २१ करोड १६ लाख ७६ हजारमा ५० मिटर, गंगुलीस्थित जल्लाद नदीमा ११ करोड १६ लाख लागतमा २५ मिटर लामो पुलको ठेक्का भएको योजना प्रमुख बिरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
प्रकाशित : चैत्र १, २०७५ १७:००