मध्यतराईमा ३ दिन होली

पर्सा, बारा र रौतहटको होली पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । सेतो लुगा लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो ।
शंकर आचार्य, रवीन्द्र उप्रेती

पर्सा/महोत्तरी — तराईको दोस्रो ठूलोपर्व होली यस वर्ष ३ दिन मनाइने भएको छ । अनौपचारिक रूपमा विभिन्न कार्यक्रम तथा होली मिलन समारोह गरेर यहाँ झन्डै एक सातादेखि होली मनाउन थालिएको छ । औपचारिक रूपमा बुधबारदेखि फागुपूर्णिमाको दिनसम्म होली मनाइँदै छ ।

तीन दिन मनाउन लागिएको पहिलो पटक हो । बुधबार पहाडी समुदाय तथा केही अन्यले होली खेले । सामान्यतया पूर्णिमाको भोलिपल्ट तराईमा होली मनाउने चलन छ ।

Citizen


पूर्णिमाको साँझ गाउँघरका चोकचोकमा संवत् जलाएका स्थानीयले उक्त संवत्को खरानी टीका लगाएपछि त्यसको भोलिपल्ट बिहानैबाट होली खेल्न थाल्छन् । होली पर्वमा मांसाहार र मदिरापान बढी हुने भएको र बिहीबार तराईमा मासु माछा र मदिरा पनि अधिकांशले नखाने भएकाले धेरैले शुक्रबार होली मनाउने मनस्थिति बनाएका छन् ।

सामाजिक अभियन्ता प्रकाश थारू होली पर्वलाई धार्मिकभन्दा पनि सांस्कृतिक हिसाबले मान्ने चलन भएकाले अधिकांश तराईवासीले यस वर्ष बिहीबार नभई शुक्रबार होली खेल्ने र रमाइलो गर्ने मनस्थिति बनाएको हुन सक्ने बताए । ‘आखिर होलीमा रमाइलो गर्ने, आफन्तजन इष्टमित्रसँग भेटघाट गर्ने, सामूहिक खानपिन गर्ने चलन हो,’ उनले भने, ‘त्यही गर्न नपाउदा रमाइलो हुन्न भन्ने सोचले शुक्रबार होली मनाउन लागिएको हुन सक्छ ।’

पर्सा, बारा र रौतहटको होली पर्व मात्र नभई भोजपुरी संस्कृतिको पनि प्रतिनिधित्व गर्छ । वीरगन्जमै होली मिलन समारोह हुन थालेको झन्डै एक साता भइसकेको छ ।

विभिन्न संघसंस्था, कलेज, दल तथा साहित्यिक संस्था आदिले साता अघिदेखि नै होली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आदि गरेर होलीको भव्य स्वागत गर्दै छन् । दैनिक दर्जनौं स्थानमा हुने होली मिलन समारोहमा एक अर्कालाई रङ दल्ने, शुभकामना दिने र ठूलाबडासँग आशीर्वाद थाप्ने गर्छन् ।

परिवारका सदस्य मात्र नभई आफन्त इष्टमित्रलाई पनि घरमा बोलाएर मासुका परिकार, मालपुवा, पकौडा आदि खुवाउने चलन छ । पाहुनासँग रंग र अबिरको होली खेलेपछि उनीहरूलाई काजु, किसमिस, नरिवल, छोकडा, सुपारी आदिको मसला खान दिइन्छ । होली पर्वकै लागि अधिकांशले नयाँ सेतो लुगा किन्छन् । सेतो लुगा लगाएर होली खेल्ने तराईको पुरानो परम्परा हो । ठूलाबडासँग रंग लगाएपछि आशीर्वाद थाप्ने गरिन्छ ।

वर्षभरि भेटघाट नभएकाहरू एकअर्काका घरमा भेटघाट गर्न जाने र रंग तथा शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ । यो पर्वले साथीभाइ इष्टमित्रलाई वर्ष दिनमा एक पटक भेटघाट गर्ने अवसर पनि जुराउँछ । आपसमा मनोमालिन्य र रिसराग भएका पनि त्यसलाई बिर्सेर आजकै दिनबाट सम्बन्धको नयाँ सुरुवात गर्छन् ।

होलीमा माछामासुको परिकार बढी खाइन्छ । खाने पिउने मात्र नभई नेता तथा समाजका प्रतिष्ठित व्यक्तिलाई पनि सार्वजनिक रुपमा व्यंग्य गर्ने छुट यो पर्वमा छ । यसरी होली पर्वमा व्यंग्य गर्दा कसैले पनि चित्त दुखाउँदैनन् ।

होली पर्वको धार्मिक र सांस्कृतिक गरी २ पक्ष हुने गरेको छ । धार्मिक पक्षमा प्रख्यात पुराना व्यक्तिहरूको गाथा गाउने भएकाले प्रज्ञा र ज्ञानसँग यो पर्व जोडिएको छ । व्रत लिने, शुद्ध चोखो खाने जस्ता अन्य पर्वका जस्ता धार्मिक नियम यो पर्वको नरहेको र खाने पिउने रमाउने, आफन्तसँग भेटघाट गर्ने जस्ता अवसर मिल्ने भएकाले यो सबैको प्रिय भएको छ । शाकाहारी र मांसाहारी दुवैले यो पर्वमा मोजमस्ती गर्न पाउँछन् ।

तराईमा गर्मी भएकाले यहाँ पहिलेदेखि नै पानी र रंगसँग होली खेल्न सहज भएको छ । भारतसँगको भौगोलिक सामीप्यका कारण तथा सहज आवागमनको सुविधाका कारण भारत र तराईको होलीबीच धेरै सामीप्य हुन गएको छ । भारतका होली गीतमा प्रसिद्ध धार्मिकस्थल तथा तीर्थस्थलको साथै कृष्ण, व्रज, द्वारका प्रसंग बढी उल्लेख हुन्छ भने नेपालको होली गीतमा जनकपुर रामजानकी, जनकको प्रसंग बढी हुन्छ ।

बढ्यो सुरक्षा सतर्कता
तराईमा बिहीबार र शुक्रबार होली मनाइँदै छ । रोजगारीका लागि बाहिर गएकाहरू घर फर्कन थालेपछि गाउँमा चहलपहल बढेको छ । स्थानीय बजार रंग, अबिर, पिचकारी, मास्क, टोपीलगायत होलीका सामानले भरिएका छन् । माहोल होलीमय बन्दै छ ।

पर्वको बढ्दो उमंगसँगै सुरक्षा चुनौतीसमेत थपिएको छ । होलीका नाममा शान्तिसुव्यवस्था खलबलिन नदिन प्रहरीले सुरक्षा सतर्कता र गतिविधि बढाएको दाबी गरेको छ ।

बिहीबार मनाइने होलीमा आपराधिक तथा उच्छृंखल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना सञ्चालन गरेको जनाएको छ । पर्वका आडमा हुने अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न सुरक्षाको विशेष प्रबन्ध मिलाइएको हो । सशस्त्र तथा नेपाल प्रहरीका उपरीक्षकद्वय विश्वेश्वर थापा र ईश्वर कार्कीले होलीलाई मध्य नजर गर्दै अन्य दिनको तुलनामा जिल्लाभर प्रहरी गस्ती र सुरक्षा सतर्कता बढाइएको दाबी गरे ।

विशेष सुरक्षाअर्न्तगत प्रहरीले उच्छृंखल क्रियाकलापदेखि ध्वनि प्रदूषणमा समेत निगरानी बढाएको छ । सादा पोसाकमा निगरानी बढाइएको छ । जिल्लाका सबैजसो प्रहरी युनिटमा सुरक्षाकर्मीको संख्या बढाइनुका साथै आकस्मिक घटना नियन्त्रणका लागि थप सुरक्षा दस्ता तयारी अवस्थामा राखिएको कार्कीले जनाए ।

महोत्तरी सीमावर्ती जिल्ला भएकाले यहाँको सुरक्षा अवस्था पर्वको बेला उसै पनि संवेदनशील हुने गरेको छ । भारतको विहारसँग करिब ३९ किमि सीमा जुटेको महोत्तरीमा पर्वको उल्लासलाई अवाच्छित तत्त्वले अवसरका रूपमा उपयोग गरेको विगतका घटनाक्रमले देखाएका छन् ।

विहारमा मदिरा प्रतिबन्धित भएकाले होलीको रमाइलो मनाउने आडमा आपराधिक पृष्ठभूमिका समूहको घुसपैठ पनि चुनौतीपूर्ण हुन्छ । यस्ता समूहलाई निगरानी र नियन्त्रणमा राखी सीमावर्ती गाउँमा धार्मिक र साम्प्रदायिक सदभावका साथै शान्तिसुरक्षा कायम राखन विशेष सतर्कता बढाइएको जलसागरस्थित सप्र बल नेपाल नं ९ हेडक्वाटरका एसपी विश्वेश्वर थापाले जनाए ।

थापाका अनुसार होली नजिकिने क्रमसँगै यी क्षेत्रमा चेकजाँच तीव्र पार्नुका साथै सीमा वारपार गर्नेमाथि निगरानी र मदिराजन्य पदार्थको उत्पादन, सेवन र बिक्रीवितरणमा कडाइ गरिएको छ । यसपटकको होलीमा ध्वनि प्रदूषणमा समेत कडाइ गरिएको छ । यो कडाइबाट होलीको नाममा बजाइने अश्लील गीत र कर्कश आवाजबाट राहत महसुस गरिएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार सांस्कृतिक र सामाजिक गरिमामा क्षरण हुने अश्लील र द्वयअर्थी गीत बजाएर सामाजिक गरिमा र आत्मसम्मानमा ठेस पुर्‍याउने भएकाले यस्ता हर्कतउपर कडाइ गरिएको हो ।

साँझ ५ बजेउप्रान्त मदिरा बिक्रीवितरणमा कडाइ गरिएको छ । राति १० बजेउप्रान्त लाउडस्पिकर बजाउन रोक लगाउन र सदरमुकाम जलेश्वर, गौशाला, बर्दिबासलगायत नगर क्षेत्रमा होलीलाई मर्यादित र शान्तिपूर्ण ढंगमा मनाउन प्रहरीले स्थानीय एफएमबाट सन्देशमूलक प्रसारण गर्दै आएको छ ।

जिल्ला प्रहरीकाअनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, मोटरसाइकलमा दुईभन्दा बढी चढ्ने तथा अवाच्छित क्रियाकलाप गर्नेमाथि कडा कारबाहीको चेतावनी दिइएको छ ।

गौशालास्थित इलाका प्रहरीले नगर क्षेत्रका जनप्रनिधि, व्यापारी, बुद्धिजीवी तथा सर्वसाधारणलाई मंगलबार भेला गराई होली पर्वलाई शान्ति र हर्सोल्लासपूर्वक मनाउन तथा अवाच्छित गतिविधि निरुत्साहन र नियन्त्रणका लागि आग्रह गरेको छ ।

गौशालास्थित प्रहरी निरीक्षक किशोर आर्चायका अनुसार होलीका दिन दिउँसो १२ बजेपछि मदिराजन्य पदार्थ बिक्रीवितरणका साथै पसल व्यवसाय बन्द राख्न भेलाले लिखित सहमति गरेको छ ।

भेलाका सहभागीले पर्वका आडमा हुने आपराधिक क्रियाकलाप, शंकास्पद व्यक्ति र वस्तुको सूचनासमेत प्रहरीलाई उपलब्ध गराई शान्तिसुव्यवस्था कायम राखन सहयोग पुर्‍याउने प्रतिबद्धता जाहेर गरेका छन् । ट्राफिक नियम पूर्ण पालना गर्ने र पर्वका आडमा उपभोग्य वस्तुका साथै मासुजन्य पदार्थको मूल्य नबढाउने सहमतिसमेत भएको प्रनि आचार्यले जनाए ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

फर्किर्दै परिक्रमावासी

कान्तिपुर संवाददाता

जनकपुर — मिथिलानगरी जनकपुरको सेरोफेरोमा घुमिने १५ दिने धार्मिक यात्राका सहभागी बुधबार बिहानैदेखि जनकपुर फर्किने क्रम सुरु भएको छ । बिहीबार विहान नगरको अन्तःगृह परिक्रमा गरी यो धार्मिक यात्रा सम्पन्न हुनेछ । 

धनुषाको कचुरी मठबाट निस्केका परिक्रमावासी बुधबारदेखि फर्किंदै । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

फागुन २२ गते मध्यधनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट प्रस्थान गरेका श्रद्धालु नेपाल र भारतका विभिन्न धार्मिक स्थलको परिक्रमा गरी यहाँ आइपुगेका हुन् । सहभागीले १ सय ३३ किलोमिटरको पैदलयात्रा गरेका हुन् ।

मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर ,फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा तथा पुनः भारतको करुणा, विसौल एवं कलानेश्वर हुँदै फागूपूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किएका हुन् । अन्तःगृह परिक्रमाको भोलिपल्ट जनकपुर वरिपरि फागू पर्व मनाउने चलन छ ।

महन्त नवलकिशोर शरणका अनुसार मध्यमा परिक्रमा १ सय ६० वर्षदेखि निरन्तर चल्दै आएको हो । यस धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको संख्या पनि उल्लेख्य छ । नेपालका विभिन्न भागसँगै भारतका विभिन्न प्रान्तबाट हजारौं श्रद्धालु यस धार्मिक यात्रामा सहभागी हुन्छन् ।

मिथिला महात्म्यमा वर्णन भए अनुसार(मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौं ऋषिमुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा असाध्य रोगबाट मुक्ति पाएको उल्लेख छ ।

जनकपुरको सेरोफेरोमा घुमिने मध्यमा परिक्रमा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमावासीहरू नेपालमा १ सय ५ तथा भारतका २८ गरी कुल १ सय ३३ किलोमिटरको यात्रा गरेर यहाँ फर्केका हुन् ।

प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना गरिएको चार शिवालय क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको जानकी मन्दिरका छोटे महन्थ रामरोशनदास वैष्णव भन्छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT