कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरीको ‘अप्रेसन गल्फ’

रौतहट — आपराधिक गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरीले ‘अप्रेसन गल्फ’ सुरु गरेको छ  । यसका लागि तालिमप्राप्त २ कुकुर परिचालन गरिएको छ  ।

कुकुरले विस्फोटक पदार्थ र लागूऔषध राखेको स्थान पत्ता लगाउँछ । जिल्लामा यसरी कुकुर परिचालन गरिएको सम्भवतः पहिलोपटक हो । अप्रेसन एक सातासम्म चल्नेछ ।प्रहरीले यही मंगलबारबाट जिल्लाभरि ‘अप्रेसन गल्फ’ सुरु गरेको हो ।

यही क्रममा सुरक्षाकर्मीले चन्द्रपुर नगरपालिकाका विभिन्न गाउँमा बिहीबार बिहानदेखि तालिमप्राप्त कुकुर परिचालन गरी विस्फोटक पदार्थको खोजी गरिरहेको छ । प्रहरीले विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउने जोन डग र लागूऔषध पत्ता लगाउने पोनर डग परिचालन गरेको हो ।

उनीहरूलाई शंकास्पद गाउँका घरमा परिचालन गरिएको हो । गरुडा इलाकापछि प्रहरीले चन्द्रनिगाहपुरमा खोजी सुरु गरेको छ । इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठक र राजन थापा नेतृत्वको टोलीले कुकुरको सहायतामा विस्फोटक पदार्थको खोजी गरेको हो ।

कुकुरलाई गैंडाटार, जुडिबेला, चन्द्रनिगाहपुर र टेकान टोलका घरहरूमा परिचालन गरिएको थियो । गैंडाटार र जुडिबेला नेक्रवित्रम चन्द समूहका कार्यकर्ता बस्ने क्षेत्र हो । त्यस क्षेत्रमा प्रहरीले पहिलोदेखि नै निगरानी र उच्च सतर्कता अपनाउँदै आएको छ । चन्द माओवादीलाई प्रतिबन्ध लगाएपछि सुरक्षाकर्मीले उत्तरी भेकका गाउँलाई विशेष निगरानीमा राख्दै आएको छ ।

जनयुद्धका बेला तत्कालीन माओवादीले यही इलाकालाई आफ्नो सेल्टरका रूपमा प्रयोग गरेको थियो । पहाडी इलाका भएकाले चन्द्रपुर नगरपालिकाको गैंडाटार, भोलनटार, फूलबारी, अरुणबस्ती, इपिलिघारीका गाउँहरूलाई निगरानीमा राखिएको सुरक्षाकर्मीको भनाइ छ । कुकुर परिचालन गरिए पनि विस्फोटक पदार्थ फेला परेन ।

जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले एक सातासम्म जिल्लाभरि ‘अप्रेसन गल्फ’ चलाइने बताए । ‘खास गरी कुनै पनि किसिमको आपराधिक गतिविधि नहोस् भन्ना कुकुरको मद्दतले जिल्लाभरि चेकजाँच र खोजी कडाइ गरेका हौं,’ उनले भने, ‘कुकुरले विस्फोटक पदार्थ र लागू औषधबारे तत्काल पत्ता लगाउँछ ।’ प्रहरीले सर्चको क्रममा धेरै स्थानमा अवैध मदिरा र जुवा खेल्ने मानिस पक्राउ गरेको छ ।

यता प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै नेपाल–भारत सीमाक्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सीमाको गौर भन्सार क्षेत्रमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो ।

एसपी खत्रीले प्रदेश ३ प्रहरी मुख्यालय हेटौंडाबाट तालिमप्राप्त २ कुकुर झिकाई भन्सार क्षेत्रमा परिचालन गरिएको बताए । सीमा क्षेत्रमा हुने कुनै पनि आपराधिक गतिविधि पत्ता लगाउन र होलीमा कुनै गडबडी नहोस् भनेर सीमाक्षेत्रमा कुकुर परिचालन गरिएको उनले जनाए । कुकुरले विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउँछ ।

यसले सुरक्षाकर्मीलाई सहयोग पुग्छ । विप्लव समूहको गतिविधि बढेको अनुमान भइरहेका बेला तालिमप्राप्त कुकुर परिचालन गरिएको हो । गौरसित सीमा जोडिएको भारतीय बैरगनिया बजारबाट आउने टेम्पु, ई–रिक्सालगायत सवारीको जाँच कडा पारिएको थियो ।

त्यस्ता सवारीभित्र अवैध समान पत्ता लगाउन कुकुरको मद्दत लिइएको थियो । सीमा क्षेत्र संवेदनशील रहेको र भारतबाट साना हतियार भित्रिने सम्भावना रहेकाले प्रहरीले कडाइ गरेको जनायो ।

विगतमा चाडबाडको समयमा अपराध गरेर सीमा कट्ने प्रवृत्ति देखिएकाले मुख्य रूपमा सबै किसिमको अपराध नियन्त्रण गर्न सुरक्षाको दृष्टिले कुकुर परिचालन गरिएको प्रहरीको दाबी छ ।

भारतबाट अवैध र प्रतिबन्धित सामानहरू भित्रिन सक्ने भएकाले कुकुरको मद्दतले अप्रेसन सुरु गरिएको एसपी खत्रीले बताए । उनले भने, ‘खुला सीमा भएकाले प्रतिबन्धित सामान यताउता नहोस् भनेरै निगरानी कडा पारेका छौं ।’

प्रकाशित : चैत्र ८, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?