कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर बनाउँदा बिरुवा अनिवार्य

रौतहट — लामो सकसपछि कटहरिया नगरपालिकाले नगरपरिषदको उद्घटन सकेको छ । अहिले नगरको विकास योजनामा छलफल जारी राखेको छ  ।

कुनै पनि व्यक्तिले भवन निर्माण गर्दा २ बिरुवा अनिवार्य रोपेको हुनुपर्ने नगरपरिषदबाट नीति ल्याएको छ ।

जिल्लाको स्थानीय तहमा यस्तो नीति ल्याउने कटहरिया पहिलो नगरपालिका हो । घरको नक्सा पास गराउन आउँदा परिसरमा २ बिरुवाको फोटो पेस गर्नुपर्ने नियम नगरपालिकाले बनाएको हो ।

कटहरिया नगर, हरित सहरको नारा राखेर नगरपालिकाले सार्वजनिक जमिन, मठ, मन्दिर, विद्यालय, सडक किनारहरूमा अभियान चलाएर वृक्षरोपण गर्ने योजना बनाएको मेयर सियाराम कुशवाहले बताए ।

‘बोटबिरुवाबिना मानिसको जीवन कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘पछिल्लो समय भएका बोटबिरुवा मास्दै गएको छ । यसले पर्यावरणमा नराम्रो असर परेको छ । त्यसैले बिरुवा रोप्ने नीति अघि सारेको छु ।’ हराभरा नगरलाई प्राथमिकतामा राखेको ऊनले सुनाए । मेयर कुशवाहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै किसानसँग मेयर कार्यत्रम ल्याएका छन् । गाउँका किसान दाजुभाइको समस्यामा उनले सिधै संवाद गरी समाधान गर्नेछन् ।

एक घर, एक चर्पी, एक घर, एक धारा, स्वच्छ सहर, कटहरिया नगर लगायतका योजनाहरू नगरपालिकाले सार्वजनिक गरेको छ । गएको असार मसान्तमा नगरपरिषद् गरिसक्नुपर्थ्यो । तर उनी कर्तव्य ज्यान मुद्दामा जेल परेपछि नगरपालिकामा भद्रगोल भयो ।

उपमेयर नूरजहाँ खातुन कार्यवाहक मेयर बनेर मोर्चा सम्हाले पनि वडाअध्यक्षहरूको असहयोगका कारण परिषद् बस्न सकेको छैन । मेयर कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएर छुटेका हुन् । जेलबाट छुटेपछि उनी सिधै हेलिकप्टर लिएर घर आएका थिए । त्यसै बेला निकै चर्चामा आए ।

निकै लामो छलफल र बहसपछि उनले परिषद् बसाउन सकेका हुन् । परिषद्मार्फत छात्रालाई विद्यालय जान सहज होस् भन्दै छात्रासँग उपमेयर कार्यक्रमअन्तर्गत माध्यमिक तहमा अध्ययनरत उनीहरूलाई साइकल, सेनेटरी प्याडलगायत आवश्यक सामग्री वितरण गरिने कार्यक्रममा उल्लेख छ ।

प्रकाशित : चैत्र ८, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?