कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ महिनामै 'घूसको अड्डा'

कर्मचारीले कहिले बिजुली नभएको कहिले सर्भर डाउन भएको भन्दै ढिला सुस्ती गरिरहेका छन् 
सन्तोष सिंह

धनुषा — धनुषा, सबैला २ का जमुना पूर्बे दुबईको श्रम स्वीकृति लिन आइतबारदेखि नै जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय धाइरहेका छन् । कर्मचारीले बिभिन्न बहाना बनाएर श्रम स्विकृति पत्र दिएका छैनन् । उनीहरूले आलटाल गर्नुको एउटै कारण हो, पूर्वेबाट अतिरिक्त रकम लिनु ।

३ महिनामै 'घूसको अड्डा'

सोमबार कार्यालय बन्द अघिसम्म पूर्वेलाई कम्प्यूटर अपरेटर सरोज यादवले आलटाल गरिरहे । कर्मचारीले कहिले बिजुली नभएको कहिले सर्भर डाउन भएको भन्दै ढिला सुस्ती गरिरहेका छन् । मंगलबार कार्यालय बन्द हुनैलाग्दा पूर्वेले निमित्त प्रमुख मनोज यादवको कार्यकक्षमा पुगेर ‘मेरो काम किन रोकियो ?’ भनेर सोधे । कार्यालय प्रमुखले समस्या समाधानतिर लागेनन् । पूर्वर्लाई भने, ‘काठमाडौं गएर श्रम स्वीकृति लिनू ।’ काठमाडौंमा बढो भिड र झन्झटिलो प्रकृयाका कारण सरकारले हरेक प्रदेशमा बैदेशिक रोजगारमा जानेका लागि श्रम तथा रोजगार कार्यालय तीन महिना अघि स्थापना भाएको हो ।


‘जनकपुरबाटै पाउने होइन र श्रम स्वीकृति ?’ पूर्वेले अड्डी कसेपछि श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख र कम्प्यूटर अपरेटर यादवद्वयले उनलाई कार्यालयमा लछारपछार गर्दै कुटे । त्यहाँ सुरक्षार्थ खटिएका प्रहरी त्यो घटना हेरेर बसे । छोरा बिरामी भएपछि दुबईबाट ८ दिनका लागि बिदामा आएका पूर्वेले दुबई फर्किन श्रम स्वीकृतिका लागि आइतबारदेखि श्रम कार्यालय गएका थिए ।


उनको निवेदनमा आइतबार तोक लगाउँदै सोमबार १० मिनेटमै काम हुने निमित्त प्रमुख यादवले आश्वाशन दिएका थिए । दलाल छलेर सीधैं कार्यालयको प्रकृयामा पुगेका पूर्वेसँंग घुस रकम असुल्न दलाल र कार्यालयकै कर्मचारी सक्रिय भए । टस न मस भएपछि उनको काम अल्झाइयो । वहाना बनाउँदै कर्मचारीले पूर्वेको श्रम स्वीकृतिको फाइल किनारा लगाइदिए ।


‘१० मिनेटमै काम हुन्छ भनेर सोमबार बिहानै श्रम कार्यालय पुगे,’ पूर्वेले कान्तिपुरसंग भने, ‘आलटाल गर्न धेरैपटक निवेदन लेख्न लगाए । पछि कार्यालयमा विद्युत र इन्टरनेट नभएको वहाना बनाए ।’ पूर्वेले अडड कसेपछि कार्यालयका निमित्त प्रमुख र कम्प्यूटर अपरेटर यादवद्वयले कुटपिट गरेको भिडिओ अर्का सेवाग्राही धनुषा, गणेशमान चारनाथ नगरपालिकाका उपेन्द्र यादवले मोवाइलमा खिचे । उपेन्द्रले भिडिओ खिचेको कार्यालयका कर्मचारीले चाल पाए । प्रहरीको सहयोगमा मोवाइल जफ्त गरेर भिडिओ डिलिट गर्न खोजेपछि सोमबार अपरान्ह जनकपुरको श्रम तथा रोजगार कार्यालयमा तनाव बढ्यो ।


निमित्त प्रमुख यादवले यादबको मोवाइल फोनको मेमोरी खोसेर फ्याँके । हातपातको भिडियो भाइरल हुने डरले मेमोरी थुँतेर फयाकेको निमित्त प्रमुख यादवले कान्तिपुरसंग स्वीकारे । श्रम तथा रोजगार कार्यालयको कर्मचारीको बद्मासीको शिकार उपेन्द्र पनि हुन् । श्रम स्वीकृतिका लागि उनी पनि ५ दिनदेखि जनकपुरस्थित कार्यालय धाइरहेका छन् । कार्यालयमा बत्ती नहुँदा आफ्नो काम छिटो हुने लोभमा उपेन्द्रले जेनरेटर बोकेर पनि ल्याए । कार्यालयसम्म जेनरेटर बोकेर ल्याएर श्रम स्वीकृति सोमबार मात्र भयो ।


जनकपुरको मुरलीचोक दक्षिण एकान्त गल्लीमा रहेको श्रम तथा रोजगार कार्यालयको वरिपरि दलालले पसल थापेर बसेका छन् । दलालबाट फुँत्किएर कार्यालय पुग्ने सेवाग्राहीले पूर्वे र यादव झै झमेला सहनु पर्छ । घुस नदिंदा । पुस १५ गतेदेखि जनकपुरमा सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय तीन महिनामै ‘घुसको अड्डा’ बनेको छ । अतिरिक्त रकम नदिँदा सेवाग्राही दुख पाइरहेका छन् । श्रम तथा रोजगार कार्यालय, जनकपुरका निमित्ति प्रमुख मनोज यादवले पूर्बेको आइडि नम्बर नमिलेकाले काममा ढिलाइ भएको र उनलाई हतार रहेकाले काठमाण्डौं जान भनिएको बताए । ‘आइडि नम्बरबारे इमेल गरेपनि काठमाण्डौंबाट रिप्लाइ आएन,’ प्रमुख यादवले भने, ‘पूर्वे गालीगलोजमा उत्रिएपछि कुटपिट भएको हो ।’


गणेश पार्टी प्यालेश भाडा लिएर सञ्चालनमा आएको जनकपुरको श्रम तथा रोजगार कार्यालयमा बिचौलिया हाबी छ । जनकपुरको श्रम तथा रोजगार कार्यालयका कर्मचारी, दलाल र प्रहरी तीनैतिरबाट समस्यामा परेका सेवाग्राही दिक्क मान्न थालेका छन् । सर्लाही, कैडेनाका राजेन्द्र मुखियाले दिनहुँ सेवाग्राही कुटिदा पनि प्रहरीले नदेखे झै गर्ने गरेको बताउँछन् । ‘जनकपुरमै श्रम कार्यालय खुलेपछि काठमाण्डौंमा रातभर लाइनमा बस्नुपर्ने झन्झट हटने आश थियो,’ मुखियाले भने, ‘घर नजिकैको सहरमा काठमाडौ भन्दा बढी खर्च र सास्ती व्यहोनु परेको छ ।’


श्रम तथा रोजगार कार्यालय जनकपुरमाा ९/१० जनाको सम्हुमा रहने बिचौलियालाई ५ हजार रुपैया दिए तुरुन्त काम गराइदिने गरेको सेवाग्राहीको आरोप छ । धनुषाका निमित्त सिडिओ वेदप्रसाद अर्यालले न्यून कर्मचारी र सेवाग्राहीको धेरै भिडभाड हुने भएकाले श्रम तथा रोजगार कार्यालयलाई व्यवस्थित गर्न नसकिएको बताए । ‘श्रम कार्यालयलको बेथितिको धेरै गुनासो आइरहेको छ,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन सरकारले गर्ने हो । हामी शान्तिसुरक्षा मात्र मिलाउने हो ।’


जनकपुरको श्रम तथा रोजगार कार्यालयमा १४ कर्मचारीको दरबन्दी रहेपनि ९ जना मात्र कार्यरत्त रहेको निमित्त प्रमुख यादवले बताए । ‘उपसचिव नहुँदा शाखा अधिकृतले नै त्यो काम हेर्नु परेको छ,’ उनले भने ।

प्रकाशित : चैत्र १३, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?