कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइल भेटाएको भन्दै कुटपिट

भूषण यादव

वीरगन्ज — पर्साको छिपहरमाई गाउँपालिका ३ झलमइया निवासी ३२ वर्षीया प्रमिला देवी आफ्ना चार जना बच्चा सहित घरमा बस्छिन् । उनका श्रीमान् मकसुदन साह हेटौंडामा घर ढलानको काम गर्छन् ।

मोबाइल भेटाएको भन्दै कुटपिट

माघ १३ गते छिमेकी सुरेश साहको ‘स्क्रीन टच’ मोबाइल बाटोमा कतै खस्यो । उनले खोजे तर पाएनन् । प्रमिलाले लुकाएको शंका लागेर त्यही राति करिब १० बजेको समयमा आफ्नो श्रीमती अनिता देवी र सम्भौता टोलका सुनिल साहलाई लिएर ढोका ढक–ढकाउन थाले । ‘ढोका खोल्ने बित्तिकै सुरेशले खोई मेरो मोबाइल दे भने,’ बिहीबार गाउँमा भेटिएकी प्रमिला भन्छिन्, ‘कुन मोबाइल, कसको मोबाइल, मोबाइलका बारेमा मलाई केही जानकारी छैन भने पनि उनीहरूले पत्याएनन् ।’


राति नै घर खनतलासी गरे । ‘नभेटेपछि कपाल समाएर लछारे, कुटपिट गरे, गाली गलौज गरे,’ दुई महिना अगाडिको त्यो रात सम्झिदा प्रमिलाका आँखा रसाएका थिए । श्रीमतीमाथि भएको अभद्र व्यवहार थाहा पाएर मकसुदन भोलिपल्टनै गाउँ फर्किए । मकसुदनले स्थानीय भेला गरेर पञ्चायतीको तयारी गरिरहँदा सुरेश साहले मोबाइल चोरीको निवदेन प्रहरी चौकीमा दिइसकेका थिए ।


बुडगाई प्रहरी चौकीले उजुरी लिन नमानेपछि प्रमिलाले माघ १६ मा जिल्ला प्रहरी कार्यालय पर्सामा निर्मम कुटाइ र अभद्र व्यवहारका विरूद्धमा निवेदन दिइन् । प्रहरीले गाउँमै मिलाउनु भन्दै पठाए । त्यसपछि प्रहरीमा किन निवेदन दिएको भन्दै विपक्षीले दिनहुँ गाली गलौज र धाक धम्की दिन थाले ।


प्रमिलाका श्रीमान् मकसुदनले निवेदन हालेको कारण विपक्षीले झन बढी गाली गलौज गरेको भन्दै फागुन ७ मा जिल्ला प्रहरी कार्यालयमा अर्को निवेदन दिए । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले फागुन ८ मा प्रहरी चौकी बुडगाईलाई पत्रचार गरी सुरेश साह कानु, अनिता देवी, सुनिल साह कानु र बुधाई साहलाई अविलम्ब कार्यालयमा उपस्थित गराउन पत्राचार गर्‍यो ।


‘चार पटक पञ्चायती हुँदा पनि प्रमिलाले मोबाइल चोरेको ठहरिएन,’ स्थानीय दिनेश साह भन्छन्, ‘कमजोर देखेर जबरजस्ती पेल्न खोजियो ।’ फागुन अन्तिम साता गाउँपालिकाका १० प्रहरीले बुडगाई चौकीका ५ प्रहरीको साथमा प्रमिलाको घर घेरा हालेका थिए । ‘त्यसदिन पनि प्रहरीले घर खनतलाशी गर्‍यो तर मोबाइल फेला पारेन,’ प्रमिला भन्छिन्, ‘बच्चा लिएर आफन्तको घरमा लुकेर बसेको थिएँ ।’


त्यसको एक हप्तापछि होलीको ३ दिन अगाडि विपक्षीले फेरि प्रमिलालाई कुटपिट गरे । ‘११ वर्षीय छोरी सुनैनाले मलाई बचाउन खोज्दा गालामा दुई चप्पल हिर्काए,’ भयभित प्रमिला भन्छिन्, ‘उनीहरू बलिया छन्, जब मन लाग्छ आएर पिट्छन् ।’ बच्चाहरू त्रसित छन् । पकाएको खाना पनि रूच्दैन ।


चैत १० गते गाउँपालिका कार्यालयमा उपमेयरको उपस्थितिमा दुबै पक्षलाई बोलाएर चौथो पटक पञ्चायती भएको थियो । ‘त्यो पञ्चायतीमा पनि प्रमिलामाथि चोरी ठहरिएन,’ स्थानीय शिवशंकर साह भन्छन्, ‘उपमेयरले दोषी नदेखेपछि दुबै पक्षलाई घर जान भनिन् तर, गाउँपालिका प्रमुख मनोज गुप्ता मानेनन् ।’


पञ्चायतीपछि करिब दुई घण्टा मकसुदन र उनको भतिजो गोपिन्दरलाई गाउँपालिकामै करिब दुई घण्टा बन्धक बनाएर राखिएको थियो । बेलुका चार बजेतिर नजिकै रहेको भिस्वा प्रहरी चौकीको हिरासतमा पठाइयो । चौकी इन्चार्ज सई विजय कुमार शाहीले गाउँपालिकामा हुलदंगा गरेको गुनासो आएपछि थुनामा राखिएको बताए । हुलदंगा गर्ने अर्को पक्षबारे उनी खुल्न चाहेनन् । ‘गाउँपालिकाले भनेपछि ल्याएर थुनेका थियौँ,’ सई शाहीले भने, ‘राति १० बजे नै छाड्यौं ।’


स्रोतका अनुसार गाउँपालिकाको आदेशमा प्रहरीले पीडितलाई नै थुनेको गुनासो एक सभासदले गृह सचिवलाई जानकारी गराएपछि मकसुदन र गोपिन्दर राति नै छुटेका हुन् । प्रहरी उपरीक्षक रेवती ढकालले न्यायिक समितिलाई प्रभावकारी बनाउन गाउँघरको मुद्दा गाउँपालिकामै पठाउने गरिएको बताए ।


‘यो मुद्दा धेरै बल्झियो,’ उनले भने, ‘कुरा मिलाउन अन्तिम मौका दिएको छु, नत्र प्रहरीले हस्तक्षेप गर्छ ।’ छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ताले दुबै पक्षबाट निवेदन आएको बताए ।


‘मोबाइल चोरी ठहरिएको छैन, कुटपिटको घटना पनि झूटो हो,’ उनले भने, ‘मिलापत्र गर्न भनेका छौँ, तर, प्रमिलाको समूह मानिरहेका छैनन् ।’ गाउँपालिकामा मिलापत्र नहुने भएपछि जिल्ला प्रहरी कार्यालयमै जान भनिदिएको उनले जनाए । नेताहरूले मुद्दा बल्झाएको उनको आरोप छ । स्थानीयका अनुसार दुई पक्षबीचको राजनीतिक प्रतिशोधका कारण प्रमिलाको परिवार पिल्सिएको हो ।

प्रकाशित : चैत्र १७, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?