कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैती छठीलाई रकम अभाव

साताअघिको हावा हुन्डरीले घरबास उडाइएका स्थानीयलाई नियमित गर्दै आएको पूजा गर्नै समस्या
पवन यादव

बारा — छठ व्रत एकपटक सुरु गरेपछि बाचुनजेल निरन्तरता दिनुपर्ने धार्मिक मान्यता छ । छठ गर्ने व्रतालुले जस्तोसुकै विपत्ति आए पनि छाड्न मिल्दैन । छठका व्रतालुले एकपटक व्रत बस्न छाडे दोहोर्‍याएर बस्न मिल्दैन । त्यही कारण व्रतालु ब्रत छाड्न मान्दैनन् । 

चैती छठीलाई रकम अभाव

झन्डै २५ वर्षदेखि छठ व्रतलाई निरन्तरता दिँदै आएकी बाराको फेटा गाउँपालिका १ भलुहीकी देवकली देवी राउत भेडिहर हावा हुन्डरीले भत्काएको घरमा किचिएर घाइते भएकी छन् । छाती, ढाडलगायत शरीरको विभिन्न भागमा लागेको चोटपटकले अहिले उनलाई घुमफिर गर्न र घरायसी कामकाज गर्न समस्या छ । तर पनि उनले छठ व्रत बस्ने अठोट छाडेकी छैनन् ।


पूजा सामग्री किन्न पैसा नभए पनि फूल अक्षताको भरमा छठी पूजा गर्ने उनी बताउँछिन् । ‘भत्केको घरसँगै पूजाका लागि घरमा राखेको पैसा पनि हरायो,’ उनले भनिन्, ‘पूजा सामग्री किन्न सुको छैन ।’ भिख मागेर भए पनि पूजालाई निरन्तरता दिने उनले अडान दोहोर्‍याइन् । सेनाले बनाइदिएको चाइनिज टेन्टमा बस्न बाध्य भएकी देवकलीले यसपालि छठ व्रत बस्न निकै समस्या हुने बताइन् ।

निराहार र निर्जल बस्ने यो व्रत गर्न लागेका प्रभावित क्षेत्रका व्रतालुलाई धेरै समस्या भएको स्थानीयले बताएका छन् । शुद्धता र सतर्कतापूर्वक मानिने छठ व्रतका लागि चाहिने पूजा सामग्री ठेकुवा पकाउन गहुँको पिठोको अभाव रहेको अर्का व्रतालु शर्मिलादेवी दासले बताइन् ।


‘भत्केको घरसंँगै अन्नपात पनि माटोमा मिल्यो,’ उनले भनिन्, ‘घरमा राखिएको अन्नपात पनि जोगाउन सकिएको छैन ।’ ज्यान जोगाउने कि अन्नपात ? टेन्टमा आश्रय लिएका छौं । यसपालिको छठ टेन्टमै बसेर गर्ने उनको जिकिर छ । छठ व्रत गर्दा पूजा गर्न नयाँ लुगा फेर्नै पर्छ ।


छठका लागि नरिवल, केरा, बतासा, उखु, माटोको ढकनी, माटोको हात्ती, माटोको तावालगायत पूजा सामग्री अत्यावश्य पर्ने उनले जानकारी दिइन् । यी सबै सामग्री खरिद गर्न कम्तीमा ३ हजारदेखि ८ हजार रुपैयाँ खर्च हुन्छ । तर पूजा सामग्री खरिद गर्न यत्रो रकम आफूहरूसँग नभएको उनले जानकारी दिइन् । यसपालिको छठ व्रत पूरा गर्न निकै सास्ती खेप्नु परेको उनले बताइन् ।


छठ व्रत कसरी गर्ने चिन्ता लागेको थियो । हामी गाउँका सबै व्रतालु महिला निराश थियौं । तर गाउँकै नागेन्द्र दासले आफूहरूलाई चुलो बनाउन माटो खनिदिएको र व्रत बस्न सघाउने बताएपछि आफूहरूमा छठ पूजा पूरा गर्ने हौसला थपिएको गाउँकै अर्का व्रतालु ललिता देवी दासले बताइन् ।


‘छठ पूजाको प्रसाद पकाउन सोमबार माटोको नयाँ चुलो निर्माण गरेका छौं,’ उनले भनिन्, ‘छठी माताले पूजा पूरा गर्न घटेको सामग्री पूरा गराउन मदत गर्छिन्, हामीलाई विश्वास छ ।’ गाउँका युवाहरूले पूजाका लागि छठीघाट सजाइदिन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तर पूजा सामग्री खरिद गर्न खर्च जुटाउनै आफूलाई चुनौती थपिएको उनले बताइन् । सहयोगी हातले त्यो अभावलाई छठी माताको कृपाले पूरा गरिदिने उनको विश्वास छ ।


राहतको नाममा आफूहरूका चामल, चिउरा, भुजा, चाउचाउ, त्रिपाललगायत सहयोग पाएका छौं । तर छठ व्रतालुलाई अहिलेसम्म कसैले सहयोग नगरेको गाउँकै अर्का सुगान्धी राउत भेडीहरले बताइन् । भलुही गाउँका ११ जना हावा हुन्डरी प्रभावित छठ व्रतमा सरिक हुने छन् । साताअघिको विनाशकारी हावा हुन्डरीले घरसँगै धन सम्पत्ति नष्ट पारिदिएपछि बाराका प्रभावित क्षेत्रका व्रतालु आर्थिक संकटमा परेका छन् ।


छठैतिन व्रतालुले चैते छठ व्रत मान्न पूजा सामग्री खरिद गर्न खर्च अभाव भएको र त्यसलाई समाधान गर्न सहयोग गरिदिन उनीहरूले सहयोगी हातलाई आग्रह गरेका छन् । छठ व्रत बस्न पूजा सामग्री र कपडा लता खरिद गर्न ठूलो खर्च लाग्छ । पूजा सफल पार्न आफूहरूलाई सहयोग गर्न उनीहरू गर्न आग्रह गरेका छन् ।


मंगलबारदेखि विधिवत सुरु हुन लागेको छठ व्रत शुक्रबार सम्पन्न हुनेछ । प्रभावित क्षेत्रका २ सयभन्दा बढी महिला चैते छठ व्रत बस्दै छन् । तराईको महान पर्व चैते छठ व्रत बसेका व्रतालु छठैतिनलाई पूजा सामग्री खरिद गर्न आर्थिक संकट परेको स्थानीयले बताएका छन् । सम्बन्धित निकायले पनि व्रतालुको समस्यालाई समाधान गर्न ध्यान पुर्‍याउनुपर्ने सरोकारवालाको जोड छ ।

प्रकाशित : चैत्र २७, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?