कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुट्खा उद्योगमा राजस्वको शिलबन्दी

शंकर आचार्य

पर्सा — आन्तरिक राजस्व कार्यालय वीरगन्जले यहाँस्थित कालिका गुट्खा उद्योगमा शिलबन्दी गरेको छ । प्रमुख राजस्व अनुसन्धान अधिकृत गोपीकृष्ण कोइरालाका अनुसार, जनकपुरमा उक्त उद्योगमा उत्पादित ९ बोरा गुट्खामा अन्तःशुल्कको स्टिकर नभेटिएपछि यो कारबाही गरिएको हो ।

कार्यालयको टोली, प्रहरी प्रशासनसमेतको उपस्थितिमा बिहीबार साझ उद्योग परिसरमा पुगी उद्योग शिलबन्दी गरेको उनले जानकारी दिए ।


‘जनकपुर आन्तरिक राजस्व कार्यालयबाट यस्तो सूचना आएपछि हामीले आवश्यक कारबाही थालेका हौं,’ उनले भने, ‘गुट्खाको प्याकेटमा पनि होलोग्रामसहितको अन्तःशुल्कको स्टिकर अनिवार्य हुन्छ, कुनै उद्योगले त्यसो नगरेको पाइए त्यस्ता गुट्खा अवैध मानिन्छन् ।’ जनकपुरमा ऊक्त गुट्खाको बित्रेता र उनलाई छोडाउन पुगेका उद्योगका एक व्यक्तिसमेत गरी २ जना पक्राउ परी सकेको उनले जानकारी दिए ।


कार्यालयले नक्कली बिल बिजक प्रकरणमा पनि आवश्यक छानबिन प्रक्रिया अघि बढाइरहेको कोइरालाले बताए । ‘आन्तरिक राजस्व विभागबाट प्राप्त निर्देशनअनुसार आवश्यक छानबिन गरिरहेका छौं, ५ वटा खरिदकर्ता यस अघि विभागको कारबाहीमा परी सकेका छन्,’ उनले भने, ‘हामी ५ खरिदकर्ताको हकमा अहिले छानबिन गरिरहेका छौं ।’


छानबिनको प्रक्रिया लम्बिंदै गएको र यसको भित्री तहसम्म पुग्दा स्थिति विकराल रहेको उनले बताए । ‘जसको नाममा फर्म दर्ता छ, उसलाई बुझ्न खोज्दा ऊ कुनै बसको सहचालक वा कसैको फर्ममा काम गर्ने सामान्य कामदार निस्किन्छ,’ उनले भने, ‘पत्याउनै नसकिने व्यक्तिहरू आफूनै फर्मको सञ्चालक हुँ भनी दाबी गर्न आउँछन्, वास्तविक फर्म सञ्चालक पत्ता लगाउन निकै गाह्रो हुन्छ ।’


कार्यालयले नियमित फ्रक्रिया अन्तर्गत बजार अनुगमनसमेत गरी रहेको कोइरालाले बताए । तर यस त्रममा कहिलेकाहीं बाधा विरोध आउने र कर्मचारी उपर अनावश्यक लान्छनासमेत लगाइने गरिएको उनले गुनासो गरे । ‘वीरगन्जमै कतिपटक अनुगमनको क्रममा आफूहरूउपर मोबाइल र पैसा समेत मागेको आरोप लगाइयो,’ उनले भने, ‘बजारमा अनुगमन गर्न जाँदा मान्छे पछि लाग्ने, पत्रकार बोलाएर तस्बिर खिच्न लगाएर हैरान पार्ने, एउटा पसलमा अनुमगन गर्दा अन्य पसले पसल बन्द गरेर भाग्ने जस्ता प्रवृत्ति दोहोरिंदै छ ।’


कार्यालयले करेन्ट इयर अडिट तथा उजुरबाजुर परेमा अनुसन्धानात्मक परीक्षणको कामसमेत गर्दै आएको उनले बताए ।

प्रकाशित : चैत्र ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?