कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चैतमै हिलाम्मे सडक

सामान्य पानीमा पनि चैतमै हिलाम्मे सडकमा सर्वसाधारणलाई हिँड्न समस्या
रवीन्द्र उप्रेती

महोत्तरी — सामान्य असिनापानीले जिल्लाभरका सडक हिलाम्मे भएका छन् । योजना अनुसार समयमै स्तरीय सडक नबन्दा यो समस्या आएको हो । प्रत्येक वर्ष सडक पुनर्निर्माणकै लागि खर्च हुने स्थानीय तहको ठूलो धनराशि ‘बालुवामा पानी’ भएको छ ।

चैतमै हिलाम्मे सडक

सडकको दुरवस्थाका कारण ग्रामीण भेगमा यातायात सेवा ठप्प भएको छ । कृषि उत्पादनलाई बजारसम्म लैजान नपाएकोमा किसान मारमा छन् । आवागमनसमेत अप्ठेरो बनेपछि हिलाम्मे सडकले गाउँको आर्थिक सामाजिक सन्तुलन खलबलिएको स्थानीयले बताएका छन् ।


जिल्लाको विकास बजेटको सबैभन्दा बढी प्रतिशत सडक मर्मत र विस्तारको नाममा खर्च भएको देखिन्छ । तर बर्दिवास नगरपालिकाका केही वडालाई छाडिदिने हो भने जिल्लाभरमा कुनै पनि सडक हिँडन लायक छैनन् ।


स्थानीय सञ्चारकर्मी दिनेश महतोले टिप्पणी गरे, ‘चैतमा हिलाम्मे हुने सडक असार साउनमा झन कस्तो होला ?’ जिल्ला समन्वय समिति प्रमुख सुरेशप्रसाद सिंह सदरमुकाम जलेश्वरकै सडको अवस्थाले सन्तुष्ट देखिँदैनन् । निर्माणाधीन अवस्थामा रहेका ती सडकले सदरमुकामको जनजीवन अस्तव्यस्त पारेको छ । ठेकेदारको लापरबाहीले जनताले पीडा भोग्नु परेको सिंहको आशय थियो ।


‘निर्माणाधीन अवस्थाका सडकमा छोटो समयका लागि असुविधा हुनु स्वाभाविक हो,’ उनले भने, ‘ठेकेदारले भुक्तानी लिएबमोजिमको काम त गरेर देखाउनुपर्छ, जनताले कहिलेसम्म कष्ट उठाउने ?’ उत्तरवर्ती गौशाला नगरपालिकाको सडकको अवस्था पनि उत्तिकै जर्जर छ । पानी जमेको खाल्डाखुल्डीका कारण कतिपय वडामा मोटरबाइक र साइकलसमेत चल्न नसक्ने देखिन्छ ।


असिनापानीका कारण सर्लाही सीमासँग जुटेको वडा नं ७ जमुनियालाई पूर्वी गाउँ भरतपुर र गौशाला नगर कार्यालय जोडने सडक प्रयोगविहीन बनेको छ । ती सडकमा टायर गाडा, ट्रयाक्टर लगायतका ठूला सवारी चल्ने अवस्था छैन । यसले सर्लाहीको पूर्वी गाउँसम्मका बासिन्दालाई आवागमनमा बाधा पुगेको छ ।


गाउँको कृषि उत्पादलाई बजारसम्म पुर्‍याउन कठिन भएको छ । ‘हिलाम्मे सडकको ऐनामा स्थानीय नेताले आफना अनुहार हेरुन,’ स्थानीय रुद्रनारायण सिंहले व्यंग्य कसे, ‘असली रूप छर्लङ्ग हुनेछ ।’ गौशाला नगर प्रमुख शिवनाथ महतोको भनाइमा गत आव (०७४/७५) मा नगरको सडकमा करिब ७ करोड बजेट छुट्ट्याइएको थियो । तर हिलाम्मे सडकले ती बजेटको हिसाब खोजिरहेको उनलाई समेत महसुस गराएको छ ।


‘आउँदो आर्थिक वर्षदेखि सडकको नाममा बजेट छर्ने काम रोकेर ठोस विकास गर्ने योजनामा छौं,’ प्रमुख महतोले भने, ‘अहिलेसम्म कतै नाला र कतै ग्राभेल जस्ता अधुरा काम हुँदै आएको छ अब भने सडक पक्की बनाउने र एकैपटक सम्पन्न गर्ने सोच बनाएर अगि बढने छौं ।’


असिनापानीले भारतीय सीमासंँग जुटेको मटिहानीका सडकलाई पनि नराम्रो गरी गाँजेको छ । दक्षिणका अधिकांश सडक उसै पनि प्रदूषित छन् । उसमाथि वर्षाको पानीले हिलाम्मे सडकमा पैताला राख्ने ठाउँ छैन । फोहोर हिलो गन्हाएर नाक थुनेर हिँड्न स्थानीय बाध्य छन् ।


मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलकाअनुसार नगरभित्रका सडक निर्माणाधीन अवस्थामै पानी परेकाले हिलाम्मे भएका हुन । मटिहानी जनकपुर, सिमरदही, ढेकाहा, धिरापुरलगायत मटिहानी गाउभित्रकै वडा, टोल र सातामा ३ दिन हाट लाग्ने मटिहाी बजार अहिले हिलो र खाल्डाखुल्डीमा जमेको पानीले आवागमन कष्टकर भएको मंडल स्विकारछन् । तर यसो हुनुमा आफूहरू दोषि नभएको उनको जिकिर छ ।


‘हिलाम्मे सडक सवैजसो निर्माणाधीन अवस्थाका हुन्,’ उनले भने, ‘निर्माण सम्पन्न हुनुअगावै परेका बेमौसमी वर्षाले समस्या भएको हो ।’ वर्षाले समसी, सोनमा, रामगोपालपुर, पिपरा, बलवा, लोहरपट्टी, भंगाहासीतापुर, औरहीलगाएत जिल्लाभरका ग्रामिण सडकको अवस्था जर्जर बनेको छ ।


‘राज्य होस वा स्थानिय नेता अवसर हेरेर यिनै सडकलाई चुनावी मुद्दा बनाउँछन ्, भोट माग्छन्, ‘जितेर पनि जान्छन र जनभावनासँग खेलवाड गर्दै आएका छन्’ गाउँको हिलाम्मे सडक देखाउदे जमुनियाकी आशादेवीले आक्रोश पोखिन् ।

प्रकाशित : चैत्र ३०, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?