कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै फलाम पसल

शिव पुरी

रौतहट — चन्द्रपुरका सडकमा बिहानैदेखि फलामका सामान बेच्नेको ताँती लाग्छ । फिरन्तेले सडकमै ‘आरन’ थापेर बनाएको फलामका सामान बेच्न पसलै राखेका हुन्छन् । बजारभन्दा सस्तोमा पाइने फलामे औजार किन्न ग्राहकको भीड लाग्छ । 

सडकमै फलाम पसल

भारतको राजस्थानबाट आएका समूहले सडकमा ‘आरन’ थापेर फलामका सामान बनाएर बिक्री गरेका हुन् । कृषिका लागि चाहिने सामान भनेजस्तो बनाइदिने हुनाले यसको बिक्री बढेको हो । बन्चरो, चुलेसी, कुखुरी, हँसिया, कोदालो, मासु काट्ने हतियारलगायत फलामका सामान एकै छिनमा तयार पारी बिक्री गर्छन् । यिनै सामान बजारमा प्रतिकिलो ५/७ सयसम्म पर्छ । सडक पसलमा भने ३ सय ५० देखी ४ सयसम्ममा पाइन्छ ।


सस्तो र बलियो हुनाले धेरैले बजारमा छाडेर यहींबाट लैजाने गरेको राजस्थानका सन्तोष सिंहले बताए । २७ वर्षीय यी युवाको जोस कम छैन । उनी ५ वर्षयता लगातार नेपाल आउने गरेका छन् । बुवा करण सिंह लामो समय यही पेसामा थिए । नेपालप्रति उनीहरूको माया रहेको सन्तोषले सुनाए । पछिल्लो समय यही पेसामा संलग्न उनको गाउँबाट ५ सयको हाराहारीमा नेपालका विभिन्न ठाउँमा सामान बेच्न आएको सन्तोषले सुनाए ।


‘नेपालीहरू आँखाले देखेको कुरामा बढी विश्वास गर्दा रहेछन्,’ उनले भने, ‘आँखै अघि बनाएर दिएपछि मख्ख परेर किन्छन् ।’ पुरुषहरू सामान बनाउन ब्यस्त हुन्छन् । महिला आरन चलाउन र सामान बिक्री गर्नमा सहयोग गर्छन् । उनीहरू प्रायः एकै परिवारका हुन्छन् । सामान बनाउने स्थानमै कसैले टेन्ट गाडेर बस्छन् । त्यहीं सुत्छन् ।


उनीहरूको यहाँ न घर छ न बस्ने कुनै ठाउँ । सडक छेउ, पोखरी, नहरको डिल हेरेर त्रिपाल टाँगेर रात बिताउँछन् । उनीहरूलाई गाउँघरमा फिरन्ते भन्छन् । गाउँघर, बजार, सहरका सडक छेउमा आरन चलाएर समान बनाउँछन् । त्यही पसल थापेर बिक्री गर्छन् ।

उनीहरू छोराछोरीसहित परिबारको साथ आउँछन् । महिला पुरुष दुवै मिलेर सडकमै समान बिक्री गर्छन् । आरन चलाएर सामान बनाएको हेर्नेको भीड लाग्छ । एकै छिनमा फलामका सामान बनाएर सबैलाई छक्क पारिदिन्छन् । उनीहरूले बनाएका सामानको बनावट निकै राम्रो हुन्छ । सस्तो पनि हुने हुँदा मानिस बजार छाडेर फुटपाथमै आउँछन् ।


चन्द्रपुर ६ मोथियाहीका रामचन्द्र चौधरीले बजार भाउभन्दा निकै सस्तो र राम्रो बनावट भएकाले मासु काट्ने गरास किनेको बताए । ‘हेर्दै किनौं किनौं लाग्ने गरी बनाएको हुन्छ,’ उनले भने, ‘फलाम पनि राम्रो खालको र आँखैअघि बनाउने हुँदा जोकोहीले खरिद गर्छन् ।’


उनीहरू स्थानीय कबाडबाट फलाम खरिद गर्छन् । एक दिनमा २० हजारसम्मको बिक्री गरेको सन्तोषले सुनाए । उनी ३ छोरा, एक छोरीको परिवारसहित नेपाल आएका छन् । उनीहरूको पुस्ताले यही फलाम बेच्ने गरेको थियो । राजस्थानमा घरबाहेक जग्गा जमिन नभएकाले फलाम पेसाले जीवन धानको कुलदिप सिंहले बताए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?