कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलहेस सम्झनामा गोष्ठी–‘दलितको छुट्टै निर्वाचन मण्डल’

सिरहा — वर्णमा विभेद भएसम्म समाजवाद आउन समस्या हुने भएकाले वर्ण विभेदविरुद्ध अग्रसर हुन सरोकारवालाले औल्याएका छन् । उनीहरूले विचारमा राजनीतिक संघर्ष, वर्गीय संघर्षको सफलताले मात्र समाजवाद आउन नसक्ने बताएका छन् ।

राजा सलहेस, दिनाभद्री र अम्बेडकरको जन्मजयन्ती अवसरमा लहानमा आयोजित ‘नेपालमा दलित आन्दोलनको दशा र दिशा’ विषयक विचार गोष्ठीमा सरोकारवालाले यस्तो औंल्याएका हुन् । समाजवादी चिन्तक एवं सिरहा १ का प्रतिनिधिसभा सदस्य प्रदीप गिरिले नेपालमा समाजवाद ल्याउन दलितको छुट्टै निर्वाचन मण्डल आवश्यक रहेको बताए । उनले सलहेस भूमिबाट आजकै मितिले संविधान निर्मातासँग आफ्नो माग रहेको उद्घोष गरेका छन् ।


सलहेसको सम्झनामा आयोजित गोष्ठीमा सांसद गिरीले अहिलेको निर्वाचन प्रणालीले दलितहरूले प्रतिनिधिसभा वा प्रान्तीय सभामा पाउने सिट नेताहरूको निगाहबाट उनीहरूको समर्थक, अन्धभक्तले मात्र पाउने गरेकाले दलितबारे ठोस काम हुन नसकेको समेत दाबी गरे ।


‘कोही प्रचण्डका, कोही ओलीका त कोही देउवाको आशिर्वाद पाउनेमात्र दलित कोटामा सांसद भएकाछन्,’ गिरीले भने, ‘यस्तै कृपाबाट पद पाउने परिपाटीलाई तोडन अम्बेडकरले भारतमा मागेजस्तै नेपालमा पनि दलितबीचको छुट्टै निर्वाचन मण्डली बनाउनुपर्छ ।’


देशभरका कुल १४–१५ प्रतिशत दलितले मात्र भोट हाल्नेगरी दलितबीच प्रतिस्पर्धा गराएर सांसद बनाउने विधि अहिलेको आवश्यकता भएको उनको तर्क थियो ।


लहान नगरपालिकाको पडरिया र सिसवनीस्थित सहलेस फूलबारी हो । यो स्थान चौधौं शताव्दीका प्रतापी राजा सलहेसको थान हो । उनी मूलतः दुसाध जातिका कुल देवता मानिने भए पनि सबै जातजातिका लागि पूजनिय भएकाले वर्षको एक दिन फूलवारीले सहभागितामा आफ्नो नाउँलाई सार्थक पार्छ । फूलबारीमा रमणीय वन क्षेत्रको अवलोकन गर्न र मनोरन्जन लिन वर्षैभरि पर्यटक आइरहन्छन् ।


फूलवारी क्षेत्र धार्मिक पर्यटकीय स्थलसँगै पिकनिक स्पर्टमा समेत विकास भएको छ । अझ वर्षको एक दिन वैशाख १ गतेमात्रै फुल्ने फूल हेर्न आउनेको भीडले यहाँ धार्मिक पर्यटनको मजा लिन्छन् नै, मेलाको रमाइलो पनि अनुभव गर्न पाइन्छ ।


यहाँका लोकनाचहरूमा राजा सलहेसको वर्णन र गीत अनि लोकगाथामा उनका पराक्रमको वर्णन गरिएको पाइन्छ । मिथिला संस्कृतिका लोकगाथाका नायकमा सलहेसको नाम अग्रणी छ । मिथिला समाजमा सलहेसको गाथा गीत तथा नृत्य प्रशस्त छन् । व्यापारिक केन्द्र लहान बजारदेखि चार किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गअन्तर्गत पडरिया चोकको दक्षिणमा अवस्थित ऐतिहासिक तथा धार्मिक फूलबारीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट फूलवारीको अवलोकन गर्न आगन्तुक आइपुग्छन ।


चुरे क्षेत्रमा हराउँदै गएका वनस्पतिका रूख भएको यो क्षेत्रमा सलहेसको मन्दिर छ । सलहेस एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिल्हट अखडामा कुस्ती खेल्ने, सलहेशगढमा कुलदेवीको पूजा गर्ने र प्रजाको पीरमर्का सुन्ने गरेको किम्वदन्ती छन् । विस. १३२५ मा सिरहाको महिसोथा राज्यको राजा सलहेस र उनकी प्रेयसी मालिनी बीचको प्रेम विवाहका लागि प्रसिद्ध सलहेस फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वास पनि छ ।


जसरी नेपालमा पहिले स्नातक तहका शिक्षितबाट भोट हाल्ने गरी सांसद बनाउने निर्वाचन प्रणाली थियो त्यसैगरी दलितले मात्र भोट हाल्ने गरी निर्वाचन गर्ने प्रणाली बनाउन संविधान, कानुन बनाउन निकायलाई गिरीले अनुरोध समेत गरेका छन् ।


नेपालको संविधानमा धेरै त्रुटि भएको र संविधानमा दलितका लागि गरिएको व्यवस्थालाई कार्यान्वयन गर्न कानुनको आवश्यकता रहेकाले ती पनि तोडमोड गरी दलित हितविपरीत बन्न लागेको उनले संकेत गरे । दलितले अहिलेसम्मको उपलब्धिलाई संस्थागत गर्दै नयाँ ढंगले संगठित भएर शिक्षा, संगठन र अभियानका कुरालाई रणनीति बनाएर अघि बढ्नुपर्ने वक्ताहरूले औंल्याएका छन् ।


उनीहरूले सलहेस र दिनाभद्रीको भूमिबाटै दलितको लागि छुट्टै निर्वाचन मण्डल बनाउन माग गरेका छन् । कार्यक्रमका सहभागीले सम्पूर्ण दलितलाई देशभर नयाँ वर्षको सुरुवातबाटै यसका लागि विचार विमर्श अघि बढाउन, अभियान चलाउन सुझाएका थिए । कार्यक्रममा राष्ट्रियसभाका पूर्वउपाध्यक्ष रामपृत पासवान, पूर्वसांसद असर्फी सदा, भोला पासमान र दलित अभियन्ता विनोद विसुन्केले दलितका लागि छुटै निर्वाचन मण्डलको अभियान चलाउने बताएका थिए ।

प्रकाशित : वैशाख २, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?