कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाला निकासी घट्यो 

पर्सा — वीरगन्ज नाकाबाट राँगा तथा बाख्राको अर्धप्रशोधित छालाको निकासी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा 
चालु वर्ष सोही अवधिमा यी वस्तुको निकासीमा ह्रास आएको हो । 

चालु आवमा पशुपक्षीको दानामा मिसाउने वनस्पतिबाट बनाइएको पोषणयुक्त पदार्थ र भैंसीको हड्डीको धूलोको निकासी हुन सुरु भएको छ । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जको तथ्यांकअनुसार चालु वर्षको चैतसम्ममा यो नाका हुँदै भारततर्फ राँगाको अर्धप्रशोधित छाला ८६ हजार ८९ दशमलव ६ वर्गमिटर निकासी भएको छ ।


गत आवको यसै अवधिमा यहाँबाट १ लाख ३३ हजार ३० दशमलव २७ वर्गमिटर भारत निकासी भएको थियो । क्वारेन्टाइन कार्यालय प्रमुख डा. हरेराम यादवले अनुमति लिई निकासी गरिने सबै छाला प्रशोधित हुने गरेको र निकासी अघि क्वारेन्टाइन कार्यालयको अनुमति आवश्यक पर्ने बताए ।


सरकारले स्वदेशी छाला उद्योगको संरक्षण गर्न काँचो छाला निकासीमा रोक लगाएको छ । त्यसैगरी चालु आवको चैत मसान्तसम्म यो नाका भएर १७ हजार ७५ वर्गमिटर खसी बाख्राको अर्धप्रशोधित छाला निकासी भएको छ । गत आवको यसै अवधिमा २५ हजार ५ सय ६८ दशमलव ५४ वर्गमिटर यस्तो छाला निकासी भएको थियो ।


छाला निकासीकर्ता उद्योगहरूमा करिडोरका नारायणी, नेपाल लेदर, मरियम, ग्लोबल, नेसनल, जिङ्फ्याङ र प्रोगेसिभ छाला उद्योग छन् । यी सबै पर्सा बारा करिडोरकै उद्योग हुन् । यो नाकाबाट निकासी हुने अधिकांश छाला भारतको कोेलकाता, कानपुरलगायत सहरका विभिन्न उद्योगमा पुर्‍याइन्छ । कहिलेकाहीं थोरै परिमाणमा छाला चीन पनि निकासी हुने गरेको छ ।


नेपाली छाला गुणस्तरीय हुने भएकाले भारतमा यसको राम्रो माग छ । नेपाली छालाबाट जुत्ता, पञ्जा, पेटी, पर्स, ज्याकेट आदि बनाइन्छ । भारतीय उद्योगले नेपाली छाला प्रयोग गरी उत्पादन गरेका यस्ता वस्तु तेस्रो मुलुकतर्फ निकासीसमेत गर्छन् । निकासी घट्नुमा वस्तुको माग घट्नु नै मुख्य कारण हुन सक्ने यादवको बुझाइ छ ।


वीरगन्ज नाकाबाट चालु वर्षदेखि कुखुराको दानामा प्रयोग गरिने वनस्पतिबाट बनाइने पोषिलो पदार्थ र हड्डीको धूलो पनि निकासी भइरहेको क्वारेन्टाइन प्रमुख यादव बताउँछन् । यस अवधिमा ७ सय ५७ दशमलव ५ मेटन पोषिलो वस्तु र १ सय ३२ मेटन हड्डीको धूलो भारत निकासी भएको उनले बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?