कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपमहानगरको राजस्व ६ करोड

जनकपुर — बाक्लो जनघनत्व भएको जनकपुरधाम उपमहानगरपालिकाले यस वर्ष ६ करोड १६ लाख रुपैयाँ राजस्व असुली गरेको छ । उपमहानगरले दोस्रो चौमासिक अवधिमा राजस्व असुली लक्ष्यनजिक पुगेको जनाएको छ ।

जनकपुर उपमहानगरपालिकाको मुख्य आम्दानी स्रोत माछापालन हो । यसवर्ष मातहतका पोखरीमा माछापालनबाट ६३ लाख रुपैयाँ असुली गर्ने लक्ष्य रहेकोमा ५० लाख उठेको राजश्व शाखा प्रमुख प्रमेश झाले बताए । उनका अनुसार माछापालन व्यवसायीले माछापोखरी ठेक्का लिएबापत वर्षान्तमा शतप्रतिशत रकम बुझाउने गर्छन् ।


जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा आयस्रोतको रुपमा ३६ वटा माछा पोखरी छन् । ती पोखरीबाट ठेक्का प्रक्रियामा बढाबढबाट ५ वर्षका लागि ठेक्का दिने गरेको छ । हरेक वर्ष किस्ता बुझाउने गरी पोखरीको क्षमताअनुसार विभिन्न दरमा ठेक्का लगाएको थियो । यी पोखरीमा ठेकेदारले वार्षिक एक करोडभन्दा बढी माछा पाल्ने गरेका छन् ।


पोखरीका ठेकेदारले भने वार्षिक रुपमा किस्ता बुझाउँछन् । जनकपुरमा गुठी संस्थान, मठमन्दिर, विद्यालय, क्याम्पस, क्लब, समुदाय, संघसंस्थाको आ–आफ्नै पोखरी छन् । विगतमा तत्कालीन गाविस मातहतमा रहेका पोखरीको छुट्टै आम्दानी वडा समितिले व्यवस्थापन गर्दै आएका छन् ।


निजी माछा फर्म दर्ता नगरी गाउँगाउँ र टोलटोलमा व्यावसायिक माछापालन गर्दै आएका छन् । उनीहरूको लेखाजोखा गरिँदैन ।

उनीहरूले व्यावसायिक कर बुझाउनुपर्ने भए पनि राजश्व तिर्दैनन् । निजी फर्मबाट राजश्व असुली नहुँदा उपमहानगरपालिकालाई नोक्सान भइरहेको शाखा प्रमुख झाले बताए ।


यसबाहेक ठेक्का कर, व्यावसायिक कर, सम्पत्ति कर, घरबहाल कर, सेवा शुल्क उपमहानगरपालिको आम्दानी हुन् । चालू वर्षका लागि उपमहानगरले ८ करोड ८ लाख ७० हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य रहेकामा ६ करोड १६ लाख ९७ हजार संकलन भएको जनाएको छ ।

प्रकाशित : वैशाख ७, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?