कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाबाट पहिचानको खोजी

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित रानीसती अतिथि सदनको हलको भित्तामा झुन्डिएको एउटा चित्रमा ७५ का जस्ता देखिने एक वृद्ध नागरिकता बोकेर उभिएका छन्  । अर्को तस्बिरमा सर्लाहीका एक मुसहर वृद्ध एक वृद्ध नागरिकता बोकेर उभिएका छन्  ।

अर्को तस्बिरमा देखिने दबंग शैलीका नेता मतपेटिका अगाडि हात जोडेर उभिएका छन् । मतपेटिकामा मतदातापत्रको साटो नोटको बिटो देखिन्छ ।


हरिओमले तराई मधेस त्यसमा पनि प्रदेश २ को समाज, इतिहास, ऐतिहासिक स्थल, बाढी, भारतले सीमामा बाँधेको बाँधले उब्जाएका समस्या र डुबान, चुनावी गतिविधि, भूमिहीनका पीडा चित्रमा समेटेका छन् । प्रदर्शनी हेर्न स्थानीय स्कुले बालबालिकादेखि वृद्धवृद्धा समेत आई पुगेका थिए ।

सप्तरी हनुमाननगरका स्थाई बासिन्दा ३३ वर्षीय मेहताको 'लयात्मक अस्तित्व' नामक यो चित्रकला यात्रा २०७५ पुस ११ गते राजधानीबाट सुरु भएको थियो । त्यहाँ १० दिनसम्म उनको प्रदर्शनी चलेको थियो । जनकपुरमा चैत २४ देखि २६ सम्म, विराटनगरमा चैत ३० देखि वैशाख २ सम्म र हाल वीरगन्जमा वैशाख १५ देखि मंगलबारसम्म चलेर यात्राले बिट मारेको छ ।


त्रिभुवन विश्वविद्यालयबाट चित्रकलामा स्नातकोत्तर गरेका हरिओमलाई राजधानी बसाईको क्रममा पटक-पटक भएको दुव्र्यवहारले कला क्षेत्रमा अझ गम्भीर भएर लाग्न प्रेरित गर्‍यो । 'मलाई पटक-पटक तिमी कहाँबाट आएका हौं भनी सोधियो, त्यही प्रश्न तराईका मेरा गोरा वर्णका साथीहरूलाई भने सोधिन्थेन,' उनले भने, 'यस्तो प्रश्नले मलाई आफ्नै अस्तित्व खोज्न प्रेरित गर्‍यो, अनि म विदेह राज्य, सिम्रौनगढ राज्य, धनुषाको मुखियापट्टी, सप्तरीको कनकपट्टी, सिराहाको खप्टेडाँडामा भेटिने ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको खोजीमा तल्लीन भएँ ।'


पुरातत्त्व विभागमा ती स्थलबाट ८ सय ९ सय वर्षदेखि १० हजार वर्षसम्म पुराना वस्तुहरू फेला परेको जानकारी पाएपछि आफूलाई पहिचान झल्किने चित्र बनाउने प्रेरणा मिलेको उनी बताउँछन् । 'वास्तविक मानव सभ्यताको इतिहासलाई प्रकाशमा ल्याउनु मेरो प्रदर्शनीको उद्देश्य हो, सभ्यता समय-समयमा उत्थान र पतन हुँदै आएका छन्,' उनले भने, 'तसर्थ मैले मेरो देश र मेरा पुर्खाको इतिहासलाई प्रस्तुत गर्ने कोसिस गरेको छु ।'


केही कलापारखीले चित्र बुक गरेको उनले बताए । हामी नेपाली अरु देशको इतिहास पढ्ने तर आफ्नै देशको समृद्ध इतिहास पुरातत्त्व विभागको एउटा कुनामा थन्किनु गलत भएको उनको तर्क छ । 'हामी हाम्रै देशको समृद्ध इतिहासको प्रचारप्रसार गर्न समेत पछि परेका छौं,' उनी भन्छन्, 'देशका ७ वटै प्रदेशका इतिहास र कला झल्किने खालको अध्ययन, अनुसन्धान र कलाको विकासको आवश्यकता छ ।'

प्रकाशित : वैशाख १८, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?