कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्सेनि सडकमै लगानी

ओमप्रकाश ठाकुर

सर्लाही — समय र व्यवस्था फेरियो तर फेरिएन मानसिकता । यहाँ वर्षौंदेखि सबैभन्दा बढी बजेट सडकमै खन्याउने गरिएको छ । सडकमा धुलाम्य र हिलाम्यको समस्या भने टरेकै छैन । सडक प्राथमिकता मै राखिएपछि नागरिकलाई हिउदमा धुलो र वषर्ामा हिलोमा आहोरदोहोर गर्ने समस्या छ । 

तत्कालिन जिल्ला विकास समिति र गाउँविकास समिति मार्फत सडकमै लगानी हुँदै आएको थियो । प्रत्येक वर्ष सडकमै लगानी भएपनि नागरिकले गतिलो सडकको अनुभुति गर्न पाएका छैनन् । अहिले ब्यवस्था फेरिएर स्थानीय सरकार आएपनि निर्वाचित जनप्रतिनिधिले उत्पादन मुलक काम भन्दा पुरानै परम्परालाई निरन्तरता दिएको पाइएको छ । यहाँका अधिकांश स्थानीय तहले उत्पादन मुलक योजना छनौट नै गरेको पाइँदैन ।


जनप्रतिनिधिले बजेट सक्नलाई सडक तथा उत्पादन नहुने किसिमका योजनामा खर्च गरिरहेको स्थानीयहरू बताउँछन् । उत्पादन हुने योजनाले नागरिकलाई दिगो विकास दिने भएपनि जनप्रतिनिधिले त्यसमा लगानी गर्न नखोजेको नागरिक समाजका अध्यक्ष उग्रकान्त झाले बताए ।


'स्थानीय स्तरमा उत्पादनमुलक योजना ल्याउनु पर्छ भनेर अहिलेको जनप्रतिनिधिमा सोंच नै छैन, पुरानै शैलीमा विकास निर्माणको परम्परालाइ अंगालेको छ,' उनले भने, 'समय र ब्यवस्था फेरिएपनि जनप्रतिनिधिको सोंच नफेरिएकाले उत्पादनमुलक योजनामा ध्यान नै गएको छैन ।' उनले अहिलेका जनप्रतिनिधि एउटै सडकमा कहिले माटो हाल्ने, कहिले ग्राभेल हाल्ने त कहिले नाला निर्माणको काममा जोड दिने गरेको बताए ।


जिल्लामा सर्वाधिक चर्चाको सडक सलेमपुर-हिरापुर पनि हो । यो सडकमा दुई दशक देखि बर्षेनी मर्मतको नाममा लाखौं खर्च हुँदै आएको छ । उपभोक्ता समिति बनाएर सडक मर्मतको काम बर्षेनी हुन्छ तर त्यो कागजमा मात्र सिमित हुन्छ । यो सडक अहिले पनि जिर्ण नै छ । सामान्य पानी पर्दा गाडी चल्न सक्ने अवस्था हुँदैन भने हिउँदमा बुङबुङ धुलोले स्थानीय हैरान हुने गरेका छन् ।


बागमती नगरपालिकाले यो दुई आर्थिक वर्षमा सडकमै मात्र ३२ करोड रुपैयाँ खर्चिसकेको छ । नगरले करिव २ सय किलोमिटर सडकमा ग्राभेल गरेको जनाएको छ । बागमतीले अघिल्लो वर्ष सडक मर्मतमा १९ करोड खर्चेको थियो भने यस वर्ष पनि १३ करोड सडक मर्मतमै खर्च भइरहेको नगरपालिकाको योजना शाखा प्रमुख सुजन वडालले जनाए ।

प्रकाशित : वैशाख २१, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?