कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै बनेन सडक

ओमप्रकाश ठाकुर

सर्लाही — पूर्व-पश्चिम राजमार्गदेखि सदरमुकाम मलंगवा जोड्ने मुख्य सडक कालोपत्रे गर्न पटकपटक म्याद थपिए पनि कालोपत्रेको काम भने सकिएको छैन । सडक कालोपत्रे नहुँदा स्थानीय धुलोले सास्ती खेप्न बाध्य छन् ।

नवलपुर-मलंगवा सडक २०५६ सालमा पहिलो पटक एक लेन मात्र कालोपत्रे भयो । तर त्यो कालोपत्रे लामो समय टिक्न सकेन ५ वर्षमै भत्कियो । सडक भत्केपछि स्थानीयले सास्ती खेप्न थाले । २०६८ सालमा भारतीय सरकारको सहयोगमा उतैको ठेकेदारले सडक कालोपत्रे गर्न ठेक्का पाए । २०६९ वैशाखमा तत्कालीन भारतीय राजदूतले कालोपत्रेको सुरुवात समेत गरे । तर, ठेकेदारले कामै नगरी सम्झौता अवधि गुजारेर फरार भए ।


भारतीय ठेकेदार फरार बनेपछि २०७३ सालमा नेपाल सरकारले पुनः सडक कालोपत्रे गर्न दुई चरणमा ठेक्का लगायो । नवलपुरदेखि गैरसम्म र गैरदेखि मलंगवासम्म दुई खण्डमा छुट्टाछुट्टै कम्पनीले निर्माणको जिम्मा लिएका छन् । कालोपत्रेसहित सडक निर्माण सक्ने सम्झौता गत भदौ मसान्तमै सकिसकेको छ ।


समयमा काम हुन नसकेपछि सम्बद्ध कार्यालयले पुनः मंसिर १५ गतेसम्म म्याद थपेको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि सडक कालोपत्रे भएन । त्यसयता सडकको काम पूर्णरूपमा ठप्प छ । म्याद पनि थपिएको छैन । ठेकेदारले मंसिरमै तापक्रम नपुगेर छोडेको काम वैशाख सकिन लाग्दा पनि सुरु नै गरेको छैन । यसरी ठेकेदारले ठेक्का कवोल गर्ने तर समय मात्र गुजार्ने गरेका छन् जसका कारण सडकको काम अलपत्र बनेको छ ।


२०७३ सालमा दुई चरणमा ठेक्का लागेको नवलपुर- मलंगवा २६ किलोमिटर सडकअन्तर्गत पहिलो चरणको ठेक्कामा नवलपुर चोकदेखि हरिपुरसम्मको केही भाग कालोपत्रे भएको छ । तर पूर्णरूपमा कालोपत्रे भएको छैन । हरिपुरदेखि लक्ष्मीपुरसम्मको सडकमा पहिलो चरणको बेस बनाउने काम मात्र भएको छ ।


लक्ष्मीपुरदेखि सिर्सिया सम्मको सडकमा ठेकेदारले कामै सुरु गरेको छैन । पहिलो चरणको यो सडक हिम्दुङ एन्ड थोकर/हिरा एन्ड नमिता जेभी काठमाडौंले ठेक्का लिएको छ । भन्डै ५ किलोमिटर सडकमा ठेकेदारले कामै नगर्दा सडक छेउछाउका बस्तीनै ढाक्ने गरी धुलो उड्ने गरेको छ । जसका कारण स्थानीयवासी र यात्रु धुलोको मार खेप्दै आएका छन् । 'ठेक्का कवोल गर्ने तर काम नगर्ने ठेकेदारको लापारबाहीका कारण सडक कालोपत्रे हुन सकेको छैन,' हरिपुर नगरपालिका-३, फरहदवाका रामनरेश महतोले भने, 'हाम्रो दैनिकी धुलोमय बन्दा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।'


यस्तै उक्त सडकको दोस्रो चरणको ठेक्का सुस्त गतिमा भए पनि काम भइरहेको छ । उसले अन्तिम चरणको कालोपत्रेको काम गर्न बाँकी छ । दोस्रो चरणको यो सडक रमण/आश्रय जेभी काठमाडौंले ठेक्का लिएको छ ।


सडक निर्माणको कामलाई गतिदिन ठेकेदारलाई ताकेता गर्दै काम नगरे ठेक्का तोड्ने सूचना निकालेपछि ठेकेदारले एक दुई दिनभित्रमा काम सुरु गर्न सहमत भएको हुलाकी सडक आयोजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । 'लामो समयदेखि सडकको काम सक्न ठेकेदारलाई ताकेता गरिरहेका थियौं, तर ठेकेदारले काम नै सुरु गरेनन्, बाध्य भएर हामी ठेक्का तोड्ने भनेर सूचना निकाल्यौं, अब उनीहरूले काम सुरु गर्ने भनेर जानकारी दिएका छन्,' उनले भने, 'अबको एक दुई दिनमै सडकको कालोपत्रेको काम सुरु हुन्छ ।'

प्रकाशित : वैशाख २६, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?