कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोलार बत्ती असफल

शंकर आचार्य

पर्सा — वातावरणीय प्रदूषणले प्यानलमा खराबी ल्याउने र नियमित मर्मत सम्भार नहुँदा वीरगन्ज महानगरमा सोलार बत्ती अभियान असफल हुँदै छ । महानगरका गल्लीहरू उज्यालो बनाउन आर्थिक बर्ष ०७२/७३ देखि यो अभियान सुरु गरिएको थियो । 

सोलार बत्ती असफल

पहिलो वर्ष महानगरका बिभिन्न क्षेत्रमा कुल ५ सय ५९ र दोश्रो बर्ष १ सय ७३ गरी कुल ७ सय ३२ सोलार बत्ती जडान गरिएको थियो । तर ठेकेदार कम्पनीले त्यसपछि बत्तीको नियमित मर्मत सम्भार नगरेकाले तीमध्ये कतिपय बत्ती नबल्ने, बली हाले पनि केही घण्टाको लागि मात्र बल्ने जस्ता समस्या देखिएका छन् । कतिपय पोल बांगिएर लडेका पनि छन् ।


राजधानीको बालुवाटारस्थित सन पावर प्रालि बत्ती जडान गर्ने ठेकेदार कम्पनी हो । वीरगन्ज महानगरसंग उक्त कम्पनीले गरेको सम्झौता अनुसार, उसले ३ बर्ष सम्म सोलार बत्तिको मर्मत सम्भार गर्नुपर्छ । त्यसमध्ये पहिलो २ वर्ष निःशुल्क र १ वर्ष सशुल्क मर्मत सम्भार गर्नु पर्ने छ । तर ठेकेदारले पहिलो २ वर्ष निःशुल्क मर्मत सम्भार गर्ने अवधि आलटाल गरेरै सक्याएको थियो ।


४ वर्षअघि महानगरका बिभिन्न टोलहरूमा उपभोक्ता समिति मार्फत सोलार बत्ति जडान गर्ने लहर नै चलेको थियो । ग्रिनसिटी आदर्शनगर उपभोक्ता समिति, पानीटंकी उपभोक्ता समिति, चिनीमिल उपभोक्ता समिति, शान्तिटोल उपभोक्ता समिति, भन्सार सौर्य बत्ति उपभोक्ता समिति, तेजारथटोल उपभोक्ता समिति, मुर्ली टोल उपभोक्ता समिति, बहुअरी उपभोक्ता समिति, शिरोमणि नगर विकास समिति आदिले आआफ्नो टोलमा सोलार बत्ती बालेका थिए ।


यसका साथै संस्थागत रुपमा पनि नारायणी उपक्षेत्रिय अस्पताल, वीरगन्ज उद्योग वाणिज्य संघ, वीरगन्ज कारागार लगायतकाले पनि सोलार बत्ती जडान गरेका थिए । त्यति बेला उपभोक्ता समितिलाई सरकारले महानगरपालिकाको कार्यालय मार्फत सहुलियत दरमा पोल सहितको सोलार बत्ती उपलब्ध गराएको थियो ।


प्रत्येक सोलार बत्ती पोलको ९७ हजार २६ रुपैयाँ ५० पैसा लागत रहेकोमा त्यसमा सरकारले ६५, मनपाको कार्यालयले २० र उपभोक्ताले १५ प्रतिशत रकमको दायित्व बहन गरेका छन् । यसरी उपभोक्तालाई प्रत्येक पोलको करीब १५ हजार रुपैया मात्र लागत पर्न गएकाले टोलटोलमा सस्तो र सहुलियत दरमा उपलब्ध सौर्य बत्ती पोल जडान गर्ने लहर चलेको थियो ।


वीरगन्ज महानगरपालिकाको कार्यालयका इलेक्ट्रिक इन्जिनियर सुरेन्द्रप्रसाद साहले कूल सोलार बत्तीमध्ये करीब १ सय ५० मा समस्या देखिएको बताए । तर ठेकेदार कम्पनीका प्राविधिकले विहिबार देखि बिग्रीएका बत्तिको मर्मत सम्भार थालेकाले केही दिनभित्रै सबै बत्ती दुरुस्त हुने उनले दाबी गरे ।


तराईका गाउ सहरहरूमा अत्यधिक धुलो उड्ने र सोलार प्यानलहरूमा गएर बस्ने गरेको छ । ती प्यानलको नियमित सरसफाई गर्न सम्भव नरहेको उनले बताए । ‘नियमित सरसफाइ गरी राख्न सम्भव छैन, प्यानलमा धुलो लागिराख्छ,’ उनले भने, ‘सोलार बत्ति तराईमा हैन प्रदुषण नहुने पहाडी र हिमाली भेगमा बढी सफल हुन्छ ।’

प्रकाशित : वैशाख २८, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?