कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महायज्ञ सकियो, काम रोकियो

शंकर आचार्य

पर्सा — अश्वमेध महायज्ञको समयमा जोडतोडका साथ सुरु गरिएको वीरगन्ज महानगरको आदर्शनगर क्षेत्रमा कालोपत्रे सडक तथा 
फुटपाथ निर्माणको काम अहिले ठेकेदार कम्पनीले बीचमै अधुरो छोडेको स्थानीयले गुनासो गरेका छन् । 

ग्रिन सिटी सामुदायिक संस्थाका अध्यक्ष एवम् व्यवस्थित वीरगन्ज अभियानका सहसंयोजक जयप्रकाश खेतानले ठेकेदार कम्पनीले बीचमै काम छोड्दा आवागमनमा समस्या भएको बताए । ‘केही सडक कालोपत्रे गरिएको छ, केहीको काम अधुरै छोडिएको छ,’ उनले भने, ‘किन यसो गरिएको हो बुझ्नै सकिएन ।’ उनले काम अधुरो छोडिएको सडक खण्डमा बटुवालाई बढी समस्या भएको बताए ।


३ देखि ६ मार्च सम्म आदर्शनगर रंगशालामा आयोजित महायज्ञलाई लक्षित गरी ठेकेदार कम्पनी महावीर कन्सट्रक्सन र कालिका कन्सट्रक्शनले रातारात त्यस क्षेत्रको केही सडक कालोपत्रे गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले महानगरका बिभिन्न स्थानमा कालोपत्रे सडक र सडक पेटी निर्माण गर्न लागेको छ ।


७० करोड रुपैयाको लागतमा महानगरका बिभिन्न वडामा गरी १३ वटा खण्डमा कालोपत्रे सडक, इन्टर लकिंग टायल सहितको फुटपाथ र स्टिल रेलिग हाल्ने योजना छ ।


छपकैंया देखि भन्सार सडक, लक्ष्मणवा नहर देखि हाइ वे, मेडिकल कलेज देखि हाट बजार, मेडिकल कलेजदेखि नगवा टोल, मेडिकल कलेजदेखि पूर्वतर्फ पुल, भन्सारदेखि नगवा, मेडिकल कलेज देखि त्रिशुल चोक, रानिघाट देखि घण्टाघर, आदर्शनगर क्षेत्रको विभिन्न स्थानमा निर्माण कार्य गर्ने योजना छ ।


आयोजनाका इन्जिनियर एवम् सूचना अधिकृत अमरेन्द्र कुमार झाले ठेकेदार कम्पनीको सेड्युलमै यस बर्ष काम नपरेकाले पनि कामले गति नलिएको हुन सक्ने बताए । उनले यस बर्ष कुल १३ मध्ये ५ खण्डमा मात्रै ठेकेदार कम्पनीले हात हालेको बाँकी ८ वटामा कामनै सुरु नभएको बताए । झाका अनुसार, समग्रमा महानगरमा कूल २२ किमी कालोपत्रे सडक, सडकसँगै पेटी र पेटीमा रेलिङ हाल्ने योजना छ । नाला आवश्यक भएका स्थानहरूमा नाला समेत बनाइने छ । आदर्शनगरभित्र र सेरोफेरोको समेत गरी ५ दशमलव ६ किमी कालोपत्रे सडक र पेटी निर्माण गर्न लागिएको छ ।


ठेकेदार कम्पनी महावीर कन्स्ट्रक्सनका व्यवस्थापक अनिल गुप्ताले आदर्शनगरको हकमा यस वर्ष कम्पनीको सेड्युलमै काम नपरेको बताए । ‘महायज्ञ हुने भएकाले मेयर बिजय सरावगीको आग्रहमा हामीले आउँदो वर्षको सेड्युलको काम पनि यसै वर्ष गरेका हौं,’ उनले भने, ‘आउँदो आर्थिक वर्षमा अधुरा रहेका सम्पूर्ण निर्माण कार्य पूरा गर्नेछौं ।’

प्रकाशित : वैशाख ३०, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?