कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकै भित्र्याउने चटारो

व्यवसायिक रुपमा उन्नत जातको मकै खेती हुने हजरिया, राजघाट, सोल्टी शंकरपुर लगायत क्षेत्रका किसानलाई भ्याईनभ्याई 
ओमप्रकाश ठाकुर

सर्लाही — जिल्लाको पश्चिमी क्षेत्रका किसानलाई यतिवेला मकै भित्र्याउने चटारो छ । किसान अहिले मकै तोड्ने, दाना निकाल्ने, सुकाउने र बिक्री गर्नमा व्यस्त छन् । 

मकै भित्र्याउने चटारो

व्यावसायिक रूपमा उन्नत जातको मकै खेती हुने हजरिया, राजघाट, सोल्टी शंकरपुरलगायत क्षेत्रका किसान मकै भित्र्याउने चटारोमा परेका हुन् । किसानहरू बिहानदेखि बेलुकासम्म मकै थन्क्याउनमा व्यस्त छन् । चर्को घामको परवाह नगरी उनीहरू अहिले मकै भित्र्याइरहेका छन् । किसानहरू सातादेखि खेतमै व्यस्त छन् ।


उन्नत जातको मकै खेतबारीमा पाकिसकेकालाई चाँडै निकालेर बिक्री गर्नुपर्ने चटारो रहेको हजरियाका किसान बिरञ्जन मुखियाले बताए । ‘मकै भित्र्याउने सिजन भएकाले हामी खेतमै व्यस्त छौं, हाम्रो अहिलेको दैनिकी खेतमै बितिरहेको छ, यो बेला कामको व्यस्तताले कसैसँग भेट्ने फुर्सदसमेत छैन,’ उनले भने, ‘बाली भित्र्याउने समयमा चर्को घामको त ख्यालै हुँदैन ।’


बाह्रै महिना सिंचाइ सुविधा पाएका यस क्षेत्रका किसानले मकै खेतीबाट राम्रो आम्दानी गर्छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुमा मकैको मूल्य राम्रो पाए पनि दिनप्रतिदिन मूल्य घट्दै गएपछि किसान चिन्तित छन् । केही दिन अघिसम्म प्रतिक्विन्टल चार हजार रुपैयाँको दरले मकैको मूल्य पाएका किसानले अहिले प्रतिक्विन्टल २ हजार ५ सयमै बिक्री गर्न बाध्य छन् ।


‘मकै बजारको समस्यै छ, मूल्य पनि तय हुँदैन, उन्नत जातका मकै भएकाले बढी समय घरमा राख्न पनि मिल्दैन, बिक्री गर्नैपर्छ,’ स्थानीय किसान रामजनम यादवले भने, ‘किसानको मौकाको फाइदा व्यापारीले उठाउँछन्, अहिलेको मूल्यभन्दा घटी मूल्य भयो भने किसानलाई घाटा बेहोर्नुपर्छ ।’


उत्पादनको मुख्य समय भएकाले मकैको मूल्य घट्दै गएको व्यापारीहरूले बताएका छन् । खेतबारीमा पाकिसकेको मकै समयमा नटिपे बजार भाउ नपाउने, उन्नत जातका मकै भएकाले हावा चल्दा ढलेर कुहिने समस्याले समयमै यसलाई भित्र्याउनुपर्छ ।


बाली भित्र्याउने मुख्य समयमा कृषि मजदुर नपाएर सास्ती खेप्नुपरेको सोल्टीका किसान घनश्याम बलमपाखीले बताए । ‘खेतबाट मकै भाँच्न, दाना छोडाउन र सुकाउन कृषि मजदुर नपाएपछि परिवारकै सदस्य मिलेर मकै काम गरिरहेका छौं,’ उनले भने, ‘मकै भित्र्याउने चटारो सबैतिर एकैपटक परेकाले अहिले मजदुर पाउन हम्मे परेको छ ।’ गाउँका अधिकांश युवा वैदेशिक रोजगारी र बाँकी सहरी क्षेत्रलाई कर्मथलो बनाएका कारण गाउँमा कृषि मजदुर पाउन समस्या छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?