नेता नेपाललाई गाडीमा बसाउन दुई गुटबीच तानातान

कान्तिपुर संवाददाता

सर्लाही — नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई जिल्लामा ल्याउन सिमरा विमानस्थल पुगेका स्थानीय दुई धारका नेताले आफ्ना गाडीमा चढाउन तानातान गरेका छन् । काठमाडौंबाट सर्लाहीको हरिपुरमा आयोजित ईद मिलन समारोहका लागि आएका नेता नेपाललाई स्वागत गर्न जिल्लाका दुई धारका नेता छुट्टाछुट्टै रुपमा सिमरा विमानस्थल पुगेका थिए ।

फाइल तस्बिर ।

नेता नेपाल विमानस्थलबाट बाहिरिने बित्तिकै जिल्ला अध्यक्ष रेवती पन्तले स्वागत गर्दै आफ्ना गाडीमा आउन आग्रह गरेपछि नेपाल निकट मानिएका सुरेन्द्र लामा र प्रदेश सांसद बेची लुंगेलीले अर्कोतिर तानेका नेकपाको एक कार्यकर्ताले बताए । दुई पक्षबीचको तानातानले नेता नेपाल अलमलमा परेका थिए । लगतै विमानस्थलको एक कोठामा गएर नेपालले दुवैलाई सम्झाइबुझाई गरेपछि समस्या समाधान भएको थियो ।

नेता नेपाल जिल्ला आउँदा एक पक्षको गाडीमा चढ्ने तथा फर्किंदा अर्को पक्षको गाडीमा चढ्ने सहमति भएको कार्यकर्ताको दाबी छ । माधव नेपालनिकट जिल्ला नेता लामाले हरिपुर नगरपालिकाले गरेको कार्यक्रममा बोलाएकोले मंगलबार दिनभरी लामासँगै बस्ने र उनैले व्यवस्थापन गरेको गाडीमा चढ्ने सहमति भएको छ । यस्तै बुधबार सदरमुकाम मलंगवामा पार्टी कार्यालय उद्घाटन कार्यक्रम रहेकाले बुधबारको व्यवस्थापन जिल्ला अध्यक्ष पन्तले गर्ने सहमति भएको एक नेताले जनकारी दिए ।

नगरपालिकाले गरेको कार्यक्रममा नेतालाई आफूले बोलाएकाले आफूसँग आउनु पर्ने नेपालनिकट नेताको जिकिर थियो भने नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनालनिकट मानिएका जिल्ला अध्यक्ष रेवती पन्तले जिल्लाको अध्यक्ष भएकोले आफ्नो गाडीमा जानुपर्ने माग अघि सारेका थिए । जिल्लाका दुई पक्षका नेताबीचको जुंगाको लडाइँ देखेर विमानस्थल पुगेका कार्यकर्ता निराश देखिन्थे ।

पार्टी एकिकरणपछि एकत्रित हुनु पर्ने ठाउँमा पहिलादेखि नै एउटै पार्टीमा अटाएका नेताबीच दूरी बढ्दो छ । पार्टीका जिल्ला तहकै नेता विभिन्न धारमा रुमल्लिँदा आमकार्यकर्ता भने निराश हुँदै गएको छ । पार्टी एकीकरण पछाडि एक ढिक्का हुनुपर्ने ठाउँमा पहिलादेखि नै एक ठाउँमा अटाएका पनि फरक फरक धारमा रुमल्लिएको आम कार्यकर्ताहरुको भनाइ छ ।


प्रकाशित : जेष्ठ २८, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

रासस

काठमाडौँ — नेपाल पत्रकार महासङ्घले सरकारले संसद्‌मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले गत वैशाख २९ देखि यही जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकाल्दै आगामी असार ३ गतेदेखि विधेयक फिर्ताको माग राख्दै आन्दोलन घोषणा गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी गराए ।

बैठकले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने, असार ६ गते सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध काटुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने रहेको छ।

यस्तै असार २० गते वृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना गर्ने, असार २५ गते मध्यान्ह् १२:०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम छ। बैठकले महासङ्घले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकारसँग पुनः जोडदार मागसमेत गरेको छ।

प्रकाशित : जेष्ठ २८, २०७६ १७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT