कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै दिनमा ५ घरमा चोरी

महोत्तरी — गौशाला नगरपालिका ९ भरतपुरमा एकै रात ५ घरमा चोरी भएको छ । चोरले वैदेशिक रोजगारीमा गएका परिवारलाई निसाना बनाएका हुन् । पीडितकाअनुसार सीमसहितका मोबाइल सेट, नगद, गरगहना गरी लाखौंको धनमाल चोरिएको छ ।

समूहमा आएका चोरले कतै ढोका फोरेर, कतै सुरङ खनेर चोरी गरेको देखिएको छ । भरतपुर चमार टोलका सुरेश रामको झयालबाट पसेर करिब डेढलाख मूल्य बराबरको चोरी गरेका छन् । उनले कुखुरा फारम खोल्न जेठ २७ गते ग्रामीण स्वयंसेवक बैंकबाट ऋण लिएको १ लाख नगद, किरान पसलबाट १५ हजार, बिक्रीका लागि राखिएको ४ हजार बराबरको एनसेलका सय र पचासका रिचार्ज तथा सीमसहितका २ थान मोबाइ चोरिएको जनाए ।


सुरेशको एउटा ब्यागसमेत घर पछाडि खोलतखातल गरिएको अवस्थामा भेटिएको छ । ब्यागमा रहेका पासपोर्ट, कपडालगायतका सामान छरपस्ट भेटिएका थिए । ब्याग फेलापरेको वरपर पान खाएर थुकेको दाग भेटिएको आधारमा चोर गिरोह गौशालाको झण्डा मेला भरेर आएको अनुमान गरिएको छ ।


त्यस्तै भरतपुरकै पुनिता साहको घरमा राखेको २० हजार, नयाँ बुहारीको पेवा १० हजार, १० तोलाको चाँदीको एकथान बाला र १५ हजार मूल्यको मोबाइल सेट चोरिएको छ । चोरले उनको साना ठूला ४ बाकससमेत लगेका थिए । उज्यालो भएपछि सबै बाकस घरदेखि २ सय मिटरको दूरीमा रहेको पोखरी किनारामा फेला परेको थियो ।


बाकसमा रहेका लत्ता कपडा भने छरपष्ट छोडेको उनले जनाए । पुनिताको छिमेकी निरञ्जन बरालको घरमासमेत चोर पसेको थियो । भाइबुहारी सन्तोषीका अनुसार मूल गेट फोरेर पसेको चोरले अतिथि कोठाको लत्ता कपडा उधिनेर केही नभेटेपछि निरञ्जन सुतेको कोठाको बाहरीबाट हुक लगाई गएको उनले जनाइन् ।


राति नै बरालको घर पश्चिमको लखन कानूको घरको ढोका पनि फोरिएको छ । घरमूली लखन रोजगारीका लागि विदेश छन् । उनकी श्रीमतीकाअनुसार चोरले करिब २० हजार मूल्यको मोबाइल र श्रीमानले पठाइदिएका १० हजार नगद लगेको छ । भरतपुर धननारायण टोलका कुमार भन्ने टेकबहादुर श्रेष्ठको घरमा पनि चोरी भएको छ । घरको पश्चिमट्टिको भित्तामा सुरुङ बनाएर पसेको चोरले १० हजार नगद, ४५ हजार मूल्यबराबरका ३ मोबाइल लगेको श्रेष्ठले जनाए । लगत्तै दाजु नाता पर्ने शंकर श्रेष्ठको पनि २ वटा मोबाइल चोरिएको छ ।


इलाका प्रहरी कार्यालयका निरीक्षक किशोर आचार्यले घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाए । ‘पीडितबाट प्राप्त जानकारीका आधारमा घटना अनुसन्धान भइरहेको छ,’ प्रनि आचार्यले भने । स्थानीयकाअनुसार नगरपालिकाको वडा नं २ स्थित बजार क्षेत्रनजिकको मडाहा खोला किनारामा साता दिनदेखि लागेको झन्डा मेलाका कारण आसपासका गाउँमा आपराधिक घटना बढ्दै गएको हो ।

प्रकाशित : असार १, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?