कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

हडतालले फोहोर उठेन

करार सेवाका कार्मचारीलाई वडा तहमा रहेर काम गर्न निर्देशन दिएपछि कर्मचरी आन्दोलित 
अवधेशकुमार झा

राजविराज — सफाई कर्मचारीको हडतालका कारण पछिल्लो दुईदिन यता राजविराज नगरपालिकाको फोहोर उठन सकेको छैन । फोहोर नउठ्दा राजविराजको मेनरोडमा जत्रतत्र फोहोर थुप्रिएको छ भने गल्लीहरू पनि फोहोरले भरिएका छन् । सर्वसाधारणका घरमा पनि फोहोर थुप्रिएको छ ।

हडतालले फोहोर उठेन

मुलुककै पुरानो नगरपालिका मध्येको एक सप्तरी सदरमुकाम राजविराज नगरपालिकाका सडकमा जताततै फोहोरको थुप्रो देखिएपछि दुर्गन्ध समेत फैलिएको छ ।


राजविराज नगरपालिकाको करार सेवामा रहेका सरसफाई कर्मचारी काम रोक्दै हडतालमा उत्रिएपछि फोहोरको थुप्रो लागेको हो । राजविराज नगरपालिकाको सबभन्दा प्रमुख चुनौतीका रूपमा फोहोर बिर्सजनको समस्या हो । नगरपालिकाको आफनो व्यवस्थित ल्याण्डफिल साइड समेत छैन ।


नगरपालिकाले सफाइ कर्मचारीहरूलाई वडा तहकै मातहतमा रहेर काम गर्न निर्देशन गरेपछि सफाई कर्मचारी आन्दोलनमा गएका हुन् । नगरपालिका कार्यालयकै मातहतमा रहेर सफाई कर्मचारीले काम गर्दा वडास्तरबाट सफाई नभएको भन्दै गुनासो आएपछि सफाई कार्यलाई थप व्यवस्थित गर्नका लागि सफाई कर्मचारीलाई वडा तहमै रहेर काम गर्ने नीति लिएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बताए । ‘आफ्नो वडा भएको क्षेत्रभित्र सम्बन्धित वडामा खटिएका सफाई कर्मचारीले सफा गर्ने गरी व्यवस्थापन मिलाएका छौं,’ मेयर यादवले भने, ‘त्यसरी गर्दा सानो क्षेत्रमा ती सफाई कर्मचारीले व्यवस्थित तरिकाले सफाई गर्ने र गुनासो पनि कम हुनेछ ।’


नगरपालिकाले सफाई कर्मचारीलाई काममा फर्कन आग्रह गरे पनि उनीहरू मंगलबारसम्म फर्किएका छैनन् । ‘नगरपालिकाले करारमा राखेका कर्मचारीलाई नगरपालिकाको नीति अनुसार काम गर्नुपर्ने हुन्छ,’ मेयर यादबले थपे, ‘काममा फर्किन आग्रह गरेका छौं, वैकल्पिक व्यवस्थाबारे पनि नगरपालिकाले सोच्दैछ ।’


सफाई कर्मचारी वडा तहमा जान तयार छैनन् । उनीहरूले नगरपालिका कार्यालय मातहत नै रहेर काम गर्ने अडानमा छन् । नगरपालिकाको मातहतमा काम गरे प्रयाप्त अनुगमनको अभावमा थोरै काम गरे पनि पुग्ने तर वडा तहमा गए कडाईका साथ काम लिने भएकाले सफाई कर्मचारी वडा तहमा जान नमानेको नगरपालिका कार्यालयको बुझाई छ ।


नेपालमै पहिलो पटक टाउन प्लानिङ गरी बसाइएको राजविराज नगर क्षेत्रको यो अवस्थाले स्थानीय चिन्तत भएका छन् । राजविराज नगरपालिकामा दैनिक १० टन फोहोर उत्पादन हुने गरेको छ । जस मध्ये दैनिक बढीमा पाँच टनसम्म फोहोर मात्र नगरपालिकाले सफाई गर्न भ्याएको छ ।


नगरपालिकाका मुल सडक मात्र होइन्, घरघरको फोहोर व्यवस्थापन गर्न पनि नगरपालिका सक्षम हुन सकेको छैन । नगरको प्रमुख समस्याको रूपमा रहेको फोहोर बिर्सजनका लागि दीर्घकालीन नीति बनाइरहेको नगरप्रमुख यादवले बताए ।

प्रकाशित : असार ५, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?