कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको रहस्यमय हत्या

(महोत्तरी) — गौशाला नपा १० भरतपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । ३० वर्षीया अन्जु श्रेष्ठको बिहीबार राति हत्या भएको हो । बायाँ छातीमा गहिरो घाउ लागेको श्रेष्ठको अञ्चल अस्पतालतर्फ लाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी गौशालाले जनाएको छ । अपराधी पक्राउ नपरेकाले सिंगो गाउँ त्रसित छ ।

महिलाको रहस्यमय हत्या

सोही वडाको स्कुल टोलस्थित माइत घरमा आमा र दुई छोराछोरीसाथ सुतिरहेको अवस्थामा अन्जुको कसले र किन हत्या गर्‍यो ? रहस्यमय छ । पारिवारिक स्रोतकाअनुसार घटना मध्य राततिर भएको थियो । प्रहरीले भने राति एक डेढ बढेतिर मात्र जानकारी पाएको जनाएको छ । जानकारी लगत्तै घटना स्थललाई प्रहरीले सुरक्षा घेरामा लिएर सोधपुछ सुरु गरेको छ । गस्ती, निगरानी तीब्र पारेको प्रहरीको दाबी छ ।


सँगै सुतेकी ९ वर्षीया छोरी नन्दिताका अनुसार राति खाना खाएर सबै सामान्य अवस्थामै सुतेका थिए । हतियार प्रहारपछि अन्जु कहालिँदै उठेपछि मात्र परिवारले घटनाबारे जानकारी पाएका थिए । ‘मम्मीले म मर्न आँटे भन्दै छट्पटिँदै बोलाउन थालेपछि हामी उठ्यौं,’ नन्दिताले घटनाबारे बताइन्, ‘मम्मीको छातीबाट निस्केको रगत कपडा भिजाउँदै देव्रेपट्टिको खुट्टाबाट बगिरहेको थियो । रिंगटा लाग्यो, मर्न लागे भन्दै बाहिर निस्कनुभयो । हजुरबुबाले पानी छ्याप्दै के भयो भनेर सोध्नु भयो मम्मीले ‘हुँ हुँ’ मात्र भन्न सक्नु भयो अचेत हुनुभयो र भुइँमा ढल्नु भयो ।


पति ईश्वर श्रेष्ठले सिन्धुलीमा अर्को बिहे गरेपछि उनी एकल बस्दै आएको स्थानीयको भनाई छ । लोग्नेसँगको मनोमालिन्यपछि ५/७ वर्षदेखि उनी दुई छोराछोरीसाथ बुवा विष्णु श्रेष्ठको घरमै बस्दै आएकी थिइन् । ससुरा उपेन्द्र श्रेष्ठका अनुसार पतिपत्नीबीच विवाद र बोलचालसमेत छैन ।


‘हामीसँग पनि बोलचाल बन्द गरेकी थिइन्,’ ससुरा उपेन्द्रले भने, ‘छोराछोरीलाईसमेत हामीसँग बोल्न दिँदैन थिइन् ।’ श्रीमान्ले खर्चसमेत नदिएपछि छोराछोरीको पढाइ र पालन पोषण उनकै टाउकोमा थियो । माइतको अवस्था पनि कमजोर रहेकाले उनले गौशालास्थित निर्धन उत्थान बैंकमा सहयोगी पदमा काम गरेर गुजारा गर्दै आएकी थिइन् । सोही गाउँका बासिन्दा तथा पूर्व सभासद सीताराम भण्डारीकाअनुसार सामान्य महिलाको घरभित्रै प्रवेश गरी भएको हत्याले गाउँलेमा त्रास बढेको छ । दुखजिलो गरेर नाबालक छोराछोरीको पालनपोषण गर्दै आएकी एउटी संघर्षशील नारीको कसले र किन हत्या गर्‍यो ? गाउँलेको प्रश्न छ । सोही राति ११ बजेतिर अन्जुलाई फोन आएको कुरा पनि चर्चामा छ ? हत्यासँगै त्यो मोबाइल सेट पनि हराएकाले थप प्रश्न उब्जेको छ ।


प्रहरी उपरीक्षक ईश्वर कार्कीले घटनाको सुक्ष्म र सघन अनुसन्धान भइरहेको बताए । ‘दोषी धेरैबेर उम्किन पाउने छैन,’ उनले भने, ‘प्रहरीले छिटै नियन्त्रणमा लिनेछ ।’ घटनामा संलग्न आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार ७, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?