कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्मीले खानेपानी संकट बढ्यो

श्यामसुन्दर शशि

(जनकपुर) — राति आएको हावा हुरी तथा छिटफुट वर्षाले आमनागरिकले अलि राहत महसुस गरे पनि बिहीबार बिहानैदेखि सुरु भएको प्रचण्ड गर्मीले धनुषाको जनजीवन पुन: अस्त व्यस्त बनेको छ । गर्मीकै कारण अस्पतालमा बिरामीको संख्या बढेको छ । इनार, कुवा तथा चापाकलमा पानी कम हुन थालेको छ ।

उत्तरी तथा मध्य धनुषासँगै जनकपुरमा समेत खानेपानीको अभाव भएको छ । प्रदेश र स्थानीय सरकार हालसम्म राहतको कुनै योजना नल्याएको भन्दै आमनागरिक आक्रोशित छन् ।


गर्मी बढेसँगै स्वस्थ्य मानिसमा पनि हिट स्टोक (पानीको आभाव भई मुर्छा पर्ने) समस्या देखिएको स्त्रीरोग विशेषज्ञ डा. रामनरेश पण्डितले बताए । उनका अनुसार बिहीबार स्वास्थ्य जाँच गराउन उनको बाह्रबिघा क्लिनिक आएकी एक गर्भवती महिला एक्कासि बेहोस भएकी थिइन् । ‘चिसो पानी जिउमा छर्कन लगाएँ र खान दिएँ । त्यसपछि बल्ल तिनी होसमा आइन,’ डा. पण्डितले भने ।


प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं बालरोग विशेषज्ञ डा. प्रमोद यादव बालबालिकामा झाडा पखाला, टाइफाइड तथा हेपाटाइटिस ए (जंडीस) को संक्रमण अधिक देखिएको बताउँछन् । उनले फोहर वातावरण, खाना, पानीको कारण हुने यस्ता बिरामीलाई नियन्त्रण गर्न निरोधात्मक तथा उपचारात्मक सेवा प्रदान गरिरहेको बताए ।


जनकपुर अञ्चल अस्पतालका रेकर्ड किपर राजकिशोर राउत भने गर्मी बढे पनि बिरामीको संख्यामा खासै वृद्धि नभएको बताउँछन् । यद्यपि अस्पतालको अभिलेखअनुसार चैतमा १ हजार ९ सय बिरामी आकस्मिक सेवाका लागि अस्पताल भर्ना भएका थिए भने वैशाखमा २ हजार ५ सय ७ तथा जेठमा २ हजार ५ सय ५२ बिरामी आपतकालीन सेवा लिन अस्पताल भर्ना भएको देखिन्छ ।


यस साता जनकपुरको तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो । अत्यधिक तापक्रमका कारण गाई, भैंसी, गोरु लगायतका चौपाया समेत प्रभावित भएका छन । सीमावर्ती भडरिया गाउँका श्याम ठाकुरको भैंसीको बच्चा (पाडा) लाई लू लागेपछि उनी हैरान भएका थिए । पाडालाई चिसो पानी खुवाएर झन्डै एक घन्टा हिलोमा बसाएपछि बल्ल यसको स्वास्थ्यमा सुधार भएको थियो । ‘मैले विषालु झारपात खायो भन्ठानेको थिएँ तर गाउँका बुढा पाकाले गर्मी लागेकाले हिलोमा राख्न सल्लाह दिए,’ ठाकुरले भने ।


प्रकाशित : असार ७, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?