लाइफ ज्याकेटदेखि वाकीटाकीसम्म

अवधेशकुमार झा

राजविराज — असार मसान्तको चटारोका बीच शुक्रबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयमा रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा रहेका कर्मचारी बढी सक्रिय देखिए  । वडाअध्यक्षहरूबाट वर्षा, बाढी र नदी नालाको स्थितिबारे जानकारी लिँदै कर्मचारीहरू वाकीटकीमा गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहलाई जानकारी गराउँदै थिए  ।

खाडो र कोसी नदीको बाढीले उच्च जोखिममा रहेको तिलाठी कोइलाडी गाउँपालिका हरेक वर्ष प्रभावित हुँदै आएको छ ।

‘यस वर्ष हामीले बाढीबाट नागरिकलाई जोगाउन तथा नदीहरूमा हुने कटान लगायतका समस्या तत्काल समाधान गर्ने गरी उच्च सर्तकताका साथ तयारी गरेका छौं,’ गाउँपालिका अध्यक्ष सिंहले भने, ‘गाउँपालिका कार्यालयमा आपतकालीन कार्य सञ्चालन केन्द्र नै राखेर जानकारी लिने काम र पूर्व सूचना दिने काम भइरहेको छ ।’
वर्षा र बाढीका कारण मोबाइल फोनको नेटवर्क काम नगर्ने स्थिति आउने भएकाले गाउँपालिकाले वाकीटकीको व्यवस्था गरेको हो ।

गाउँपालिका अध्यक्ष सिंह, प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झा, विपद व्यवस्थापन संयोजक राजेशकुमार झा सहित आठजना कर्मचारीलाई पहिलो चरणमा विपद बारेको सूचना आदान–प्रदान र व्यवस्थापन मिलाउन वाकीटकी दिइएको छ । ‘गाउँपालिका क्षेत्रभित्र रहेका नदीनालाको जलस्तरको प्रति घण्टा सूचना लिने गरिएको र सोही अनुसार सम्बन्धित क्षेत्रका जनतालाई पूर्व सूचना दिने गरिएको विपद व्यवस्थापन संयोजक राजेशकुमार झाले बताए ।


आपतकालीन कार्यसञ्चालन केन्द्रमा लाइफ ज्याकेट स्टेन्डवाई राखिएको छ । सशस्त्र र नेपाल प्रहरीसित समन्वय गरी उद्धार सामग्री समेत जोहो गरेर यसअघि नै राखिसकिएको तथा बाढी बस्तीमा प्रवेश गरिहाले तत्कालै उद्धार गरी सर्वसाधारणलाई राख्न सकिने स्थलको समेत पहिचान गरी तयारी अवस्थामा राखिएको झाले बताए । उनका अनुसार खाडो खोलाको बाढीका कारण अवरुद्ध भएको राजविराज–भन्सार सडकमा सर्वसाधारणलाई वारपार गर्न डोरीको व्यवस्था मिलाइएको छ ।


बाढीको उच्च जोखिममा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाले पनि उद्दार सामग्रीदेखि सुरक्षितस्थल सम्मको तयारी गरी अर्लट अवस्थामा रहेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए ।

प्रकाशित : असार २९, २०७६ १५:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भारतीय च्यानलका कारण डुबान

कोसीको बहाव उच्च, पश्चिमी तटबन्ध जोखिममा
अवधेशकुमार झा

राजविराज — भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् । 

कोसीको जलस्तर बढ्ने क्रम जारी रहेकाले ब्यारेजदेखि रम्पुरा मल्हनियासम्म १८ किलोमिटर नेपाली भूभागमा रहेको पश्चिमी तटबन्धमा जोखिम बढेको छ । तटबन्ध नाघेर वा कटान भएर कोसीको पानी बस्तीमा पस्यो भने हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका तथा राजविराज नगरपालिकाका गरी पाँच लाखभन्दा बढी जनताको उठिबास हुने हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले बताए । पश्चिमी तटबन्ध बचाउन तत्काल कोसीको धार परिवर्तन गरी मध्य भागमा लैजानुपर्ने उनको भनाइ छ ।

कोसीको बहाव शनिबार साँझ करिब ३ लाख क्युसेक प्रतिसेकेन्ड थियो । कोसीको धार पश्चिमतर्फ फर्काउन भारतीय पक्षले चार वर्षअघि एकतर्फी रूपमा पाइलट च्यानल निर्माण गरेको हो । कोसीको पानी विगतमा ब्यारेजभन्दा दक्षिणपूर्वी तटबन्धको छेउ भएर बग्दै आएको थियो । पूर्वी तटबन्ध छेउबाट नदी बग्दा एक किलोमिटर दक्षिणमै भारतीय सीमा पर्ने भएकाले बस्ती जोगाउन भारतीय कोसी योजनाले धार परिवर्तन गर्न पाइलट च्यानल बनाएको हो । योजनाले ब्यारेजको २८ नम्बर ढोकानजिक कोसीको बीचबाट पाइलट च्यानल खनी पश्चिमतर्फ धार फर्काएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको डलबामा कोसीको बाढी पश्चिमी तटबन्ध नाघेर बाहिर बग्न थालेको छ । ‘ओभरफलो हुन थालेको छ, तत्काल नियन्त्रण नगरिए ठूलो खतरा हुन सक्छ,’ प्रजिअ पौडेलले बताए ।

‘प्रजिअदेखि प्रधानमन्त्री कार्यालयसम्म पत्राचार गर्‍यौं तर केही लागेन,’ उनले भने, ‘भारतीय पक्षले एकतर्फी पाइलट च्यानल खनेर कोसीको धार फर्काइएको नगर प्रमुख साहले बताए । कोसी योजनाबारे नेपाली र भारतीय पक्षबीच समन्वयात्मक भूमिका खेल्ने सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका प्रमुख सन्तोष लिम्बूले भारतीय पक्षले उक्त कार्यालयलाई पनि जानकारी नदिई पाइलट च्यानल खनेको दाबी गरे ।

कोसी ब्यारेजभन्दा तल पूर्वी भाग नजिकै भारतीय सीमा छ भने पश्चिमी भागमा ब्यारेजदेखि १८ किलोमिटरसम्म नेपाली भूभागमा तटबन्ध छ । सन् १९८८ मा सप्तरीको योगिनियामा कोसीको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा ठूलो धनजनको क्षति भएको थियो ।

त्यसपछि नदी पश्चिमी तटबन्ध छेउबाटै बगेको थियो । सन २००० मा कोसी नदी धार परिवर्तन गर्दै पूर्वी तटबन्धछेउ भएर भारततर्फ सोझिएको थियो । पूर्वी तटबन्ध नजिकबाट बगिरहेको कोसीलाई ब्यारेजभन्दा तलको भागमा पाइलट च्यानल खनेर भारतले पश्चिमतर्फै फर्काइदिएको हो ।

प्रकाशित : असार २८, २०७६ २१:१७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्