कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

काठमाडौं चिठी पुग्न एक साता

शंकर आचार्य

(पर्सा) — वीरगन्जबाट करिब ३ सय किमि मात्र दूरीमा रहेको काठमाडौंमा हुलाकबाट चिठीपत्र पुग्न कति दिन लाग्ला ? प्रायः सबैको मुखमा एउटै जवाफ हुन्छ, ‘कम्तीमा १२ अनि बढीमा २४ घण्टा । 

काठमाडौं चिठी पुग्न एक साता

तर वीरगन्जस्थित पर्सा जिल्ला हुलाकबाट राजधानी चिठीपत्र पुग्न कम्तीमा ५ दिन र बढीमा साता लाग्ने गरेको छ । अझ द्रुत सेवा तथा रजिस्ट्री गरेको पत्र गन्तव्यमा पुग्न एक साता लाग्छ भन्दा झनै अचम्म मान्नु पर्दैन ।


जिल्ला हुलाकले केवल जिल्लाकै मात्र जिम्मेवारी सम्हालेको छैन । मुलुकको मुख्य नाका हुँदै भित्रिने तेस्रो मुलुकका पार्सल पनि यही कार्यालयको जिम्मेवारीमा पर्छ । यसरी तेस्रो मुलुक तथा भारतबाट आउने पार्सल पनि करिब एक साता ढिलो गन्तव्यमा पुग्ने गरेका छन् ।


कार्यालय प्रमुख सरोजप्रसाद पौडेल विगतमा सार्वजनिक बसबाट डाक पठाउने गरिएकोमा हाल आफ्नै गाडीबाट डाक ढुवानी गर्ने गरिएको बताउँछन् । ‘पहिले सार्वजनिक बसबाट डाक ढुवानी गरिन्थ्यो, सेवा अनियमित भएपछि अहिले आफ्नै सवारीबाट ढुवानी गरिन्छ,’ उनले भने, ‘तर हाम्रै डाक बोक्ने भ्यानले सातामा २ पटक मात्र डाक ढुवानी गर्छ ।’


हाल वीरगन्जबाट डाक इलाका प्रहरी कार्यालय सिमरा पुग्छ । त्यहाँबाट जिल्ला हुलाक कार्यालय चितवन पुगेपछि त्यहींबाट फेरि काठमाडौं पुग्छ । प्रत्येक गन्तव्यमा भिन्दाभिन्दै सवारीले डाक बोक्ने गर्दा समय बढी लागेको हो । स्थलमार्गबाट भारत तथा कोलकाता बन्दरगाह हुँदै जलमार्गबाट तेस्रो मुलुक पठाइने चिठी, पत्रपत्रिका, बुकपोस्ट, छापाकागजलगायत डाकको सेवा वीरगन्ज हुलाकमार्फत नै हुने गरेको छ ।


यसरी लामो समय जिल्ला हुलाकको सेवा सुस्त भएपछि सर्वसाधारणले हुलाकमार्फत आफ्नो चिठीपत्र पठाउन बन्द गरिसकेको पौडेल स्विकार्छन् । ‘आफ्नै सवारीले डाक बोक्न खोज्दा सेवा चुस्त नभई सुस्त भएकै हो, तर ढिलै भए पनि सेवा विश्वसनीय भने छ,’ उनले भने, ‘सेवा ढिलो भएकाले सर्वसाधारण सेवाग्राही आफ्नो डाक लिएर आउन बन्द गरी सके, सरकारी अड्डा अदालत तथा हुलाकबाट पठाएर प्रमाण जुटाउनेहरू मात्र आउने गरेका छन् ।’


सर्वसाधारण सेवाग्राही पनि सरकारी हुलाक सेवाको बदहालीबाट आजित भएका छन् । वीरगन्ज ६ रेशमकोठी निवासी राजेन्द्रकुमार शर्मा विगतमा विश्वसनीय रहेको सरकारी हुलाक सेवाको यस्तो विजोग हुनु गलत भएको बताउँछन् । ‘निजी क्षेत्रले डाक ढुवानी गर्दा सेवा अनियमित भयो भनियो,’ उनले भने, ‘तर अहिले सरकारी ढुवानी सेवा आफैं सुस्त हुनु विडम्बना हो ।’


हाल आफ्नै आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा निजी क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर सेवाहरूको तीव्र प्रतिस्पर्धा झेलिरहेको हुलाक सेवाप्रति सेवाग्राहीको विश्वास उठ्ने अवस्था आएको छ । हुलाक प्रमुख पौडेल विभागले नयाँ आर्थिक वर्षबाट रक्सौलदेखि काठमाडौंसम्म छुट्टै भ्यान दिने तयारी गरेको आफूले सुनेको बताए । त्यसबारे लिखित जानकारी भने हालसम्म आइनसकेको उनले जनाए ।


प्रकाशित : श्रावण १, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?