कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सर्लाहीमा राहत वितरण स्थगित

सर्लाही — गत साता आएको अविरल वर्षाका कारण डुवान तथा कटान प्रभावितलाई राहत वितरणमा जुटेको जिल्ला स्थित विपद् व्यवस्थापन समितिले तत्काललाई राहत वितरण स्थगित गरेको छ । 

सर्लाहीमा राहत वितरण स्थगित

वास्तविक पीडितभन्दा अर्कै व्यक्तिले राहत पाएको आशंकाका आधारमा वितरण गर्दै आएको राहत रोकिएको हो । यसले राहतको पर्खाईमा पालमुनी बसेका पीडितहरू भने निराश छन् ।


जिल्लामा डुबान तथा कटानबाट प्रभावित भएकाको विस्तृत विवरण संकलन गर्न भन्दै तत्काल राहत वितरणको काम रोकिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । यसअघि अनुमानित विवरण अनुसार असार अन्तिममा भएको भीषण वर्षाबाट जिल्लामा दुई हजार चार सय घरधुरी प्रभावित भएको समितिले जनाएको थियो ।


जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार साँझ सदरमुकाम मलंगवामा बसेको बैठकले तत्काललाई राहत वितरणको कार्य रोकी विस्तृत घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको हो । यो निर्णयले विपद्मा परेकाहरू निराश छन् । धनकौल गाउँपालिका–३ का लालधारी पासवानले पीडामा परेका हामी राहतको पर्खाईमा आहत बनेको बताए । ‘विपद्मा परेका बेला राहत बाँड्नु पर्ने ठाउँमा सर्वेक्षण गर्ने भनेको सुनेको छु, कहिले सर्वेक्षण गर्ने र कहिले हामी पीडामा परेकाले राहत पाउनु,’ उनले भने, ‘राहतको पर्खाईमा हामी आहत बनिसक्यौं ।’


झण्डै डेढ साताअघि डुवानमा परेकी स्थानीय पासपति देवीले राहतका लागि अझै एक साता कुर्नु पर्ने गुनासो पोखिन् । उनले सदरमुकाम मलंगवाबाट राहत पाउन पनि दुई साता लाग्नु विडम्बना भएको बताइन् । ‘झण्डै डेढ साताअघि डुवानमा परे, डुवानमा तत्काल पाउनु पर्ने राहत अझै पाइएको छैन,’ उनले भनिन्, ‘सदरमुकामबाट राहत पाउन दुई साता लाग्नु राज्य नागरिकमाथी कतिको संवेदनशिल छ त्यस्को पुष्टि हुन्छ ।’


बाढीको पीडाबाट खानबस्नकै अभाव रहेकाको हकमा भने स्थानीय तहले बन्दोबस्ती गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर राउतले बताए । उनले समितिको बैठकमा अन्यको हकमा विस्तृत विवरण आएपछि मात्रै आवश्यकता अनुसार राहत वितरण गर्ने निर्णय भएको जानकारी दिए ।


यसअघि प्रभावित क्षेत्रका वडाध्यक्षहरूलाई मात्रै सोधेर के कति क्षति भयो भनेर विवरण लिइएको भएपनि अब भने प्रभावित परिवारको घरमुलीको नाम, परिवार संख्या र क्षतिको विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी राउतले बताए । ‘यसअघि प्रभावित क्षेत्रका वडाध्यक्षहरूसँग सोधेर राहत वितरण गरिरहेका थियौं, तर त्यो प्रभावकारी भएन, वास्तविक पीडितभन्दा अन्यले राहत पाएको गुनासो आयो,’ उनले भने, राहतलाई प्रभावकारी बनाउनका लागि पुनः सर्वेक्षणको काममा हामी जुटेका छौं, ढिलो भए पनि वास्तविक पीडितले राहत पाउनेछन् ।’ प्रजिअ राउतले राहत वितरणमा एकद्वार प्रणाली गरेर वितरण गर्न सवैपक्षसंग सहमती जुटेको बताए ।


शुक्रबार साँझ बसेको विपद् व्यवस्थापन समितिको बैठकमा जिल्लाका प्रतिनिधि तथा प्रदेशसभा सदस्य, बाढी तथा डुबान प्रभावित क्षेत्रका नगरपालिका तथा गाउापालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, विपदो क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख तथा प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति थियो । बैठकमा नगर तथा गाउँपालिकाका प्रमुखले राहत वितरणमा ब्यापक असन्तुष्टि जनाएपछि यो निर्णय गरिएको एक सुरक्षा अधिकारीले बताए ।


गत साताको अविरल वर्षापछि मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, हरकठवा, महिनाथपुर, ढापटोल, छटौल, बैरिया, हिरापुर, भवानीपुर लगायत दुइ दर्जन गाउँ डुवानमा परेको थियो । डुवानमा परेर विस्थापित भएका केही परिवार पानीको सतह घटेसंगै घर फर्केका छन् भने अझै डुवानमा रहेका परिवार पालमै बसिरहेका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?