कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नामसारी भएन ब्रुमर

भूषण यादव

वीरगन्ज — चार वर्ष अगाडि बोलपत्रमार्फत खरिद गरिएको ब्रुमर (सडक धुलो सफा गर्ने मेसिन) को रकम भुक्तानी गरिए पनि हालसम्म वीरगन्ज महानगरपालिकाको नाममा नामसारी भएको छैन । 

नामसारी भएन ब्रुमर

सिप्रदी प्रालिका कर्मचारी गत महिना उक्त ब्रुमर खोज्दै महानगरपालिका कार्यालय पुगेपछि यो रहस्य खुलेको हो । ना५ख ८३४८ नम्बरको ब्रुमर महानगरपालिकाले प्रयोग गर्दै आएको छ । ०७२/०७३ मा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाले ब्रुमर खरिदका लागि बोलपत्र आहान गरेको थियो । ८१ लाख रुपैयाँमा काठमाडौँको पञ्चकन्या निर्माण सेवाले बोलपत्र सकार गरेको थियो ।

कर्मचारीका अनुसार पञ्चकन्या आफैँ ब्रुमरको आयातकर्ता नभए पनि उसले सिप्रदी प्रालिको ब्रुमर उपमहानगरपालिकालाई सप्लाई गरेको थियो । ०७२ असारमै उपमहानगरपालिकाले ८१ लाख रुपैयाँ भुक्तानी गरे पनि कागजी रूपमा ब्रुमरको स्वामित्व हस्तान्तरण भएको छैन ।


यातायात व्यवस्था कार्यालय नारायणीको विवरण अनुसार हालसम्म ना५ख ८३४८ नम्बरको गाडीको धनी सिप्रदी हायर परसेज प्रालि रहेको छ । महानगरपालिकाको वरुणयन्त्र परिसरमा ना५ख ८३४८ नम्बरको ब्रमर राखिएको छ । तर, महानगरपालकासँग ब्रमुरको ब्लुबुक छैन । ब्रमुरको सवारी धनी प्रमाणपत्रमा महानगरपालिकाको नाम उल्लेख छैन ।


महानगरपालिका यान्त्रिक शाखा प्रमुख मनोज कर्णका अनुसार ब्रुमर महानगरपालिकाको प्रयोगमा रहेको भए पनि नामसारी नभएको बताए । पैसा भुक्तानी लिइसकेका ठेकेदार कम्पनीलाई नामसारीका लागि पटक–पटक पत्रचार गर्दा पनि आलटाल गरेको उनले सुनाए । ‘नामसारी नगरे कारबाहीका लागि पत्र काट्छौँ,’ उनले भने, ‘पैसा भुक्तानी भएर पनि नामसारी नहुँदा यसमा महानगरपालिकाको लापरबाही भएको छ ।’


लेखा फाँटका कर्मचारी पनि सम्पूर्ण भुक्तानी भएको ४ वर्ष बितिसक्दा पनि ब्रुमर नामसारी नभएको सुन्दा आश्चर्य प्रकट गरे । महानगरपालिकाको खरिदको हरेक विवरण राख्ने जिन्सी शाखामा २०७२ असार २७ मा रोड भ्याकुम सुधार मेसिन मात्र लेखिएको छ । दाखिला नम्बर, बिल नम्बर लगायतका अभिलेख उल्लेख छैनन् ।


कार्यालयका तत्कालीन कार्यकारी अधिकृत विष्णु कोइरालाको कार्यकालमा ब्रमर खरिद प्रक्रिया थालिएको थियो । सम्बद्ध स्रोतका अनुसार उनकै पहलमा नामसारी बिना नै सम्पूर्ण भुक्तानी गरिएको थियो । भुक्तानी दिए पनि ब्रुमर किन नामसारी नगराएको प्रश्नमा विष्णु कोइरालाले भने, ‘नामसारी ठूलो कुरो होइन तर, गुर्नचाहिँ पर्छ । यातायातमा गएर एकदिनमै हुन्छ ।’ सार्वजनिक खरिद ऐन अन्तर्गत खरिद गरिएकाले अनियमितता नभएको उनले दाबी गरे । महानगरपालिकाका कर्मचारीको लापरबाहीका कारण नामसारी नभएको उनले आरोप लगाए ।


स्रोतका अनुसार सिप्रदी प्रालिबाट ब्रुमर लिएर महानगरपालिकालाई सप्लाई गरेको पञ्चकन्या निर्माण सेवाले महानगरपालिकाबाट सम्पूर्ण भुक्तानी लिए पनि सिप्रदीलाई बुझाएको छैन । सिप्रदीबाट गाडी लिएर पञ्चकन्याले त्यसमा थप निर्माणका लागि भारत पठाएको थियो । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पञ्चकन्या बिरुद्ध ठगीको मुद्दा चलाउन सिप्रदी प्रालिका कर्मचारीलाई सुझाउ दिएको बताए ।


‘लामो समयदेखि भुक्तानी रोकिएपछि सिप्रदीका कर्मचारी ब्रमुर खोज्दै आएका थिए,’ मेयर सरावगीले भने, ‘महनगरपालिको नाममा नामसारी नभए कानुनी प्रक्रियामा जान्छौँ ।’ महानगरपालिकाले प्रयोग गर्दै आएको ब्रुमर सिप्रदीका कर्मचारीले नियन्त्रणमा लिन आएपछि हालसम्म नामसारी नभएको खुलेको मेयरले बताए ।

प्रकाशित : श्रावण १६, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?