कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँध टालटुल

नदीमा पानीको बहाव कम भएपछि वाग्मती र लालबकैयाको कटान नियन्त्रण केन्द्र तथा प्रदेश सरकारले बजेट नदिँदा समस्या
शिव पुरी

रौतहट — बाढीले भत्काएको वाग्मती र लालबकैयाको बाँध मर्मत गर्न बजेटको अभाव भएको छ । थोरै बजेट हुँदा भत्किएको बाँध टालटुल पारिँदैछ । बजेट उपलब्ध नगराएपछि भत्किएको स्थानमा बोरा राखेर पानीको बहाव छेक्ने काम भइरहेको छ । 

बाँध टालटुल

असारको अन्तिम साता आएको बाढीले वाग्मतीको ४ र लालबकैया नदीको पूर्वी पश्चिमी तटबन्धको ९ स्थानमा भत्काएको थियो । अहिले त्यस क्षेत्रमा पुरानो बोरा पठाएर सामान्य रोकथामको काम भइरहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण कार्यालयले जनायो । दुवै नदी नियन्त्रण गर्न भारत सरकारको सहयोगमा तटबन्ध गरिएको छ ।


तर पुरानो भएकाले मर्मतको अभावमा बाढीले भत्काउने गरेको छ । यसको भरपर्दो मर्मत हुनुपर्ने स्थानीयले दबाब दिए पनि सम्बन्धित निकायले बजेटको अभाव देखाएको छ । अघिल्लो वर्षको बाढीले बाँध भत्काएर जिल्ला डुबानमा पर्‍यो । यस वर्ष यस्तै समस्या दोहोरिएको थियो । आयोजना प्रमुख राजकुमार श्रीवास्तवले दुवै नदीको बाँध १३ स्थानमा भत्किएको जनाए ।


‘हामीले मर्मतका लागि २३ करोड माग गरेर विभागमा प्रस्ताव दर्ता गराइसकेका छौं,’ उनले भने, ‘माथिबाट एकसुका पनि बजेट आएको छैन । यस्तो अवस्थामा कसरी मर्मत गर्ने ।’ उनले पुरानो तार, जाली बोरा पठाएर रोकथामको प्रयास गरिरहेको सुनाए । केही स्थानमा स्थानीयतहले रोकथामका लागि काम सुरु गरेको छ ।


आयोजनाका अनुसार लालबकैयाको बाढीले गौर नगरपालिका स्थित महादेवपटीमा ३२ मिटर, देवाहीगोनाही नगरपालिकाको दोहरटोलमा २ सय २५ मिटर, कटहरियामा २१ मिटर, बैरियामा ७८, लक्ष्मितियामा ६३, भूनियादमा ४८, तेजापाकडमा १ सय १३ मिटर बाँध भत्किएको छ । बाढीले करुनियामा ४२, इनर्वामा ६० मिटर र वैरियामा २ सय मिटर बाँध भत्काएको छ । नदीको दुवैतिरको बाँध भत्किएर पानी पसेपछि गाउँ डुबानमा पर्दा यसपालि ठूलो क्षति ब्यहोर्नु परेको थियो ।


बाढीले डुबानमा पार्दा २४ जनाको ज्यान गएको थियो । झन्डै ४ हजारभन्दा बढी घर पूर्णरूपले क्षति भएका छन् । अहिले राजदेवी, इनर्वा, तेजापाकड, लक्ष्मीपुर, समनपुर सहितका केही स्थानमा सम्बन्धित नगरपालिकाको लगानीमा सामान्य मर्मत भइरहेको छ । यसका लागि वाग्मती तथा लालबकैया नदी नियन्त्रण कार्यालयले प्लास्टिकका डोरी र बोरा उपलब्ध गराएको जनायो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार बौधीमाईको इनर्वा र परोहाको तेजापाकडमा बाँस पाइलिंग गरेर स्पर निर्माण गरी खोलाको धार फर्काउने काम भइरहेको छ ।


‘आयोजनाले बजेट छैन भन्छ । तत्काल मर्मत हुन सकेन भने ठूलो समस्या निम्त्याउँछ,’ उनले भने, ‘स्थानीयतहले पनि चासो देखाउनु पर्छ । अहिले बाँधलाई समान्य मर्मत गर्न सकियो भने क्षति रोक्न सकिन्छ ।’ गत वर्ष बजेटकै अभाव देखाएर आयोजनाले बाँधको समान्य मर्मत गरेर छाडेको थियो । दुई दशक पुरानो बाँध ठाउँ/ठाउँमा चर्किएको छ । नदीमा बाढी आउँदा बाँध भत्किने र बगाउने खतरा बढेको छ । गत वर्ष खासै बाढी नआएकाले क्षति हुन पाएन । यस पटक दुवै नदीमा पानीको बहाब निकै बढेपछि बाँध भत्किएको हो ।


राजदेवीको बडहर्वा क्षेत्रमा नदीले कटान गर्न थालेपछि त्यस क्षेत्रमा बोरा र प्लास्टिकको जाली लगाएर रोकथामको काम सुरु गरिएको पूर्वसभासद बबन सिंहले जनाए । ‘आयोजनाले पठाएको बोरा र डोरी भरपर्दो छैन,’ उनले भने, ‘पुरानो कुहिन लागेको बोरा पठाएर कटान रोकथाम हुन सक्दैन ।’ उनले मुख्य मन्त्री लालबाबु राउतलाई त्यस क्षेत्रमा घुमाएर बोरा र डोरीको भरले क्षति हुन सक्ने जानकारी गराएका थिए । नदी छेउका स्थायनीबासी बाँध भत्किने त्रासमा छन् ।


समयमा मर्मत हुन सकेन भने ठूलो समस्या ल्याउने परोहा नगरपालिकाका मेयर शेख वकिलले बताए । तेजापाकडमा भत्किएको ४ सय ४२ मिटर बाँधको मर्मत भइरहेको उनले सुनाए । ‘सम्बन्धित निकायमा मर्मतको कुरा राख्दा बजेट छैन भनेर पन्छियो,’ उनले भने, ‘स्थानीय तहकै बजेटबाट बाँस पाइलिंग र स्पर बनाउने काम भइरहेको छ । केही स्थानमा बाँध मर्मत र स्पर बनाउन स्थानीयहरू खटेका छन् । बाढीबाट लालबकैया र बागमती नदीमा भएको क्षतिबाट तट्बन्धको संरचना भत्किँदा झन्डै १५ करोड क्षति पुगेको आयोजना प्रमुख श्रीवास्तवले सुनाए । उनले भने, ‘समयमा बजेट आएको भए बाँध मर्मत गर्न सकिन्थ्यो ।’


बर्सेनि बजेटकै अभाव भनेर आयोजना पन्छिने गरेको स्थानीयको आरोप छ । बाढीपीडितको विवरण संकलनमा ढिलाइसर्लाही– असार अन्तिम साताको बाढीबाट पीडित बनेकाहरूले राहत नपाउँदा झन पीडित बनेका छन् । सर्लाहीमा हालसम्म क्षतिको विवरण समेत संकलन गरिएको छैन ।


तीन साताअघि अविरल वर्षासँगै मनुष्मारा खोलामा आएको बाढीले दक्षिण–पश्चिम क्षेत्रका धनकौल, हरकठवा, महिनाथपुर, ढापटोल, छटौल, बैरिया, हिरापुर, भवानीपुर लगायत दुई दर्जन गाउँ डुबानमा परेका थिए । डुबानमा परेर विस्थापित भएका केही परिवार पानीको सतह घटेसँगै घर फर्केका छन् भने डुबानमा परेर घर भत्केका परिवार अझै पालमै बसिरहेका छन् ।


जिल्लामा बाढी तथा डुबानले क्षति पुर्‍याएपछि जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले विस्तृत विवरण संकलन गर्ने निर्णय गरेको थियो । क्षतिको यकिन तथ्यांकका लागि ३२ वटा टोली बनाएर विवरण संकलनको काम भइ रहेको छ । समितिका तत्कालीन अध्यक्ष कृष्णबहादुर राउतले दुई दिनभित्र विवरण संकलनको काम सकाएर राहत वितरण गर्ने जनाएका थिए । तर, तीन साता बित्न लाग्दा समेत २० वटा स्थानीय तह मध्ये १२ वटा स्थानीय तहको मात्र विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।


बाढीबाट बढी प्रभावित क्षेत्रको विवरण भने आउनै सकेको छैन । बाँकी रहेको ८ स्थानीय तहको विवरण अन्तिम चरणमा पुगेर आउने क्रम जारी रहेको प्रजिअ जिसीले जानकारी दिए । ‘बाढीबाट पीडित भएकाको विस्तृत विवरण संकलनको काम भइरहेको छ,’ उनले भने, अबको केही दिनमै विवरण संकलनको काम सक्नेछ ।’

प्रकाशित : श्रावण २३, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?