कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकको पानी १२ ब्लकसम्म

कान्तिपुर संवाददाता

पर्सा — भारतले गण्डक नहरमा कम पानी छोडेपछि नहरको १२ नम्बर ब्लकसम्म मात्र पानी पुगेको छ । बारा र रौतहटको सीमासम्म पानी पुगे पनि यस वर्ष पनि नहरको पानी रौतहटसम्म पुग्न नसकेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुअरीका प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिए । 

गण्डकको पानी १२ ब्लकसम्म

‘पानी नै कम आएकाले रौतहटका किसानको खेतमा यस वर्ष धान बालीमा पानी पुर्‍याउन सकिएन,’ उनले भने । हाल नहरमा करिब ४ सय ५० क्युसेक मात्र पानी आएको साहले बताए ।


भारतबाटै न्यून परिमाणमा पानी आएको उनले बताए । भारतमा नहरमा ८० आरडीमा नहरको साइफन चुहिएको र त्यहा बोरा राखेर पानी प्रवाह गर्ने काम भइरहेको जानकारी आफूले भारतीय पक्षबाट पाएको साहले बताए । नहरको सोही खण्ड भएर नेपालमा पानी आउने भएकाले भारतबाटै कम पानी आउँदा नेपालमा स्वाभाविक रूपमा पानी कम हुने उनले बताए ।


भारतीय पक्षले नहरको मर्मत सम्भारको काम अविलम्ब सक्ने बताउँदै आए पनि त्यसमा कति समय लाग्ने यकिन नभएको उनले बताए । यो समस्या बारे आफूले विभागलाई पत्राचार गरिसकेको उनले बताए । विभागले परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग पनि संवाद गरिरहेको जानकारी आफूले पाएको साह बताउँछन् ।


नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार नहरमा भारतले नेपाल तर्फ ८ सय ५० क्युसेक पानी छाड्नु पर्ने हो । तर, बर्सेनि कुनै नकुनै प्राविधिक समस्या देखाएर भारतले नहरमा कम पानी दिँदै आएको छ ।


नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले पानी छोड्ने गर्छ । भारतसँगको सम्झौताअनुसार बर्सेनि धान सिजनका लागि असार १५ र गहुँ सिजनका लागि पुस १० देखि नहरमा पानी आइसक्नुपर्छ ।


सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । पर्साको जानकीटोलाबाट नेपाल प्रवेश गर्ने र रौतहटको बागमतीमा गएर मिसिने नहरलाई पूर्वी नहर भनिन्छ ।


८१ किमि लामो यो नहरले पर्सा, बारा र रौतहटको ३१ हजार ४ सय हेक्टर जग्गालाई सिंचित गर्ने लक्ष्य थियो । तर भारतबाटै पर्याप्त पानी नछोडिने भएकाले पर्सा र बाराका पूर्वी भेगसम्म मात्र पानी पुग्छ । रौतहटमा पानी पुग्दैन । रौतहटसम्म पानी लग्न हाल बारामा जमुनी सिँचाइ आयोजना निर्माणाधीन छ । जसबाट गण्डक नहरमा पानी झारिनेछ ।

प्रकाशित : श्रावण २८, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?