१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रका दुई र नेकपा एसबाट एकसहित तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मधेशमा मन्त्रिपरिषद् विस्तार तयारी, तीन मन्त्री थपिँदै

तीनै जना मन्त्रीको सपथ गराउने तयारी भइरहेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

महोत्तरी निर्वाचन क्षेत्र नं १ (२) बाट निर्वाचित माओवादी संसदीय दलका नेता भरत प्रसाद साह, रौतहट ४(१) बाट निर्वाचित माओवादीका अर्का सांसद युवराज भट्टराई र नेकपा एसबाट बेचि लुङ्गेलीलाई मन्त्रीको सपथ गराउने तयारी भइरहेको छ । लुङ्गेली सर्लाही निर्वाचन क्षेत्र १(२) बाट निर्वाचित सांसद हुन् ।

तीनै जनालाई आज विनाविभागिय मन्त्रीको सपथ गराईने र पछि मन्त्रालयको जिम्मेवारी तोकिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सरकारबाट माओवदी केन्द्रका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवलाई फिर्ता बोलाउने स्रोतले जनाएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आफूसँगै श्रम तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालय राखेका छन् । मुख्यमन्त्री यादवले वैशाख ४ गते प्रदेश सभाबाट चौथोपटक विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । जनमत र लोसपाले छोडेको मन्त्रालय माओवादी र नेकपा एसलाई दिएर मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

प्रकाशित : वैशाख ६, २०८१ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?