कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्दा उठाएर विद्यालय

काभ्रे — नेपालसँग सम्बन्ध जोडिएका दुई जर्मनी नागरिकले आफ्नो देशमा चन्दा उठाएर विद्यालय भवन बनाइदिएका छन् ।

चन्दा उठाएर विद्यालय

डा. माथियास वाउमेन र मिखाइल होस्लेले जर्मनमा विभिन्न खेलकुद प्रतियोगिता गरेर, चन्दा उठाएर र सामान बेचेर जम्मा गरेको रकमले नमोबुद्ध ६, चरङगेफेदीस्थित कालिगंगा प्राविमा ३ कोठे आरसीसी पक्की भवन निर्माण गरिदिएका हुन् ।


शेर्पा नेपाल हेल्फी नामक फाउन्डेसन खोलेर माथियासले र हिमालय प्रोजेक्टमार्फत होस्लेले रकम जम्मा गरेका थिए । माथियास पेसाले ट्रमा सर्जन हुन् । पर्वतारोहणको क्षेत्रमा काम गर्ने उनी सन् २०१४ मा हिम पहिरोमा परी १६ जना शेर्पाको मृत्यु हुँदा नेपालमा नै थिए । त्यसो समयमा पनि उनले बाबुआमा गुमाएका बालबालिकालाई सहयोग गरेका थिए ।


भूकम्पलगत्तै नेपालमा आएका उनले २०७२ सालको भूकम्पमा घाइतेहरूको धुलिखेल अस्पतालमा शल्यक्रिया गरेका थिए । ‘भूकम्पलगत्तै नेपालमा आएर सेवा गरे, त्यही बेला हामीलाई भत्किएका विद्यालय बनाइदिन अनुरोध गरेका थिए,’ माथियासले भने, ‘सामान बेचेर, रेस्लिङलगायतका खेलकुद प्रतियोगिता गरेर र चन्दा मागेर जम्मा गरेको पैसाले विद्यालय भवन बनाएका हौं ।’


चन्दा संकलन गरेर जम्मा भएको रकमले हिमाली गाउँ संरक्षण नेपालमार्फत कालिगंगा र रोशी ५, सिसाखानीमा रहेको गणेश आधारभूत विद्यालय निर्माण भएका छन् ।


मिखाइल ३० वर्षअघि नै नेपाल आएका हुन् । नेपाली नागरिक शान्ति सुनुवार बिहे गरेका उनका ३ सन्तान छन् । ‘पहिलादेखि नै काम गर्दै आएका हाैं,’ उनले भने, ‘भूकम्पपछि भत्किएका विद्यालय भवन निर्माणमा सहयोग गरेका हौं ।’


उनको संस्था हिमालयन प्रोजेक्टले हिमाली गाउँ संरक्षण नेपालमार्फत तेमाल भोज्र्याङको जनज्योति मावि, रोशी ५ को विद्या विकास प्रावि, बेथानचोक ३ को कृष्णगोपाल माविको विद्यालय भवन र रोशी ५ को भुमेस्थान माविमा शिक्षकका लागि आवासीय भवन निर्माण गरेका छन् ।

प्रकाशित : पुस २०, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?