कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

नक्कली सुनको सक्कली ठगी

जनकराज सापकोटा

काठमाडौँ — नक्कली सुन देखाएर ठगीको धन्दामा संलग्न तासी लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले तासीलाई आइतबार बौद्धबाट पक्राउ गरेको हो । उनका साथबाट ठगी धन्दामा प्रयोग हुने नक्कली सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ ।

नक्कली सुनको सक्कली ठगी

उनी यसअघि दुईपटक नक्कली सुन बेची ठगी गरेको आरोपमा पक्राउ परी छुटेका व्यक्ति हुन् ।


तासीको पछिल्लो पासोमा परेकी थिइन्, बझाङको चैनपुरकी कपडा व्यापारी क्यारेङ ग्याल्बो लामा । पुरानो चिनाजानीका आधारमा क्यारेङलाई केही साताअघि फेसबुक म्यासेन्जरमा तासीको सन्देश आयो । सोलखुम्बु घर भई काठमाडौं बस्दै आएका तासीले आफूसँग एक केजी सुन भएको र सस्तो मूल्यमा बेच्न खोजेको भन्दै सन्देश छाडेका थिए ।


बिहेको तयारीमा रहेकी क्यारेङ प्रस्तावबाट लोभिइन् । लामो कुराकानीपछि उनी ३५ लाखमा एक केजी सुन किन्न सहमत भइन् । सुन किन्नकै निम्ति ३ लाख ७० हजार रुपैयाँ पठाएपछि भने तासी सम्पर्कविहीन भए । त्यसपछि हुम्ला मूल घर भएकी क्यारेङले काठमाडौं आएर महानगरीय प्रहरी वृत्त बौद्धमा तासीविरुद्ध उजुरी दिइन् । त्यही उजुरीका आधारमा तासी पक्राउ परे ।


नक्कली सुन देखाएर सक्कली लुटको धन्दा चलाएका तासीको पृष्ठभूमि आपराधिक देखिन्छ । २०५५ सालमा आफ्नी फुपूसँग रहेको बहुमूल्य सी माला खोसेर भाग्ने क्रममा फुपूको हत्या गरेपछि उनी जेल परेका थिए । २०५५ देखि २०६६ सालसम्म कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरेर निस्केका तासी त्यसयता नक्कली सुनको बिस्कुट देखाउँदै ठगी गर्ने धन्दामा लागेका थिए ।


२०७५ साउन ३ मा एक केजी नक्कली सुन देखाएर ठगी गरेको आरोपमा उनी एक लाख धरौटी बुझाएर छुटेका थिए । धरौटीमा छुटेपछि पनि उनी सुध्रिएनन्, बरु पुरानै धन्दामा लागिरहे । गत मंसिर २४ मा दुई केजी नक्कली सुन बेच्न खोजेको आरोपमा तीन जना संलग्न रहेको प्रहरीले सुइँको पायो । तीमध्ये दुई जना पक्राउ परे तर तासी भने फरार रहे ।


स्रोतका अनुसार प्रहरीसँग पनि निकटको सम्बन्ध बनाएका तासीले प्रहरीका निम्ति तस्करीको सूचना दिने काम गर्थे । प्रहरीसँगको सम्बन्ध, आपराधिक पृष्ठभूमिका आधारमा बनेको चिनाजानी । यसैका आधारमा उनले नक्कली सुनको ठगी धन्दा चलाएका थिए ।


नक्कली सुन देखाएर चलाइएको ठगी धन्दा यो पहिलो भने होइन । २०७४ साउनको पहिलो साता प्रहरीले नौ केजी नक्कली सुन सीतापाइलाबाट बरामद गरेको थियो । सक्कली सुनको अवैध ओसारपसार व्यापक भइरहेका बेला प्रहरीले नक्कली सुन फेला पारेको थियो । उक्त घटनामा प्रहरीले सीतापाइलास्थित एक टमाटर फार्मभित्रको सानो टहरोमा लुकाइएको सुनसहित काभ्रे घर भएका साइमन सोनामलाई पक्राउ गरेको थियो ।


सस्तोमा पाइएको लोभमा अवैध सुन किन्न तम्सिने र नक्कली सुनको फन्दामा पर्नेमा अधिकांश सुन व्यापारी नै छन् । १३ मंसिरमा बुद्ध ज्वेलरी बर्कसप प्रालिका बुद्ध विश्वकर्माले आफ्ना कामदार विमल विश्वकर्मालाई ४९ लाख ४७ हजार दिएर एक केजी सुन किन्न पठाए । नक्कली सुन बेच्ने गिरोहले विमललाई होटलभित्र लगेर कुटे र खाली हात फर्काइदिए ।


प्रहरी परिसर ललितपुरले नक्कली सुन बेच्ने यो गिरोहमा संलग्न महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत हवल्दार मोहनबहादुर बम र प्रहरी परिसर ललितपुरका घुमुवा हवल्दार शालीकराम नेपालीसहित सञ्जय तिरुवा, गोपाल विक र शिव कुमाललाई पक्राउ गरेको थियो ।


पुस ३ मा महानगरीय प्रहरी वृत्त महाराजगन्जले सुकेधारबाट एक केजी नक्कली सुनसहित सुकेधारा बस्ने २० वर्षीय समीर कोइरालालाई पक्राउ गर्‍यो । १९ कात्तिकमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले ३५ लाखमा एक केजी नक्कली सुन बेच्न हिँडेका राजेन्द्र तामाङ, राजकुमार तामाङ र राजु लामालाई पक्राउ गरेको थियो ।


२०७४ पुसमा पनि भक्तपुर सूर्यविनायकका राजेन्द्र थापा २८ लाख ६० हजार रुपैयाँ हालेर एक केजी नक्कली सुन किनेका थिए । धेरैपछि सुन नक्कली भएको चाल पाएपछि मात्रै उनले आफू फन्दामा परेको थाहा पाएका थिए । उक्त घटनामा प्रहरीले रामेछापको दोरम्बा स्थायी घर भई भक्तपुर सल्लाघारी बस्ने अजय तामाङ, विष्णु मोक्तान, झापा घर बताउने कर्ण लिम्बूलाई पक्राउ गरेको थियो ।

प्रकाशित : पुस २५, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?