कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसी र इन्द्रावतीमा दोहन

सिन्धुपाल्चोक — सुनकोसी किनारमै लस्कर छन् एडभेन्चर रिर्सोट । रिर्सोटकै आसपासमा एक्साभेटरले नदीजन्य पदार्थ निकालिरहेका छन् ।

एडभेन्चर ‘र्‍याफ्टिङ’ का लागि उत्कृष्ट मानिएको सुनकोसी र इन्द्रावतीमा नदी दोहन बढेपछि पर्यटकीय आकर्षण क्रमश: घट्दो छ । ‘मापदण्डविपरीत दोहन भइरहेकाले नदीको स्वरूप बिग्रँदै गएपछि रिर्सोट मारमा परेका छन्, पर्यटकको रुचि घटेको छ,’ सुनकोसी विच एडभेन्चर रिर्सोटका महेन्द्रसिंह थापाले भने । पुराना व्यवसायी थापाले जथाभावी भइरहेको नदी दोहनले पर्यटन क्षेत्रलाई ह्वात्तै घटाउँदै लगेको सुनाए ।


भूकम्पपछि सुनसान बनेका महँगा होटल र रिर्सोट चार वर्षपछि बल्ल तंग्रिने अवस्थामा छन् । ‘दैनिक ९० भन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्‍याफ्टिङका लागि भनेर आउने गर्छन्, तर पछिल्लो समय दोहनको समस्याले बिगारेको छ,’ उनले भने ।


‘पर्यटकले यहाँ हेर्न आउने प्राकृतिक सौन्दर्य र सहासिक जलयात्रा हो, त्यही पनि दोहनले खलबलाउँदै लगेको छ,’ सुनकोसी विच रिर्सोटका अञ्जन खड्काले भने । स्थानीय तहबाट उत्खनन्को अधिकार पाएका ठेकेदार र क्रसरले मनमौजी दोहन बढाएपछि नदीक्षेत्रमा आउने पर्यटकको संख्यलाई घटाउँदै लगेको छ ।


विकास र वातावरणबीच सन्तुलन

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विकास र वातावरणबीच सन्तुलन जरुरी भएको दाबी गरे । ‘गिट्टी बालुवाको उत्खनन्गर्दा वातावरणको सन्तुलनलाई बिगारेको छ, यसमा ध्यान दिन जरुरी छ,’ बिहीबार जिल्लाको सुकुटेमा सिन्धु पर्यटन व्यवसायी संघद्वारा आयोजित वातावरणमैत्री पर्यटन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने ।


विकास र वातावरणको सन्तुलनमा ऐनहरू बाझिएका कारण समस्या देखिएको उनको कथन छ । भर्खरै सम्पन्न अन्तरप्रदेश परिषद्को बैठकमा यसबारे छलफल भएर कार्यदल बनेको छ । ‘नदीजन्य पदार्थ व्यवस्थापनका लागि केही दिनभित्र समाधान हुन्छन्,’ उनले भने ।


जुगल हिमाललाई पर्यटन गन्तव्य बनाउने सिन्धु पर्यटन व्यवसायी संंघको पहलकदमीमा एकीकृत हुन् र सहकार्य गर्ने वातावरण बनाउन आग्रह गरे । सिन्धु पर्यटन व्यवसायी संघका महासचिव मिलन तामाङले जुगल हिमाललाई साइकिलिङ र र्‍याफ्टिङसहितको नयाँ गन्तव्य बनाउने स्पष्ट पारे । उनका अनुसार ६ हजार एक सय ५१ मिटरको हिमालको आगामी फागुनभित्र आरोहणको तयारी भइरहेको छ ।


पर्यटन बोर्डको निर्देशक लीला बानियाँले खोलाको अवैध दोहन नियन्त्रणका लागि अनुगमन हुनुपर्ने बताए । सिन्धु पर्यटन संघका सल्लाहकार मेघ आलले पर्यटक भित्र्याउने लक्ष्य राखे पनि बेवास्ता गरेर तीव्र दोहन अधिकार दिएप्रति गुनासो पोखे ।

प्रकाशित : पुस २७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?