धादिङबेंसीमा घलेको कार्यक्रम 

कान्तिपुर संवाददाता

धादिङ — घलेहरुको साँस्कृतिक पर्व ल्होसार कार्यक्रम मनाउन देश-विदेशका घलेहरु माघ १ गते धादिडबेंसी जम्मा हुने भएका छन् । 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने उक्त कार्यक्रममा देशरभरका ३६ जिल्ला र १६ वटा विभिन्न देशमा रहने घलेहरु धादिङबेंसी आउने भएका हुन् । उक्त कार्यक्रमका लागि तयारी अन्तिम चरणमा रहेको आयोजकहरुले बताएका छन् ।

लिस्ल फङ (घले समाज) यूएई अध्यक्ष नरबहादुर घलेका अनुसार यस वर्ष घले जातिको ऐतिहासिक पर्व ल्होसर बृहत् सांस्कृतिक कार्यक्रमसहित मनाउन लागिएको हो । भुटान , जापान, बेलायतलगायत १६ देश र पूर्वका इलाम झापादेखि पप्श्चिमको बाग्लुङसम्मका घलेहरुको उपस्थिति हुने पूर्वसांसद धनबहादुर घलेले बताए ।

प्रकाशित : पुस २८, २०७५ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जाडोले रोकियो कालोपत्रे

विमल खतिवडा

काठमाडौँ — चिसो अत्यधिक बढेपछि उपत्यकाभित्र निर्माणाधीन सडक कालोपत्रेको काम रोकिएको छ । काम रोकिँदा सबैभन्दा बढी समस्या त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चाबहिल-जोरपाटी-साँखु सडकमा परेको छ । 

फाइल तस्बिर ।

कलंकी-नागढुंगा खण्डको १२ किमिमध्ये ७ किमि मात्रै कालोपत्रे भएको छ। निर्माण थालेको ३ वर्ष पूरा भइसकेको छ। ठेक्का सम्झौताको समय सकिइसकेको छ। काम भने आधाजसो मात्रै भएको छ।

चार भागमा विभाजन गरेर ठेक्का लगाइएको सडकमा तीनवटा खण्डको ठेक्का शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा लिएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले यो आर्थिक वर्षभित्र उक्त खण्डको निर्माण पूरा हुने जनाएको छ।

‘जाडो महिनामा पिच हुँदैन, पिचबाहेकको काम भइरहेको छ,’ आयोजनाका प्रवक्ता एवं इन्जिनियर विश्वविजयलाल श्रेष्ठले भने, ‘दिउँसो गाडी धेरै गुड्छन्। यस्तो अवस्थामा पिच गर्न सकिँदैन। राति काम गर्नुपर्ने हुन्छ। राति चिसोका कारण पिचका लागि तापक्रम मिल्दैन।’

उनका अनुसार पुस १० देखि पिच निर्माणको काम रोकिएको छ। माघमा पनि पिचको काम हुने छैन। ‘पिच गर्नका लागि १५/२० डिग्रीसम्मको तापक्रम चाहिन्छ,’ उनले भने, ‘चिसोमा तापक्रम माइनसमा झर्छ। त्यसैले फागुनबाट मात्रै पिच सुरु हुनेछ।’ उनका अनुसार अहिले पिच गर्दा कालोपत्रेले काम गर्दैन। ‘सडकमा खन्याउन नपाउँदै कालोपत्रे जम्छ,’ उनले भने, ‘यस्तो अवस्थामा पिच गर्दा सडक टिकाउ हुँदैन।’

चाबहिल(जोरपाटी खण्डमा अहिलेसम्म ४/५ सय मिटरभन्दा बढी पिच हुन सकेको छैन। ‘खासै काम भएको छैन,’ इन्जिनियर श्रेष्ठले भने, ‘तोकिएको समयभन्दा ढिलो हुने निश्चित छ।’ अहिले गोकर्ण रिसोर्टअगाडि मात्रै पिच भएको छ।

ठेक्का सम्झौता सकिए पनि थपेर काम गराउने उनले बताए। ‘कतै मुआब्जा, कतै विद्युतीय पोल/तारले गर्दा निर्माणमा समस्या भएको थियो,’ उनले भने, ‘साउनमा मात्र मन्त्रिपरिषद्ले यथास्थितिमा काम गर्नू भनेको हो।

त्यसैले निर्माण व्यवसायीलाई काम गर्न दिनुपर्ने हुन्छ।’ अहिले नाली बनाउने, ह्युमपाइप राख्ने, सडक खन्ने काम भइरहेको उनले बताए। निर्माण ढिलो हुँदा स्थानीय आक्रोशित छन्। कतै धूलोले गर्दा व्यापार घटेको छ, कतै खाल्डाखुल्डीले दुर्घटनाको जोखिम छ।

‘कहिलेसम्म धूलो खाएर व्यापार गर्ने?’ चाबहिलका कपडा व्यवसायी धीरज श्रेष्ठले भने, ‘धूलोले गर्दा व्यापार चौपट भएको छ। भाडा तिर्नसमेत धौधौ छ। सडक लथालिंग पारिएको छ। बनाउनेभन्दा बिगार्ने काम धेरै भएको छ।’

कलंकीदेखि नागढुंगा क्षेत्रका स्थानीय र व्यापारी यही समस्या झेलिरहेका छन्। मास्क नलगाई पसलमा बस्न र सडकमा हिँडडुल गर्न सकिँदैन। बार्दलीमा लुगा सुकाउँदा धूलोले पुर्ने गरेको छ।

सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति गौतमले सडक निर्माणमा ढिलाइ नहुने र चैतसम्म निर्माण सक्ने दाबी गरे। त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको पहिलो खण्डको ठेक्का बज्रगुरु/बिरुवा/सीएम जेभीले लिएको छ।

०७२ असार ३१ मा ठेक्का सम्झौता भएको यो खण्डको काम ०७५ कात्तिक ३० मा सक्नुपर्ने हो। अन्य खण्डको ठेक्का लिएका शर्मा/शैलुङ/कान्छाराम जेभी र लुम्बिनी/शैलुङ/साप जेभीले ०७२ असार ३१ मा ठेक्का सम्झौता गरी ०७५ असोज ३० मा काम सक्नुपर्ने हो।

त्यस्तै यही खण्डको शर्मा/शैलुङ/कान्छाराम जेभीले ०७२ असार ३१ मा सम्झौता गरी ०७५ पुसमा ठेक्का सक्नुपर्ने थियो। चार खण्डको ठेक्का रकम १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार रुपैयाँ छ। चाबहिल-जोरपाटी-वाग्मती-साँखु खण्डको ठेक्काको समयावधि केहीको सकिएको छ, केहीको बाँकी छ। ५ खण्डमा विभाजन गरेर निर्माण जारी राखिएको छ।

प्रकाशित : पुस २८, २०७५ १९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT