कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपत्र संशोधन मागले नगरसभा अनिश्चित

अनिश तिवारी

सिन्धुपाल्चोक — राजपत्र संशोधन माग गर्दै वडाध्यक्षसहित सदस्यले बैठक बहिष्कार गरेपछि बाह्रबिसे नगरपालिका नगरसभा अनिश्चित बनेको छ । राजपत्र संशोधनको माग राख्दै वडाध्यक्षसहित २८ सदस्यले आइतबार नगरपालिकामा मागपत्र दर्ता गरेका छन् ।

राजपत्र संशोधन मागले नगरसभा अनिश्चित

नगरपालिका प्रमुख निमफुन्जो शेर्पा र उपप्रमुख सुशीला पाख्रिनले शनिबार राजमार्गमै पत्रकार सम्मेलन गरेर बहुमतका नाममा वडाध्यक्षले विकासविरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाएका थिए । शुक्रबार नगरसभा तयारी भइरहेका बेला कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित सदस्यहरू हलबाट निस्केका थिए ।


उनीहरू पालैपालो निस्केपछि गणपूरक संख्या नपुगेपछि बेलुका सभा स्थगित गरिएको थियो । राजपत्र गत साउनमा पारित गरी लागू गरिएको थियो । उक्त नगरपालिकामा कांग्रेसको बहुमत छ । नगरप्रमुख, उपप्रमुख भने तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।


छ महिनाअघि अनुमोदन भएर लागू गरिएको राजपत्र विवाद निकालेर नगरपालिकाले गर्ने विकासमा बाधा पुर्‍याएको आरोप प्रमुख शेर्पाले लगाएका छन् । स्थानीयको उपस्थितिमा गरिएको सम्मेलनमा विधान मिचेर माग पूरा गर्न नसकिने जिकिर शेर्पाले गरे ।


वडाध्यक्षहरूले भने प्रमुख र उपप्रमुखलाई बढी अधिकार दिएर बहुमतको अपमान गरेको संशोधन प्रस्ताव पेस गरेको बताएका छन् । २० गतेको बैठकले तय गरेको सभामा सदस्यहरू अनुपस्थित भएपछि विवाद सुरु भएको हो । बाह्रबिसे २ का वडाध्यक्ष एवं राजपत्र संशोधन संघर्ष समिति संयोजक बमबहादुर तामाङले त्यतिबेलाको प्रस्ताव राम्रोसँग छलफल नगरी अनुमोदन गरेकाले संशोधन माग गरेको बताए । तामाङले प्रमुख र उपप्रमुखलाई असीमित अधिकार दिएर आफूहरूको अधिकार कटौतीमा आपत्ति जनाए ।


राजपत्रमा उल्लेख भएअनुसार विपद् व्यवस्थापन र फ्रिज हुने रकम खर्चिने प्रावधानलगायत १२ बुँदामा बहुमत सदस्यको असहमति रहेको बताए । नगरका प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेलका अनुुसार राजपत्र संशोधनमा छलफल गर्न नगरसभाभन्दा ७ दिनअघि प्रमुखलाई प्रस्ताव पेस गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : पुस ३०, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?