कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झारले पुर्‍यो प्रांगारिक गाजरखेती

चितवन — गाजर खेतीका लागि भरतपुर महानगरपालिका १५, फूलबारी ऊर्वर मानिन्छ । स्थानीय गाजर किसान चन्द्रप्रसाद अधिकारीलाई झारले निकै पिरोलेको छ । गाउँमा प्राय:ले गाजरखेतीमा झारनाशक विषादी राख्छन् ।

प्रांगारिक उत्पादन गर्ने भनेपछि चन्द्रप्रसादले विषादी राख्ने कुरा भएन । तर झार गोड्दा उनी मात्रै होइन खेताला पनि हैरान भएका छन् ।

हंस बहुउद्देश्यीय सहकारीले फूलबारीमा गरेको डेढ बिघाको झार गोड्ने काममा उनी दिनरात खटेका छन् । गाजर रोपेको सय दिनपछि बेच्न तयार हुन्छ । त्योभन्दा पहिले दुई पटक झार गोड्नुपर्छ । पहिलो पटक झार गोडदा ४ सय २७ खेताला लागे । १ जनालाई ४ सय ५० रुपैयाँका दरले ज्याला दिनुपर्छ । पहिलो गोडाइमा १ लाख ९२ हजार रुपैयाँ खर्च भयो । पहिलो गोडाइ सकिएको केही समयपछि फेरि झार आयो ।

अहिले दोस्रो गोडाइ हुँदै छ । ७१ खेतालाले गोडिसकेका छन् । काम अझै आधा भएको छैन । दोस्रो गोडाइमा ६५ हजार रुपैयाँको हाराहारीमा खर्च हुने देखिन्छ । यो खर्च देखेर उनी छक्कै परेका छन् । उनले आफैं पनि गाजर खेती गर्छन् । १० कट्ठामा रोपेको गाजरमा झारनाशक प्रयोग नभएका कारण दुई पटक नै गोड्नुपर्छ । तर पहिलो पटक ५० र दोस्रो पटक १२ खेतालाले पुग्यो ।

‘मेरो खेतमा लामो समय गाजर लगाउँदै आएका कारण झार पनि कम उर्मेको हुन सक्छ,’ अधिकारीले भने । झारनासक छर्नेहरूले गोड्न झन्झट व्यहोर्नु पर्दैन । उनका अनुसार डेढ बिघाका लागि ३ हजार रुपैयाँको झारनासक र पहिलो गोडाइमा ३० र दोस्रो गोडाइमा १० खेतला लगाए हुन्छ । कतै कतै त एक पटक सामान्य गोडमेल गरे पनि पुग्छ ।

‘प्रांगारिक खेती सहज छैन । यति दु:ख गर्नुपर्छ तर मूल्य विषादी प्रयोग गर्ने र हामीले पाउनेको एउटै हुन्छ,’ उनले भने । सहकारीले अहिले तरकारी खेती गरेको ठाउँमा पनि ४ वर्षदेखि कुनै रासायनिक मल, विषादी प्रयोग गरेको थिएन । तर खाद्यवाली लगाउँदै आएका कारण यो पटक गाजर रोप्दा धेरै झार आएको हुन सक्ने उनको अनुमान छ ।

प्रकाशित : माघ ८, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?