कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गढीमा गौरवको इतिहास सम्झिँदै

प्रताप विष्ट

हेटौंडा — मकवानपुरगढी गाउँपालिका २ स्थित ऐतिहासिक गढीमा बिहीबार २५६ औं विजय उत्सव मनाउनका तयारी भइरहेको छ । ऐतिहासिक गढीभित्र सात प्रदेश अंकित नेपालको नक्सा कुँदिएको छ ।

गढीमा गौरवको इतिहास सम्झिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नक्साको अनावरण र झण्डोत्तोलन गर्ने कार्यक्रम छ । गढीको दरबारको सरसफाइ गर्न एक सातादेखि नेपाली सेना र स्थानीयवासी जुटेका छन् ।


विदेशी फौजमाथि विजयप्राप्त गरेको खुसियालीमा विजयोत्सव मनाउन लागेको हो । हेटांैडाको बुद्धचौकबाट १६ किलोमिटर पूर्वमा पर्ने मकवानपुरगढीमा बिहीबार राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा विजयोत्सव मनाउन लागेको हो । सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढीअन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँ हारेपछि बंगालका नवाब मिर कासिम अलीसँग सहयोग माग्न गएका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा विसं १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।


मकवानपुरगढीमा रहेको नन्दु शाह नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मिर कासिमका सेना पराजित भएका थिए । विदेशी फौजमाथि विजय प्राप्त गरेको स्मरणमा विजयोत्सव मनाउन लागेको मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागार्इंले बताए । उनले भने, ‘बंगालबाट आएका विदेशी फौजलाई पराजित गर्न नसकेको भए नेपाल एकीकरणको अभियानमा मात्र धक्का लाग्ने थिएन, अहिलेको नेपाल प्राप्त गर्न सक्ने थिएनाैँ ।’


नेपाली फौजले मिर कासिमको फौज पराजित भएपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले राष्ट्रको रक्षाका लागि सैनिक संगठन संरचना निर्माणको अभ्यास सुरु गरेका हुन । शाहले त्यति बेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिबक्स गण गठन गरेका थिए । ती गण अहिले पनि छन् । नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि छ ।


पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चरा छोरालाई राज्य बाँडेका थिए । मकवानपुर सेनको कान्छा छोरा लुहाङको भागमा परेको थियो । आफ्नो राज्यलाई सुरक्षित गराउन लुहाङले विसं. १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ ।


यो नेपालमा भएका गढीहरूमध्ये सबैभन्दा ठूलो गढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ । वीरताको इतिहास बोकेको ऐतिहासिक मकवानपुरगढीको संरक्षणका लागि गाउँपालिका, नेपाली सेना र स्थानीयवासी संयुक्त रूपमा जुटेका छन् । विजय उत्सवको सन्दर्भ पारेर हाफ म्याराथुन प्रतियोगिता आयोजना गरेको छ ।


सातै प्रदेशका उत्कृष्ट धावकसहित उक्त हाफ म्याराथुन दौडमा २ सय जना सहभागी हुने छन् । विजय उत्सवको अघिल्लो दिन अर्थात् माघ ९ गते हाफ म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । विजयोत्सवका मनाउने तयारी क्रममा गढीको बाहिरी पर्खाल र वरिपरिको जीर्णोद्धारको काम भइरहेको गापा अध्यक्ष हुमागाँईले बताए ।


नेपाली सेनाको पहल, स्थानीयवासीको सहयोगमा सरसफाइ र मर्मतका काम पनि भइरहेको छ । सरकारले सयवटा महत्त्वपूर्ण गन्तव्यमध्ये मकवानपुरगढीलाई पनि सूचीकृत गरेको छ । विदेशी फौजलाई पराजित गरेको शिखकटेरीमा विजय पार्क बनाउने तयारी भइरहेको छ । मकवानपुरगढी गाउँपालिकाले गढी क्षेत्रको विकास गर्न डीपीआर तयार पारेको छ ।

प्रकाशित : माघ ९, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?