सिन्धुपाल्चोक — भूकम्प गएको चार वर्षपछि जिल्लाभर विद्यालय पुनर्निर्माणले तीव्रता पाएको छ । गाउँदेखि नगरपालिकासम्म संघसंस्था र सरकारी निकायको पहलकदमीमा सुविधासम्पन्न विद्यालयको भवन ठडिन थालेका हुन् ।
शुक्रबार टाटा ट्रस र सिप्रदियन सहायता संस्थाबाट बनेको बाह्रबिसे नगरपालिका–४ सुनकोसीस्थित शारदा माध्यमिक विद्यालयको भवन उद्घाटन भयो ।
दुईतले सुविधा सम्पन्न भवन भारतीय राजदूत मञ्जिवसिंह पुरी, पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित टाटा ट्रसका तारापुरीवाला, सिप्रदियन सहायता संस्थाका प्रतिनिधिले रिबन काटेर हस्तान्तरण गरे । ‘अब चिसोको चिन्ता छैन, भवन बनेको छ, बल्ल बालबालिकाको सपना पूरा भएको छ,’ विद्यालयका प्रधानाध्यापक तोयानाथ नेपालले भने । चार करोड ५० लाखको लागतमा भवन बनेको उनले सुनाए ।
सिप्रदियन सहायता संस्थाले भोटेकोसी गाउँपालिकाको कोदारीमा रहेको कोदारी माविको भवन बनाइरहेको जनाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का इन्जिनियर शेरबहादुर पुजाराका अनुसार विद्यालय व्यवस्थापन समितिमार्फत दुई सय ४७ र निर्माण व्यवसायीबाट ३८ वटा विद्यालय बनिरहेका छन् । ‘जसमा एक सय २१ विद्यालयको भूकम्पप्रतिरोधी भवन ठडिइसकेको छ,’ पुजाराले भने ।
पूर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म धमाधम विद्यालय ठडिन थालेका छन् । सुगमभन्दा दुर्गम गाउँमा करोडौंको लागतमा भव्य भवन बन्न थालेको उनले प्रस्ट्याए । जिल्लाभर भत्केका ५ सय २८ मा झन्डै चार सय विद्यालयको सुविधासम्पन्न भवन ठडिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ । भूकम्पले जिल्लाभरको ३ हजार ६ सय २० कोठा काम नलाग्ने गरी भत्काएको थियो ।
‘दुई सयवटा विद्यालय विभिन्न संघसंस्थाले बनाए, अरू सरकारी तवरले बनेका हुन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख कृष्णप्रसाद सुवेदीले भने । स्थानीय तहको समन्वयको सहजताले गर्दा विद्यालय पुनर्निर्माणलाई तीव्रता दिइरहेको उनले प्रस्ट्याए । ‘मर्ज हुनेवाला २८ वटा विद्यालयलाई पुनर्निर्माणको प्रक्रियामा लगिएको छैन,’ उनले भने ।
नेपाल र भारत सँगै
बाह्रबिसे नगरपालिका–४ सुनकोसी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा पुगेका नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारत सँगै रहेको बताए । ‘नेपाल र भारत दु:खसुखका साथी हुन्, हामी सँगै अगाडि बढिरहेका छौं,’ उनले भने । बालबालिकालाई राम्रोसँग खटेर पढ्न र शिक्षकलाई बालमैत्री ढंगले पढाउन उनले अनुरोध गरे ।