कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गिरानचौरमा पशुपालन निषेध

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा ८ स्थित धुर्मुस–सुन्तली एकीकृत बस्तीभित्र पशुपक्षी पालन गर्न पाइँदैन । कृषिमा निर्भर रहने समुदायलाई बस्तीको नियमले बाँधेपछि केही असहज भएको गुनासो सुनिन थालेको छ । 

गिरानचौरमा पशुपालन निषेध

‘अधिकांशले वरिपरिको जग्गा आपसमा बाँडेर नै गोठ बनाएर पशुपालन गरिरहेका छन्,’ एकीकृत बस्तीका व्यवस्थापन समितिका सचिव लालबहादुर वाइबाले भने । त्यहाँ बसेका स्थानीय तामाङ समुदायको मुख्य पेसा पशुपालन र कृषि । अहिले उनीहरूले बस्ती माथिको पाखो बाँडेर पशु पालेका छन् । उनीहरूले चाहे जस्तो पशु पाल्न नपाउँदा केही अप्ठ्यारो महसुस गरेका छन् ।


०४३ साल चैत ६ गते आगो घरमा सल्किएपछि गिरानचौरको पूरै बस्ती जलेको थियो । त्यसपछि उनीहरू छाप्रोमा बस्दै आएका थिए । मडारिएको हावाले पूरै गाउँ जलेको सम्झँदा ७५ वर्षीय सिंंगेमान तामाङ अझै झस्कन्छन् ।


‘डरलाग्दो गरी मडारिएर आएको हावासँगै बढेको आगोले बस्ती खरानी तुल्यायो, फेरि यस्तो व्यवस्थित घर पाइएला भनेर सोचेका थिएनौं,’ उनले भने । धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौरमा ६५ परिवारलाई दुई वर्षअघि सुविधासम्पन्न घर र एउटा सामुदायिक भवनसहित ६६ भवन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हस्तान्तरण गरेको थियो ।


गिरानचौर सामुदायिक भवन, पाहुना घर, फूलबारीसहित फिल्म सुटिङ गर्न मिल्ने गरी बगैंचामा अनेक फूल लगाइएको छ । तीनवटा सार्वजनिक शौचालय र पार्किङ स्थलदेखि बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन पार्कले सजिएको देखिन्छ ।


सेतो मानेको माथिल्लो गाउँ काटिसकेपछि पुगिन्छ मेलम्ची नगरपालिका ८ स्थित चिटिक्क गिरानचौर एकीकृत बस्ती । नीलो, सेतो रंगले सजिएको अघिल्लो घरको फूलबारी छेउमा भेटिएकी ८० वर्षीया सेती तामाङ रापिलो घाम ताप्दै थिइन् । ‘धुर्मुस–सुन्तली एकीकृत बस्तीमा स्वागत छ । हजुरलाई हामी के सहयोग गर्न सक्छौं ?’


उनले स्वागत गर्दै भनिन् । एकीकृत बस्ती हेर्न आउने यात्रुलाई यसरी स्वागत गर्ने गरेको उनले सुनाइन् । फाउन्डेसनले जीवनयापन गर्दा आइपर्ने समस्याबारे पनि सुनिदिनुपर्ने आशा उनले राखिन् । तर पनि एकीकृत बस्तीमा बस्नुको मज्जा बेग्लै रहेको उनी बताउँछिन् ।


‘बस्तीसँगै छुट्टै गौरव पाएका छौं, अतिथिलाई स्वागत गर्न पाउँदा एकदम खुसी लाग्छ,’ उनले भनिन् । उच्च हिमाली भेगमा हिउँले ढाकेपछि जाडो बढेको छ । एकीकृत बस्ती हेर्दा पनि न्यानो लाग्ने उनको अनुभव छ । जस्तोसुकै आपत परे पनि बस्तीमा मिलेर बस्दा सद्भाव र एकताको भावना पलाएको छ । गिरानचौरमा पुग्ने जोकोहीलाई बौद्ध परम्पराको ध्वजा अगाडि तामाङ संस्कृतिअनुसार स्वागत गर्ने गरिएको छ ।


दुई वर्षसम्म टहरामा बसेर हिउँद र गर्मी झेलेका तामाङ समुदायले एकीकृत बस्ती पाएपछि टोलपिच्छे नियम बनाएका छन् । गिरानचौरमा ६५ परिवारले सुविधासम्पन्न घर र एउटा सामुदायिक भवनसहित ६६ भवन पाए । बस्तीका सबै आवास बाल मैत्री, वातावरण मैत्री, भूकम्पप्रतिरोधक, पहिरो निरोधक, अपांग मैत्री छन् ।


हरेक घरमा चार वटा कोठा छन् भने सिलिङमा सामान भण्डारण गरेर राखिएको छ । सबै घरभित्र ट्वाइलेट, बाथरुम र घर अगाडि बगैंचा फैलाउँदै लगिएको छ । पूरै बस्तीलाई ‘ए’, ‘बी’, ‘सी’ गरी तीन ब्लकमा विभाजित गरेर बसोबास भइरहेको छ । खानेपानी र घरैपिच्छे धाराको व्यवस्थापन भएपछि सहज दैनिकी बनेको छ । फाउन्डेसनले जनस्तरबाट ६ करोड १७ लाख एक हजार एक सय ३९ रुपैयाँ संकलन गरेको थियो । सबै घर निर्माण गर्न ५ करोड १३ लाख ८५ हजार एक सय ८७ रुपैयाँ खर्च भएको परियोजनाले जनाएको छ ।

प्रकाशित : माघ २९, २०७५ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?