कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाजसेवामा नथाक्ने दम्पती

कान्तिपुर संवाददाता

रामेछाप — समाजसेवा गर्न उमेर छेक्दैन भन्ने उखानलाई रामेछापका समाजसेवी एक दम्पतीले व्यवहारमा देखाएका छन् । कमाउने बेलामा मात्र हैन, रोग लागेर थलिएका बेलामा पनि उमाकुण्ड ६ गुप्तेश्वरका ८५ वर्षीय मानबहादुर सुनुवार र ७८ वर्षीया दालकुमारी सुनुवार समाजसेवाका लागि हात फैलाइरहेका छन् ।

समाजसेवामा नथाक्ने दम्पती

उमेर जति ओरालिँदै गएको छ, सामाजिक कामका उनीहरूको लगाव उत्तिकै उकालिएको छ ।


उनीहरूको उमेर हुँदादेखि थालेको सामाजिक कामबाट विश्राम लिएका छैनन् । सडक, विद्यालय, मन्दिर, तालिम केन्द्र, संस्थागत सहयोग, स्वास्थ्यचौकी र विद्यालयलाई जग्गादान जस्ता कार्यमा उनीहरू उल्लेख्य सहयोग गर्दै आएका छन् । रस्नालुदेखि गुप्तेश्वरसम्मको सडक निर्माणमा पनि सुनुवार दम्पतीको उल्लेख्य योगदान रहेको छ ।


पछिल्लो पटक गाउँमै उनीहरूले ठूलो धार्मिकस्थलको विकास गरेका छन् । झन्डै ३२ लाख खर्चेर शिव मन्दिरको गजूर उचालेका हुन् । मन्दिर निर्माणमा लागेको सबै रकम उनीहरूको व्यक्तिगत सम्पत्ति हो । मन्दिरमा शिव, गणेश, सूर्य, कृष्णजी र भगवान् गौतमबुद्धको मूर्ति राख्ने व्यवस्था गरिएको छ । हिन्दु र बौद्ध धर्म मान्नेहरूका लागि संगम स्थान बनाउने उद्देश्यले उक्त मूर्तिहरूको व्यवस्था गरिएको समाजसेवी दालकुमारी सुनुवारले बताइन् ।


सुनुवार दम्पतीले आफ्नै निजी जग्गामा निर्माण गरेको उक्त मन्दिरमा खानेपानी, सत्तल र पुजारी घर निर्माण गरी व्यवस्थापन गर्ने योजना अघि सारेका छन् । गुरुयोजना निर्माण गरेर सुरु गरिएका उक्त सबै काम सम्पन्न गर्न झन्डै एक करोड खर्चिने उनीहरूको योजना छ ।


पञ्चायत व्यवस्था हुँदा तत्कालीन जनकपुर अञ्चलको महिला संघको सभापति भएकी महिला नेत्री सुनुवारले महिलाहरूको सीप अभिवृद्धि गर्न महिला शिल्पकला केन्द्र सञ्चालन गरेकी थिइन् । केन्द्रमार्फत सयौं महिलाले जीवनोपयोगी सीप आर्जन गरेर आर्थिक क्रियाकलापमा सहभागी भएका थिए । गुप्तेश्वरको कैलेश्वर मावि, स्वास्थ्य चौकी भवन र वडा कार्यालय भवन निर्माणका लागि सुनुवार दम्पतीले झन्डै १२ रोपनी जग्गा दान गरेका छन् ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?