कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गल्छी–त्रिशूली सडक : मुआब्जा माग्दै विरोध

कान्तिपुर संवाददाता

(नुवाकोट) — गल्छी–त्रिशूली सडक खण्डको ढुंगेदेखि बेत्रावती सडकखण्डको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा नदिई सडक किनार खन्न थालेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । 

स्थानीयले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको ढुंगे बेत्रावती सडक प्रभावित सरोकार समितिले एक साताभित्र जग्गाधनीको नाम र क्षेत्रफल अनुसारको मूल्यांकन र छुट्नेको जग्गाको पुनर्मूल्यांकन नगरे विरोधमा उत्रने चेतावनी दिएको छ । सडक आयोजनाले ढुंगेदेखि बेत्रावती सडकको दायाँबायाँ पर्ने जग्गाको ०७४ साल चैत २३ गते सूचना प्रकाशित गरेको थियो ।


‘आयोजनालाई पटक/पटक भन्यौं,’ समितिका अध्यक्ष शिव नेपालले भने, ‘सूचना निकालेको यतिका महिनासम्म मुआब्जा नदिई काम गर्न दियौं । अब त मुआब्जा दिएर काम गर भन्दा त उल्टै धरपकड गरे ।’ सडक खण्डको शुभाघाटमा बिहीबार स्थानीयले सडक किनारका खाल्डोमा बसेर खन्न दिएनन् । त्यसलगत्तै स्थानीय प्रशासनले धरपकड गरी स्थानीय र जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई करिब ४ घण्टापछि छाडिएको प्रहरीले जनाएको छ । ‘हाम्रो मौलिक हकबारे आवाज उठाउँदा धरपकड भयो,’ स्थानीय कृष्णप्रसाद प्याकुरेलले भने, ‘खेतमा माटो नफाल्न, भत्केको कुलो बनाइदिन, जग्गाको मूल्यांकन र मुआब्जाको माग गर्दा प्रहरी लगाएर पक्राउ गर्ने ? कहाँको न्याय हो यो ?’


यद्यपि, आयोजनाले भने धरपकड नगरेको दाबी गरेको छ । ‘मेसिनमाथि सुत्ने तथा फिल्डका कर्मचारीमाथि दुव्र्यवहार गर्ने कार्य भएपछि सुरक्षा माग गरेको मात्र हो,’ सडक आयोजनाका योजना प्रमुख सुबोधकुमार देवकोटाले भने । जग्गाको दररेट निर्धारण उपसमितिले समयमा जग्गाको उचित मूल्य नदिएकाले स्थानीयलाई मर्का परेको देवकोटाले पनि स्विकारे । ‘उपसमितिले जग्गाको दररेट निर्धारण गरी समितिलाई दिएअनुसार मुआब्जा वितरण सुरु गर्छौं,’ देवकोटाले भने । यसअघि, आयोजना र जनप्रतिनिधिबीच भएको छलफलमा जग्गाको मूल्यांकन दर निर्धारण गर्ने मौखिक सहमति भएको थियो । सरोकार समितिले एक सातासम्म पनि माग पूरा नभए आन्दोलनमा उत्रने जनाएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?